राहत र अनुदान खै कस्ले पाउँछ

कैलाली । कैलालीको टीकापुरका २५ वर्षीया बबिता चौधरी श्रीमानसँगै मजदूरी गर्न कञ्चनपुरको महेन्द्रनगर पुगेको वर्षौं भयो ।

अढाई वर्षीय छोरालाई डेरामै छाडेर घर निर्माणमा मजदूरी गर्न जाने गरेकी बबिता आर्थिक अवस्था कमजोर हुँदा नै बाध्यताले कडा परिश्रम गरेर जीविका चलाउनु परेको पीडा पोख्छिन् । उनीहरु दुवैको कमाइले जीविका चलिरहेको छ । “कमाएको मध्ये अलिकति बैंकमा बचत पनि गरेकी छु” उनले भनिन्, “यहाँ शिविरमा डेरा गरी बजार क्षेत्रमा मजदूरी गरिरहेका छौँ । दैनिक रु ५०० ज्यालाबाट घरखर्च पु¥याएर केही पैसा वचत गरेको हुँ ।”

उनले बन्दाबन्दीअघि साहुको घरमा दैनिक सरसफाइ र लुगा धुने काम पनि गर्ने गरेको बताईन् । बन्दाबन्दीले अहिले घरघरमा पुगेर सरसफाइ गर्ने काम रोकिएको उनले बताईन् ।

चौधरीले भनिन्, “कोरोना त्रासका बीच मजदूरी गर्न भने गएकै छु ।” कुनै समय यहाँ खेतीबारीको काममा बढी सक्रिय रहने थारु समुदायका महिलाहरु पछिल्लो समय विभिन्न सीपमूलक तालीम लिएर घर निर्माण, वायरिङ्ग, तरकारी खेतीलगायतका आयमूलक काममा लागेका देखिन्छन् ।

त्यसैगरी कैलालीको जोशीपुर गाउँपालिका–३ का ४० वर्षीय सोनमती कठरिया श्रीमान लालराम र २१ वर्षीया छोरी अनिमासहित महेनद्रनगरमा मजदूरी गर्दै आएका छन् । लालराम घर बनाउने मिस्त्री हुन् भने छोरी र श्रीमती घर निर्माणमा मजदूरी काम गर्ने गर्दछन् ।

“छ महिना जति भारतको मन्सुरीमा पनि मजदूरी गरेँ” सोनमतीले भनिन्, “अरुको देशमा पसिना बगाउनुभन्दा आफ्नै ठाउँमा काम गरौँ भनेर महेन्द्रनगरमै मजदूरी गर्न थाल्यौँ ।”

उनले श्रीमान, आफ्नो र छोरीको कमाइले मुश्किलले घरखर्च टर्ने गरेको बताईन् । “श्रीमानको मात्रै कमाइले छोराछोरीको खर्च नै पुग्दैन्” सात छोराछोरी भएकी उनले भनिन्, “गाउँमा कमाइखाने जग्गा छैन, हामीहरुका लागि मजदूरी नै जीवन निर्वाहको विकल्प हो ।”

उनले विगत पाँच/छ वर्षदेखि महेन्द्रनगरमा डेरा गरी मजदूरी काममा हिंडिरहेको जानकारी दिईन् । “बुबा/आमाले पढाउन नसक्ने भनेपछि एसइईसम्मको पढाइ रोकेर म पनि मजदूरी गर्न यहाँ आएँ” अनिमाले भनिन्, “बुबाले यहाँ घर निर्माणको जिम्मा लिनु हुन्छ, हामी पनि त्यहीँ ज्यालादारी गर्छौं, काम खोज्नका लागि अन्यत्र जानु पर्दैन ।”

उनले बुबासित काम गर्दागर्दै आफूलाई पनि घर निर्माणबारे अनुभव हुन थालेको बताईन् । पछिल्लो समय महेन्द्रनगर बजार र आसपासका क्षेत्रमा पूर्वाधार निर्माणमा थारु समुदायका मानिसहरु बढी संलग्न देखिन्छन् ।

त्यसैगरी बेदकोट नगरपालिका–५ धरमपुरकी जुनी चौधरी दैनिक एक घण्टा साइकल चढेर मजदूरी गर्न महेन्द्रनगर बजार पुग्छिन् । “एक दिन मजदूरी गर्न पाएन भने बेलुकी के खाने भन्ने चिन्ता हुन्छ” उनले भनिन्, “ त्यहीँमाथि अहिले त कोरोना कहरले झन् समस्या गरिदियो ।”

दुई छोराछोरी घरमै छाडेर मजदूरीमा हिंड्ने जुनीका श्रीमान पनि मिस्त्री काम गर्छन् । धरमपुर मुक्त कमैया शिविरमा बस्दै आएका चौधरीले लामो समयदेखि आफूहरुले मजदूरी गरेर जीविका चलाउँदै आएको बताईन् ।

“बन्दाबन्दी, कोरोनाको त्रासका बीच पनि काम गर्दैछौँ”, उनले भनिन्, “सरकारले गरीबका लागि दिने राहत र अनुदान खै कस्ले पाउँछ थाहा छैन ।” उनले गरीब निमुखा वर्गको उत्थानका लागि सरकारी तथा गैरसरकारी निकायबाट खर्च हुने रकम ग्रामीण बस्तीसम्म पुग्नुपर्ने बताईन् । “अरु सीप सिके त घरमै बसेर पनि केही गर्न सकिन्छ”, उनले भनिन्, “महिलालाई आयमूलक काममा लगाउन प्रोत्साहन आवश्यक छ ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय