गुल्मी- फेन्सी कपडा व्यवसायी समिति गुल्मीको दोश्रो अधिवेशन यही चैत्र २१ गते तम्घासमा हुने भएको छ ।
शुक्रबार तम्घासमा बसेको जिल्ला समितिको बैठकले आगामी चैत्र २१ गते चौँथो साधारणसभा तथा दोश्रो जिल्ला अधिवेशन गर्ने निर्णय भएको समितिका जिल्ला अध्यक्ष अर्जुन कार्कीले जानकारी दिनुभयो ।
आगामी यही चैत्र २१ गते अधिवेशन गर्नको लागि तयारी तिब्र पारिएको र जिम्मेवारी बाँडफाँड गरिएको समितिका सहसचिव शिव पाण्डेले जानकारी दिनुभयो ।
अधिवेशनको लागि जिल्लाका १२ वटै स्थानिय तहबाट प्रतिनिधि उपस्थित हुने र सबै स्थानिय तहका साधारण सदस्य र आजीवन सदस्य प्रतिनिधी हुने व्यवस्था रहेको सहसचिव पाण्डेको भनाई छ ।अधिवेशनमा झण्डै २ सय जना प्रतिनिधीको उपस्थितिमा कार्यक्रम सभ्य र भब्य हुने आयोजकले अनुमान गरेको छ ।
पछिल्लो समय देशभर पोके ब्यापारीहरु अबैध रुपमा गाउँगाउँमा कर छलिका सामान सस्तो र गुणस्तरीय भन्दै ठगी गर्ने गरेको पाइएकोले यसको अन्त्य गर्न राज्यलाई सहयोग गर्ने कार्यमा समेत समिति जुटेको अध्यक्ष कार्कीले बताउनुभयो ।
यही कर्यकालमा विभिन्न जिल्लाका घुम्ती व्यापारी तम्घासमा गोदाम बनाएर गुल्मी, पाल्पा, अर्घाखाँची, प्युठान र बाग्लुङ्गसम्म तस्करी गरेका फेन्सी कपडाहरु विक्रि वितरण गर्दै आएको ठहर गर्दै कानुनी प्रकृयामा गएर करको दायरामा ल्याई स्वच्छ रुपमा व्यापार र प्रतिस्पर्धा गर्न प्रशासनलाइ सहयोग गरेको समितिको ठहर छ ।
जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा पनि त्यस्तै प्रकृतिको व्यवसाय गर्दै हिँडेको समूहलाई पत्ता लगाई नगर समितिले प्रहरीलाई जिम्मा लगाई करको दायरामा ल्याउन सघाएको थियो ।
समितिले जिल्लाभर आयोजना हुने मेला महोत्सवमा बाहिरी व्यवसायीको सट्टा स्थानीय व्यवसायी र उत्पादनलाई मान्यता दिनुपर्ने माग राख्दै पटकपटक प्रशासनको ध्यान आकर्षण गरिरहेको छ ।
आगामी अधिवेशनबाट पनि यस्तै जुझारु नेतृत्व र व्यवसायीको पक्षमा काम गर्ने समिति निर्वाचित हुने व्यवसायीहरुको अपेक्षा रहेको छ । समितिले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ ।



