गुल्मीमा ६ पदका लागि ६६ जनाको उमेदवारी

गुल्मी । गुल्मीका दुई संघिय निर्वाचन क्षेत्र र र चार प्रदेश सहित ६ वटा पदका लागि हुन गईरहेको निर्वाचनमा भाग लिन ६६ जनाको उमेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त विवरण अनुसार क्षेत्र नम्वर १ मा कुल ३४ जनाको उमेदवारी परेको छ । त्यस मध्ये संघका लागि २ जना महिला ९ जना पुरुष सहित ११ जनाको उमेदवारी परेको छ ।

त्यस क्षेत्रको प्रदेश १ मा ११ जना पुरुषहरुको उमेदवारी परेको छ । प्रदेश २ मा १२ जनाको उमेदवारी परेको छ । उमेदवारी दिने ३४ जना मध्ये १६ जना स्वतन्त्रबाट र १८ जना विभिन्न राजनैतिक दलबाट उमेदवारी दिएका छन् । मुख्य प्रतिस्पर्धीका रुपमा गठबन्धनबाट कांग्रेस नेता डाक्टर चन्द्र भण्डारी र एमाले नेता प्रदिपकुमार ज्ञवाली संघिय चुनावी मैदानमा छन् । त्यस्तै त्यस क्षेत्रको प्रदेश १ मा गठबन्धनका साझा उमेदवार सुदर्शन बराल र एमालेबाट चिन्तामणि पाण्डे मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा छन् ।

बरालले बिशेष गरी गठबन्धन दलहरु मध्येका कांग्रेसका स्थानीय कार्यकर्ता हर्राचौरका पुर्व वडाध्यक्ष किरण प्रताव शाहको समेत सामना गर्नु पर्ने छ । त्यस्तै एमाले बाट प्रदेश उमेदवार पाण्डले पनि स्वतन्त्रका नाममा उठेका आफ्नै पार्टीका केहि कार्यकर्ताहरुको सामाना गर्नु पर्ने देखिन्छ ।, सोही क्षेत्रको प्रदेश २ मा मुख्य प्रतिस्पर्धीका रुपमा गठबन्धनका साझा उमेदवार कांग्रेस नेता धनेन्द्र कार्की र एमाले नेता फर्शुराम पाण्डे चुनावी मैदानमा खडा भएका छन् ।

क्षेत्र नम्वर २ – गुल्मी क्षेत्र नम्वर २ मा संघिय निर्वाचनका लागि मुख्य प्रतिस्पर्धी गठबन्धनबाट साझा उमेदवार नेकपा एकिकृत समाजवादीकी सचिव र एमालेका सचिव गोकर्ण बिष्ट चुनावी मैदानमा छन् । यस अघि संघ र प्रदेशको निर्वाचनमा एउटै पार्टीमा रहेर गोकर्ण बिष्टलाई जिताउन चुनावी कमाण्डर बनेकी रामकुमारी झाँक्री यसपाली भने विपक्षीदलबाट प्रतिस्पर्धी बनेकोले पनि यी दुई बीचको चुनावी कुस्ती रोचक बन्न पुगेको छ ।
त्यस क्षेत्रको प्रदेश १ मा मुख्य प्रतिस्पर्धीका रुपमा गठबन्धनका साझा उमेदवार भुवनप्रसाद श्रेष्ठ र एमालेबाट डिल्लीराज भुसाल रहेका छन् । उनिहरु बीचको चुनावी कुस्तीको हारजित पनि २५ बर्ष पुरानो हो ।

२०५४ सालको स्थानीय निर्वाचनमा यी दुई जना साविक तम्घास गाविसको गाविस अध्यक्षका मुख्य प्रतिस्पर्धी उमेदवार बनेका थिए । त्यस बेला कुस्तीमा भुसाललाई श्रेष्ठले नराम्री पछारेका थिए । दोश्रो पटक यी दुई जना २०७४ को स्थानीय तह निर्वाचनमा रेसुङ्गा नगरपालिकाको मेयर पदमा पुनः चुनावी मैदानको रिङ्गमा मुख्य प्रतिस्पर्धीका रुपमा छिरे । त्यसपालिकामा कांग्रेसको बाहुल्यताको दम्भ थियो । त्यस कारणले पनि श्रेष्ठले भुसाललाई ढलायो, ढलायो। भन्दै ह्पिह्पि हुर्रेको हुटिङ्ग चलिरहेको बेला अहिले एमालेका शब्दमा ‘माओवादीका दुईचार जना’ अझ अध्यक्ष केपी ओलीको शब्दमा गुगुलमा खोज्नेहरुले ढल्नै लागेका भुसाललाई साथ दिएर श्रेष्ठलाई पो ढलाई दिएका थिए ।

