बासी खाना खाँदा के हुन्छ ?

उज्ज्वल रायमाझी – कार्यव्यस्तताले हो वा जाँगर नचलेर, अहिले प्रायः हामी एकै पटक दुई–तीन दिनलाई पुग्नेगरी खाना पकाउँछौं । फ्रिजमा राख्छौं । र, चाहिएको बेला तताएर खान्छौं ।

त्यसो त भान्सामा पाकेका कतिपय कुरा बाँकी रहन्छ । त्यसलाई पनि छोपछाप गरेर राख्छौं । अनि अर्को पटक खाइदिन्छौं । तारेको, भुटेको कुरा त अझ केही दिन वा हप्तासम्म राखेर पनि यसरी खाइदिन्छौं, मानौं ‘जे आउँछ मज्जाले पचाउँछ’ ।

तर के बासी रहेको खानेकुरा हाम्रो पाचनयन्त्रले सहजै पचाउँछ ? यो प्रश्नसँगै उठ्ने अर्को जिज्ञासा हो, वास्तवमा खानेकुरा कसरी बासी हुन्छ ? कति अवधिपछि बासी हुन्छ ? खानेकुरा विभिन्न प्रकारको हुन्छ । जुन खानेकुरामा पानीको मात्रा बढी हुन्छ । जस्तै, फलफूल, दूध, दही, पकाएको खानेकुरा एक हप्तामा कुहिन थाल्छ ।

नुन, चिनी मसलाजस्ता खाद्यवस्तु जुनमा पानीको मात्रा हुँदैन । त्यस्ता खानेकुरालाई महिनौंसम्म स्टोर गरेर राख्न सक्छौं, महिनौं कुहिंदैन ।

कसरी बिग्रिन्छ ? – बासी खानेकुरामा गुणस्तरको मात्रा कम हुँदै जान्छ । खाद्यपदार्थमा हुने गुणहरू पनि नष्ट हुँदै जान्छ । लामो समय पकाएको खानेकुरालाई स्टोर गरेर राख्दा सूक्ष्म जीवाणु पनि विकास हुँदै जान्छ ।

बासी खानेकुरा खाँदा के हुन्छ ? – पकाएको खानेकुरा लामो समयसम्म राखेर खाँदा फुड पोइजनिङ र झाडापखालाको जोखिम बढ्छ । खानेकुरामा ब्याक्टेरियाका कारण खानाको रङ, गन्ध र स्वाद परिवर्तन हुन्छ । लामो समयसम्म फ्रिजमा स्टोर गरेको खाना खाँदा कालान्तरमा नसासम्बन्धी समस्या र क्यान्सरको समेत जोखिम बढेर जान्छ ।

फ्रिजमा कति समयसम्म राखेको खानेकुरा खानु उचित ? – जानीजानी फ्रिजमा धेरै खाना राख्नेले सबैभन्दा पहिले फ्रिजमा खाना खराब हुँदैन भन्ने भ्रमलाई हटाउनुपर्छ । कतिपय खानेकुरा यस्ता हुन्छन्, जुन निश्चित समयपछि फ्रिजमा बिग्रिन्छन् । पकाएर राखेको खानेकुरा जस्तै भात, रोटी, दाल, तरकारी २४ घण्टापछि बिग्रन थाल्छ । त्यसैले २४ घण्टा बढी फ्रिजमा राखेको खानेकुरा खानु उचित हुँदैन ।

कसरी राख्दा खानेकुरा छिटो बिग्रिंदैन ? – सामान्यतया हामीले फ्रिजमा काँचो र पकाएको खाना सँगै राख्छौं । काँचो तरकारी र पकाएको खाना एउटै ठाउँमा राख्नाले फ्रिजमा ब्याक्टेरिया बढ्छ । यसले खाना छिट्टै बिग्रन्छ, त्यसैले काँचो र पकाएको खानालाई सधैं छुट्टै ठाउँमा राम्ररी छोपेर राख्नुपर्छ । फ्रिजमा राखिएको खानेकुरालाई खानुअघि बाफ आउने गरी तताएर मात्र खानु उपयुक्त हुन्छ ।

यसो गर्दा खानेकुरामा भएको पोषक तत्त्व नष्ट हुन्छ । खानेकुराबाट शरीरले प्राप्त गर्ने भिटामिन मिनरल्सको मात्रा प्राप्त नगर्न सक्छ । पेट भर्न खाना खाने हो भने फ्रिजमा राखेको खानेकुरा खान सकिन्छ । तर शरीरलाई आवश्यक पर्ने पोषक तत्त्वहरूको लागि भने लामो समय फ्रिजमा राखेको खाना नखानु नै उपयुक्त हुन्छ । – अनलाईखबरको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय