राष्ट्रपतिको निर्वाचनलाई लिएर दलहरु आआफ्नो अडानमा, यस्तो छ तयारी

काठमाडौं । राष्ट्रपति निर्वाचनको विषयलाई लिएर दलहरु टसमस हुने अवस्थामा देखिएका छैनन् । सत्तारुढ र प्रतिपक्षी दलको आआफ्नै अडानका कारण राष्ट्रपतिको आगामी निर्वाचन राजनीतिक अस्थिरताको बिन्दु बन्ने देखिएको छ ।

फागुन २५ गते हुने राष्ट्रपतिको उम्मेदवार एमाले र कांग्रेसले सिफारिस गर्दैछन् । पुस १० गते एमालेको समर्थन लिएर प्रधानमन्त्री बन्नुभएका पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिको विषय झिकेपछि एमाले तरंगित भएको छ भने कांग्रेस माओवादीलाई फकाइरहेको छ ।

यता, नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिकै विषयका कारण हालको सत्तागठबन्धन टुट्ने अड्कल गरिरहेको छ । सो पार्टीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिक अस्थिरताका कारण प्रतिकुल समय आउनसक्ने भन्दै पार्टी पंक्तिलाई सचेत रहन आग्रह गर्नुभएको छ ।

अहिले राजनीतिक दलहरु नयाँ राष्ट्रपति चयनका लागि आन्तरिक छलफलमा छन् । फागुन १३ गते राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता तोकिएको छ भने २५ गते मतदान हुनेछ । राष्ट्रपति चुनावकै कारण सरकारले गर्ने विभिन्न राजनीतिक नियुक्तिदेखि लिएर पार्टीका गतिविधि, प्रदेश प्रमुख फेरबदल लगायतका सबै कार्य ठप्प छन् ।

राष्ट्रपतिलाई लिएर दलहरुबीच खिचातानी चलिरहेका बेला मुलुकका एक्ज्युकेटिभ पदहरु एकै पार्टीलाई सुम्पिदा अधिनायकवाद निम्तिने वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीको भनाइ छ ।

कतिपय कानूनविद्हरु बहुदलीय व्यवस्थामा राष्ट्रिय सहमति खोजिनु गलत भएको तर्क गरिरहेका छन् । पञ्चायतकालमा जस्तो जनताको म्याण्डेडलाई कुल्चिएर व्यवस्थाको विपरित कार्य भइरहेकाप्रति वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको आपत्ति छ ।

मंसिर ४ गते भएको निर्वाचनताकाको गठबन्धनलाई भत्काएर एमालेको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डको बोलीमा भने हाल आएर राष्ट्रिय सहमतिनै झुण्डिएको छ । जुन व्यवस्था फाल्नका निम्ति माओवादी सशस्त्रद्वन्द्वको बिजारोपण गरियो त्यही व्यवस्थाका हिमायतीहरु आज संसदमा मात्रै होइन सत्तामा पनि शक्तिसहित उक्लिएका छन् । उनीहरुको एउटै लक्ष्य छ हिन्दु राष्ट्रसहितको राजतन्त्र । अहिले प्रचण्डले भन्ने राष्ट्रिय सहमति पनि आफ्नो सुरक्षाको लागि मात्रै हो भन्ने पुष्टि भइसकेको छ ।

पद र शक्तिका लागि आशक्ति पलाउँदा मुलुकको राजनीतिमा पटकपटक व्यवधान आइरहेको छ । जनताले जुन गठबन्धनका लागि मत दिएका हुन्छन् त्यसैको अवमूल्यन दलका नेताबाट भइरहेको छ । अझैपनि तीब्र महत्वकांक्षाले राजनीतिक दुर्घटना नहोला भन्न सकिन्न ।।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय