आलुका तयारी परिकारको उद्योग स्थापना हुँदै, ५० हजार किसान परिवारलाई आलु खेतीमा लगाइने

रुपन्देहीको शुद्धोधनमा ठूलो लगानीमा आलुका तयारी परिकार उत्पादन गर्ने उद्योग निर्माण भइरहेको छ। फर्स्ट च्वाइस फुड प्रालिले शुद्धोधन ४ मैनहियामा ३ विघा क्षेत्रफलमा गत फागुन देखि उद्योग निर्माण गरिरहेको हो।

आगामी बैशाख महिनादेखि उद्योग सञ्चालनमा ल्याउने गरि तयारी भइरहेको प्रालिका सञ्चालक कृष्णप्रसाद पौडेलले बताए। ‘उद्योगबाट प्रतिघण्टा २ टन आलुका परिकार उत्पादन हुने छ।’ उनले भने‘ फ्रेन्च फ्राई, पोटाटो नगेट्स, चिप्स, समोसा, पकौडा, बल्स आदि एक दर्जन परिकार उत्पादन गर्छौ।’ आलुका परिकार बन्ने यो खालको उद्योग नेपालमै पहिलो भएको पौडेलको दाबी छ।

अहिले आलुबाट बनेका परिकारहरु भारतबाटै आउने गरेका छन् । त्यस बाहेक बेल्झियमबाट पनि आयात् हुने गरेको छ । नेपालमा बार्षिक १७ अर्ब रुपैया बराबरको आलुका तयारी परिकारहरु नेपालमा आउने गर्दछ। यसबाट ठूलो रकम विदेशीने गरेको छ । पौडेलले पनि ५–७ वर्षदेखी फ्रेन्च फ्राइ लगायतका आलुका परिकार नेपाल ल्याएर वितरण गर्ने गरेका छन्।

यसले गर्दा ठूलो रकम मुलुक बाहिर गएको उनकै आँखाले देखेको छ। ‘भन्सार विभागको तथ्यांक २०७७÷७८ मा ५ हजार ७ सय मेट्रिक टन फ्रेन्च फ्राइज मात्र आयात भएको रहेछ। त्यस बाहेक आलुका अरु परिकार पनि आएका छन्।’ उनले भने ‘त्यसको उत्पादन हामीले यही गरे किन हुन्न भन्ने विचार आयो ।’

उद्योग स्थापनाको लागि झण्डै एक अर्बभन्दा बढी लागत लाग्ने पौडेलले बताए । स्थापना भइसकेपछि उद्योग सञ्चालन हुँदा प्रतिघण्टा ३० टन आलु आवश्यक पर्दछ। यसको लागि पर्याप्त आलु खेती हुनुपर्दछ । उद्योगसँगै किसानहरुलाई आलु खेतीमा पनि लगाउने फर्स्ट च्वाइस फूड प्रालिको तयारी छ ।

२०८० सम्म ५० हजार परिवारलाई आलुखेतीमा लगाइने

आगामी बैशाखमा उद्योग सञ्चालन हुन भन्दा पहिले नै किसानहरुलाई आलु खेतीमा लगाउने फर्स्ट च्वाइस फुड प्रालिले तयारी गरिरहेको छ । पहिलो वर्ष ६ सय हेक्टरमा आलु उत्पादन गर्ने प्रालिका सञ्चालक उद्योगी कृष्णप्रसाद पौडेलले बताए। ‘धान काट्ने वित्तीकै किसानहरुलाई आलु खेतीमा लगाउँछौं । ४ देखी ५ हजार किसानले पहिलो वर्ष आलु उत्पादन गर्नेछन्।’ उनले भने ‘हामीसँग बाहिरबाट आएको ७० टन विउ किसानहरुलाई दिन्छौं।’ त्यो आलुबाट उत्पादित विउ अर्को वर्ष धेरै किसानहरुमा पु¥याउने पौडेलले बताए।