यसपाली तिनै गुगलमा खोज्नेहरु श्रेष्ठको साथमा भई दिएकोले भुसाललाई अलि बढि नै ‘एक्सरसाईज’ गर्नु पर्नेपर्ने देखिन्छ । तर भुसाल पुर्व मेयर भएकोले जनता कति साथमा लिएका छन भन्ने कुराले पनि छिनफानो गर्ने देखिन्छ । प्रदेश ख को निर्वाचन पनि थप रोचक बन्ने भएको छ । किनकी यस अघिको संघ र प्रदेशको निर्वाचनमा गोकर्ण बिष्ट र आफ्नै पार्टीका दिनेश पन्थीलाई जिताउन ज्युज्यान फालेर चुनावी कमाण्डर बनेका एकिकृत मोवादी केन्द्रका जिल्ला संयोजक बुद्धि जिसी बुद्धिबहादुर घर्ति क्षेत्री यति बेला गठबन्धनका साझा उमेदवार छन् ।

उनले हिजोका आफ्नै पार्टीका सहकर्मी अहिले एमालेबाट उठेका दिनेश पन्थी संग कुस्ती खेल्नु परिरहेको छ । उति बेला माओवादी एमालेहरु मिलेर जिताएका पन्थी नेकपा फुटे पछि एमाले मै बसे पछि माओवादीले मुद्धा हाले पछि उनको सांसद पद चट भयो । त्यसको बदलामा अहिले एमालेले उनलाई जिताउन भरपुर शक्ति परिचालन गर्ने देखिन्छ । उता जिसी पनि कम छैनन् । प्रचण्डका ज्वाँइ–चेला भएकोले केन्द्र देखि प्रदेश सम्मको विकास जिल्लामा पार्न यस अघि जितेर गएकाहरुले समेत उनैलाई गुहार्नु पर्ने अवस्था पहिल्लै देखि भएकोले उनी प्रति जनमत राम्रै देखिन्छ । तर बिष्टको साथ पाएका पन्थी पनि कम छैनन् ।

कांग्रेसबाटै बागी भुसाल बिष्टलाई ढाल
नेपाली कांग्रेस गुल्मीको विध्वान र भिजनवाला नेताका रुपमा आफुलाई चिनाउन खोज्ने दामोदर भुसालले गुल्मी क्षेत्र नम्वर २ बाट गठबन्धनकै उमेदवार रामकुमारी झाँक्रीलाई अस्वीकार गर्दै स्वतन्त्र उमेदवारी दिएकाछन् । विगतमा पार्टी सभापति लडेर ‘लाष्ट राउण्डको रिङ्ग’ भित्र छिर्न नपाई बाहिरिएका भुसाल आफु संग जनमत रहेको दाबी गर्दै आएका छन् । चिनबाट अध्यान गरेर फर्के पछि उनलाई पार्टीले अवसर स्वरुप लुम्विनी प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेको थियो । उनले राजीनामा दिएको र स्वीकृत समेत भएको प्रदेश योजना आयोगका सदस्य सचिव बामदेव क्षेत्रीले बताए ।

उनले उमेदवारी फिर्ता नलिने हो भने बिष्टलाई गठबन्धनको चुनावी प्रहार रोक्न–छेक्न भुसाल ढाल बन्न सक्छन् । त्यसो त माओवादी केन्द्रका जिल्ला तहका नेताहरुले पनि स्वतन्त्र उमेदवारी दिएका छन् । क्षेत्र नम्वर २ को प्रदेश १ मा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र पुर्व अध्यक्ष तथा हाल प्रदेश कमिटी सदस्य दुर्गा बिकले पनि स्वतन्त्र उमेदवारी दिएका छन् । त्यस्तै क्षेत्र नम्वर १ को प्रदेश १ बाट माओवादी केन्द्र त्यस प्रदेश कमिटी सचिव रहेका छत्रकोट ४ का रामचन्द्र कँडेलले पनि स्वतन्त्र उमेदवारी दिएका छन् ।

६६ जनामा जम्मा चार जना महिला – सबै जना गरेर ६६ जनाले उमेदवारी दिदा जम्मा चार जना महिलाले उमेदवारी दिनु भनेको महिलाको अवस्था अझै माथी उठ्न सकेको छैन भन्ने स्पष्ट हुन्छ । राष्ट्रिय जनमुक्ती पार्टीबाट क्षेत्र नम्वर १ को प्रतिनिधी सभाका लागि रुपन्देहीको कञ्चन गाउँपालिका–४ की चन्दा थापाले उमेदवारी दिएकी छन् ।

त्यस क्षेत्रको प्रदेश १ बाट रुरुक्षेत्र गाउँपालिका १ रिडी धर्मपथकी ३६ बर्षीया कमला श्रेष्ठले स्वतन्त्र उमेदवारी दिएकी छन् । क्षेत्र नम्वर २ मा प्रतिनिधी सभामा रामकुमारी झाँक्री पछि यता श्रेत्र नम्वर २ मा पर्ने रेसुङ्गा नगरपालिका–१० की कमला पुनले स्वतन्त्र उमेदवारी दिएकी छन् । उनि पुर्व माओवादी र हाल एमाले कार्यकर्ता हुन् । – ग्लोबल आवाजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय