गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर २, मुसिकोट अमिले निवासी कृष्ण बहादुर खत्री तथा उहाँका छोराबुहारीहरू भेषबहादुर/कोपिला, हरिबहादुर/सीता, मनबहादुर/कमला, कौरवबहादुर/सपना खत्री, छोरीहरू कमला, जमुना, मञ्जु, सीता र समस्त परिवारद्वारा बडिगाड नदी किनारमा प्रतीक्षालय निर्माण गरिएको छ।
गत वर्ष आफ्नी धर्मपत्नी कालिका खत्रीको निधन भएपछि श्रीमान् कृष्णबहादुर खत्रीले उहाँको सम्झनामा नदी घाटमा प्रतीक्षालय निर्माण गर्ने प्रतिज्ञा गरेअनुसार परिवारको सल्लाह र समन्वयमा सत्तल निर्माण गरिएको उहाँले बताउनुभयो।
मुसिकोट नगरपालिका–२, सुदिघाटमा मलामी तथा किरियापुत्रीहरूलाई हावाहुरी, घामपानी र झरिबादलको समस्या झेल्नु नपरोस् तथा सत्तल निर्माण भएपछि केही भए पनि ओत लाग्न मिलोस् भन्ने उद्देश्यले निर्माण गरी बिहीबार सार्वजनिक प्रयोजनका लागि समुदायलाई हस्तान्तरण गरिएको परिवारले जनाएको छ।

यसरी पुण्यकर्ममा लगानी गरी उदाहरणीय कार्य गर्ने परिवारप्रति वडाध्यक्ष रबिन्द्र खत्रीले धन्यवाद व्यक्त गर्दै दिवंगत कालिका खत्रीप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभयो।
प्रतीक्षालय करिब ३ लाख रुपैयाँ लागतमा निर्माण गरिएको खत्री परिवारले जनाएको छ। व्यक्तिगत लगानीमा निर्माण गरिए पनि समग्र समुदायको हितका लागि निर्माण गरिएकोले यसको संरक्षण गर्न सबैलाई परिवारले आग्रह गरेको छ।
उद्घाटन कार्यक्रममा मुसिकोट–१ का वडासदस्य दानबहादुर केसी, साविक वामी गाविसका तत्कालीन अध्यक्ष हरिनारायण सापकोटा, मुसिकोट–२ का पूर्व वडा सदस्य नरबहादुर खत्री, इश्मा गाउँपालिका–१ का पूर्व वडाध्यक्ष चुरा बहादुर खत्री, रेडियो सारथीका स्टेशन प्रमुख कमल पौडेल, गल्कोट अनलाइनका सञ्चालक थम्मन थापा, स्थानीय समाजसेवी, खत्री परिवारका आफन्तजन तथा छिमेकीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन रेडियो पुष्पाञ्जलिका समाचार वाचक तथा नवखबर अनलाइनका सम्पादक विष्णुप्रसाद आचार्यले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा निर्माणकर्ता कृष्णबहादुर खत्रीले पानसमा बत्ती बाल्दै रिबन काटेर स्वर्गीय धर्मपत्नी कालिका खत्रीको बैकुण्ठवासको कामनासहित समुदायलाई हस्तान्तरण गर्नुभयो। त्यसपछि वडाध्यक्ष रबिन्द्र खत्रीले अनावरण गरी औपचारिक रूपमा उद्घाटन गरिएको थियो।


