जुम्ल्याहा बच्चालाई जन्म दिई आशादेवीले प्राण त्यागिन : नाबालकको लालनपोषणमा समाजसेवी थापाको सहयोग

गुल्मी । कैलालीको जोसीपुर गाउँपालिका वडा नं-६ सिम्रीका शिवप्रसाद राना कठारिया र वडा नं २ घुसेरीकी आशादेवी रानाले २०५४ सालमा मागी विहे गरे । दुवैले जीवनको सहयात्री पाएकोमा खुसी थिए । शिवप्रसादले कृषि कर्म गरेर दैनिकी चलाईरहेका थिए । उनीहरुको जीवन खुसीयाली नै थियो ।

उनीहरु जीवनको सहयात्रामा परिवारमा नयाँ सदस्य ल्याउने सोँच गर्न थाले । तर विडम्बना बिहे गरेको लामो समयसम्म उनीहरुको बच्चा भएन । शिवले विभिन्न अस्पतालमा पुर्याएर आशादेवीको उपचार गराए । पाठेघरको शल्यक्रिया पनि भयो । बर्षौ बित्दा पनि बच्चा नभएपछि उनीहरुमा नैराश्यता छायो । तर कठारिया परिवारमा बिहेको २८ वर्षपछि खुसी फर्कियो । आशादेवी गर्भवती भईन् । धेरै लामो समयको प्रतिक्षा र लामो उपचार पश्चात परिवारमा नयाँ सदस्यको आगमन हुने कुराले उनीहरु कम्ता खुसी थिएनन् ।

गर्भवतीको समयमा नियमित चेकजाँच गरिनै रहेका थिए । आशादेवीलाई विभिन्न समस्याहरु आईनै रहन्थे । तर डाक्टरहरुले सामान्य गर्भवतीको समयमा हुने परिवर्तन हो भनेपछि उनीहरु ढुक्क हुन्थे । उनीहरु औधी खुसी थिए । तर कठरिया परिवारको त्यो खुसी धेरै समय टिक्न पाएन । आशादेवीको पेटमा जुम्ल्याहा बच्चा थिए । वैशाख २२ गते उनलाई गाह्रो भएपछि श्रीमान शिवप्रसादले धनगढीको निसर्ग अस्पतालमा पुर्याए । २ दिनसम्म उक्त अस्पतालमा उपचार पश्चात डाक्टरहरुले स्वास्थ्य अवस्था जटिल भएको भन्दै नेपालगञ्ज रेफर गरे ।

आशादेवीलाई वैशाख २९ गते नेपालगञ्चको मेडिकल कलेजमा पुर्याईयो । डाक्टरहरुले अवस्था जटिल भएको भन्दै तत्कालै अप्रेशन गरेर बच्चा निकाल्नुपर्ने सुझाए । आशादेवीले सोही अस्पतालमा जुम्ल्याहा २ छोरीलाई जन्म दिईन् । तर दुई बच्चालाई जन्म दिएर बेहोस बनेकी आशादेवी फेरी होस्मा फर्किनन् । उनले आफ्ना नाबालक सन्तानको मुख समेत देख्न नपाई प्राण त्याग गरिन् । २ सन्तानलाई सन्सार देखाएर आफु भने सदैका लागि सन्सारबाट बिदा भईन् । आशादेवीको मृत्युभएपछि नर्मल डेलिभरी भन्दा २/३ हप्ता अगाडी नै जन्मिएका बच्चाको कम तौलका कारण १ हप्तासम्म आईसीयुमा राख्नुपर्यो । शिवप्रसादले बुनेको सन्तान सहितको सानो परिवारको सपना छिनभरमै चक्नाचुर भयो । श्रीमतीको मृत्युपछि विक्षिप्त बनेका उनलाई दुई नाबालक सन्तानलाई हुर्काउनु अर्को चुनौती आईपर्यो ।

“बिहे गरेको २८ वर्षपछि सन्तान हुँदा निकै खुसी थियौँ, दैवले खुसी लुट्यो मेरी श्रीमतीले छोडेर गएको २ निशानी श्रीमतीका प्रतिबिम्ब हुन् शिवप्रसाद भावुक हुँदै भने, दैवले म माथि ठुलो परीक्षा लियो ।” अहिले उनले दुई छोरीलाई घरमा लगेका छन् ।

आमाको न्यानो काख र दुध चाहिने बच्चाहरुलाई शिवले बजारको बट्टाको दुध खुवाएर राखेका छन् । कृषि पेशा गर्ने शिवलाई यतिबेला आर्थिक समस्या समेत परेको छ । उनीसंग त्यहि पाउडर दुध किन्ने पैसा समेत छैन । “श्रीमतीको उपचारका लागि थुप्रै पैसा खर्च भयो । अस्पतालमा समेत पैसा तिर्न बाँकी छ उनले भने सबैले सहयोग गरे मेरा २ छोरीको उद्धार हुने थियो ।”

काम गर्न जाउँ भने यी दुई नानीलाई हेर्नु पर्यो । आफु यता उता जाँदा दाई भाउजुहरु र उनीहरुका छोरीहरुले बच्चाको ख्याल गर्ने गरेको उनले बताए । ४८ वर्षकी श्रीमती गुमाएका उनलाई दुई छोरीको हेरविचारमा आर्थिक समस्या भएपछि सबैसंग सहयोगका लागि अनुरोध गरेका छन् ।

समाजसेवी लिल बहादुर थापाको सहयोग

यसैबीच दुई नाबालक बच्चाको लालनपोषण र हेरबिचारका लागि बाँकेको खजुरा गाउँपालिका ४ डि गाउँ स्थायी घर भई हाल वैदेशिक रोजगारीका क्रममा अमेरीकामा रहनुहुने समाजसेवी लिल बहादुर थापाले सहयोग गर्नुभएको छ ।
“नाबालक बच्चा देखेर निकै करुणा लाग्यो सहयोगी थापाले भन्नुभयो- उनीहरुको पोषण र स्वास्थ्यका लागि नगद रु. ३३ हजार ३ सय ११ रुपैयाँ सहयोग गरेको हुँ ।” सन्तानलाई जन्म दिएर आफुले संसार छाडेको कठरिया परिवारमा परेको बज्रपातमा थोरै भएपनि सहयोग गरेको थापाले बताउनुभयो । दुई नाबालक बच्चाको विचल्ली हुन नदिन सबैले सहयोग गर्नुपर्ने उहाँको भनाई छ ।

समाजसेवी थापाले अमेरीकामा आफुले दैनिक १८ घण्टा काम गरेर कमाएको पैसा दिनदुःखीहरुलाई सहयोग गर्दै आउनुभएको छ । आशादेवीका श्रीमान शिवप्रसादले सहयोगी थापा प्रति धन्यवाद व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर