गुल्मी,
रुद्रावती बहुमुखी क्याम्पस मुसिकोट ७ वामीटक्सार गुल्मीमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
सोमबार क्याम्पसको प्राङ्गणमा बिहान ८ बजेदेखि सुरु भएको कार्यक्रम ११ बजे सम्पन्न भएको थियो । क्याम्पसले आफ्ना श्रोत विद्यालयहरुलाई पत्राचार गरेको क्याम्पस प्रमुख हेमन्त घिमिरेले जानकारी दिनुभयो ।
विद्यार्थीको सिर्जनशिलता अभिवृद्दि गर्ने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा १२ देखि १५ वटा विद्यालयहरु सहभागी हुने अपेक्षा क्याम्पसले गरेको भएपनि ६ वटा विद्यालय सहभागी भएका थिए ।विशेष गरेर कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यक्रमको आयोजना गरिएकोले सोही प्रकृतिका विद्यार्थीहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपाल राष्ट्रिय मावि मुसिकोट ५ इन्द्रेगौँडाका हिमाल अर्याल प्रथम हुँदै नगद दश हजार रुपैँया हात पारेका छन । त्यस्तै जनजागृति मा वि बाग्लुङग काँडेबासकी बिबिका सलामी द्वितीय हुँदै सात हजार नगद हात पारेकी छन ।
महेन्द्र आदर्श नमुना मा विकी रीता बिक तृतीय हुँदै चार हजार रुपैयाँ प्राप्त गरेकी छन भने सहभागी सबैलाई सहभागिताबपत एक /एक हजार रुपैयाँ प्रदान गरिएको क्याम्पस प्रमुख घिमिरेले जानकारी दिनुभयो ।
रुद्रावती बहुमुखी क्याम्पसको आयोजना र वामी विश्व सम्पर्क मन्चको प्रायोजनमा सम्पन्न कार्यक्रममा प्रथम पुरस्कार वामी विश्व सम्पर्क मन्च अन्तरगत समन्वय समितिका उपाध्यक्ष तथा विश्वविद्यालय अनुदान आयोगका सचिव प्राध्यापक डाक्टर ज्ञान बहादुर थापा, द्वितीय पुरस्कार सम्पर्क मन्चको अन्तराष्ट्रिय समन्वय समितिका महासचिव रोमाकान्त सापकोटा, तृतीय पुरस्कार मन्चको अन्तराष्ट्रिय समन्य समिति महिला उपाध्यक्ष शारदा शर्मा पौडेलले प्रायोजन गर्नुभएको थियो ।
कार्यक्रममा सम्पर्क मन्चका अध्यक्ष डिलाराम खरेलको प्रमुख आतिथ्यता, क्याम्पस सन्चालक समितिका अध्यक्ष भूवन केसीको प्रमुख अध्यक्षता रहेको थियो भने सन्चालन क्याम्पसका उपप्राध्यापक महेश्वर घिमिरेले गर्नुभएको कार्यक्रममा मन्चकी महिला उपाध्यक्ष कल्पना घिमिरेले अतिथिहरुलाई शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
क्याम्पस सन्चालक समितिका पुर्व अध्यक्ष अग्निधर लोहनी, क्याम्पस प्रमुख हेमन्त घिमिरे र चन्द्रकोट क्याम्पसका क्याम्पस प्रमुख इन्द्र बहादुर थापाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।
वैदेशिक अध्ययनमा जापानमा रहनुभएका विपिन विश्वास रायमाझीद्वारा प्रायोजित विभिन्न ४ वटा महत्वपुर्ण पुस्तक उत्कृष्ट हुने विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा क्याम्पस सन्चालक समिति सदस्य टंकनाथ भण्डारीद्वारा नृत्य प्रस्तुत गरेका अध्ययनरत छात्राहरुलाई नगद रकम हौसलास्वरुप हस्तान्तरण गरिएको थियो ।
क्याम्पसले आयोजना गरेको यस्तो बौद्दिक कार्यक्रम अनुकरणीय रहेको भन्दै अध्ययनरत छात्र कर्ण नेपाली र सुरज आचार्यले प्रायोजन गर्ने व्याक्तित्व र सहयोगी सबैप्रति विद्यार्थीको तर्फबाट आभार व्यक्त गर्न चाहेको बताउनुभयो ।