दोस्रो वर्ष २० हजार घरपरिवारलाई आलु खेतीमा लगाउने प्रालिको तयारी छ । २०८० पछि ४० देखी ५० हजार परिवारले उद्योगकै लागि व्यवसायिक आलु खेती गर्नेछन् ।

मुलुक भित्रकै किसानहरुको जिवन स्तर उकास्ने र उत्पादन सुरक्षित गर्ने उदेश्यले उद्योग स्थापनासँगै किसानहरुलाई आलु खेतीमा लगाउन लागिएको पौडेलले बताए। ‘किसानहरुलाई हामीले नै आलुको विउ उपलब्ध गराउँछौं । प्राविधिक पनि हाम्रै हुन्छन्। मल पनि दिन्छौं।’ उनले भने ‘उहाँहरुले उत्पादन गरेपछि बजारीकरणको लागि कहाँ लैजाउँ के गरौं भन्ने समस्या भएन। हामी आफ्नै ट्रकमा उठाएर लैजान्छौं ।’

आलु खेतीको लागि उद्योगले किसानहरुसँग छलफल र अन्तरक्रिया गर्न सुरु गरिसकेको छ । सोमबारबाट निरन्तरजसो तालिम र गोष्टी हुने उद्योगका सञ्चालक पौडेल बताउँछन् । ‘सामान्यतया किसान र सरोकारवालासँग अनौपचारिक छलफलहरु भइरहेको छ । सोमबारबाट औपचारीक रुपमा गोष्टी र तालिमहरु सुरु गर्छौ।’ उनले भने ‘यसबीचमा गाउँपालिकाका प्रमुख तथा स्थानिय तहका जनप्रतिनिधिहरुसँग पनि छलफल र समन्वय गरेर अघि बढ्छौं।’ सुरुका चरणमा रुपन्देही र नवलपरासी पश्चिममा तालिम र गोष्टीहरु हुने छ र केही दिनपछि बाँके बर्दिया सम्म पुग्ने उनको भनाई छ ।

पहिलो वर्ष लुम्बिनी प्रदेशका १० जिल्लामा किसानहरुलाई आलु खेतीमा लगाउने पौडेलले बताए ।आफ्नो यो योजनाबाट खाली जग्गाहरु सदुपयोगमा आउने र मुलुकमा भएको बेरोजगारको समस्या केही कम हुने उद्योगी पौडेलको दाबी छ । ‘यहाँका दक्ष युवा जनशक्ती सबै विदेश पलायन भइरहेका छन् । उहाँहरुलाई यही रोकेर व्यवसायिक खेतीपातीमा लगाउँ भन्ने उदेश्य हो।’ उनले भने ‘लगानी गरेपछि नाफा कमाउने कुरा त आफ्नो ठाउँमा हुन्छ नै। त्यसबाहेक हामीले यहाँको कृषि क्षेत्रलाई पनि विकास गर्न खोजेका हौं ।’

जर्मनको इमा कम्पनीको प्रविधिमा शुद्धोधन गाउँपालिकामा आलु जन्य परिकारको उद्योगको प्लान्ट निर्माण हुन लागेको छ । उद्योगको निर्माणको लागि एक अर्ब भन्दा बढि लागत लाग्ने पौडेलले बताए। ‘सुरुवातमा एक अर्ब भन्दा बढि लागत लाग्छ । आलु खेती विस्तार हुँदै जाँदा २०४२ सालसम्म छ तीन चार अर्ब नै लागत लाग्न सक्छ ।’ उनले भने ।

फस्र्ट च्वाइस फूड प्रालिमा पौडेलको आफ्नै मात्र लगानी छ । बैंकहरु सहयोगमा आफूले उद्योग र आलु खेती कार्यक्रममा लगानी गरेको उनले बताए। २०५८ सालदेखि पौडेलले बुटवलमा मासुका तयारी परिकार उत्पादन गर्दै आएका छन्। अहिले आलुको तयारी परिकारमा हात हालेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय