ओलीपछि कसले हाँक्ला एमाले ?

नेकपा एमालेको दशौं महाधिवेशन नजिकिँदै गर्दा एमालेमा अध्यक्ष ओलीको उत्तराधिकारी को होला भन्ने विषयमा पनि बहस शुरू भएको छ । अहिलेको महाधिवेशनमा एमालेको हाइ–कमाण्ड फेरि ओलीकै काँधमा रहने निश्चित जस्तै छ ।

ओलीपछि पार्टीको नेतृत्व जिम्मा लगाउने व्यक्ति पनि उनले यही महाधिवेशनबाट तयार गर्दैछन् । उनले अहिलेबाट प्रोजेक्सन गरेको व्यक्तिलाई नै ओलीले ११ औं महाधिवेशनबाट पार्टी सत्ताको बागडोर हस्तान्तरण गर्नेछन् ।एकताको महाधिवेशन भनेर ओलीले सर्वसम्मत नेतृत्व चयनको प्रयास अघि बढाएका छन् । पार्टीको तल्लो तहको अधिवेशनमा नै ओलीको सर्वसम्मतिको प्रयास अभ्यास भइसकेको छ । त्यसो हुँदा एमालेको सर्वोच्च कार्यकारी निकाय केन्द्रीय कमिटी पनि सर्वसम्मतिमा नै बन्ने निश्चित प्रायः छ ।

सर्वसम्मतिबाटै नेतृत्व चयन हुँदा ओलीले जसलाई पार्टी महासचिवको जिम्मेवारी दिन्छन्, त्यो नेता नै एमालेमा ओलीपछिको उत्तराधिकारी हो । कम्युनिस्ट पार्टीमा समग्र पार्टी सञ्चालनको प्रशासनिक जिम्मेवारी महासचिवलाई हुन्छ । एमाले बहुपदीय प्रणालीमा छ । एमालेमा वरीयताको हिसाबले महासचिव पद सातौं हो, तर जिम्मेवारीको हिसाबले अध्यक्षपछिको दोस्रो महत्त्वपूर्ण पद हो ।

हुन त एमालेको विधान महाधिवेशनले नयाँ पद सिर्जना गरेको छ, त्यो हो वरिष्ठ उपाध्यक्ष । तर, वरीयतामा एमालेमा यो तेस्रो पद हो । दोस्रो वरियतामा वरिष्ठ नेता हुन्छन्, तर उनको कुनै कार्यकारी अधिकार हुँदैन । अध्यक्षमा ओली नै दोहोरिन लागेकाले यसपटक एमालेमा वरिष्ठ नेता नरहने लगभग पक्काजस्तै छ ।

एमालेको विधानले वरिष्ठ उपाध्यक्षलाई केही सीमित अधिकार र कर्तव्य तोकेको छ । एमालेकै नेताहरूको भनाइमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पद नेताहरूको व्यवस्थापनका लागि सिर्जना गरिएको हो । आगामी महाधिवेशनबाट ओलीले जोजसलाई वरिष्ठ उपाध्यक्ष र महासचिवको जिम्मेवारी दिन्छन्, तिनैमध्येका एक एमालेमा ओलीको उत्तराधिकारी हुन् ।

एमालेका वर्तमान महासचिव ईश्वर पोखरेल दुई कार्यकाल पार्टीको महासचिव भइसकेका छन् । विधानअनुसार उनी फेरि सोही पदमा दोहोरिन पाउँदैनन् । उनले वरिष्ठ उपाध्यक्ष बन्ने दाबी गरेका छन् । उनी १० औं महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष बने भने पनि उनले एमालेको नेतृत्व गर्ने अवसर भने पाउने छैनन् । उमेरका कारण उनी बाहिरिनुपर्ने बाध्यता हुनेछ ।

अहिले विष्णु पौडेल र घनश्याम भुसाल एमालेको उपमहासचिव छन् । एमाले कार्यकर्ताले यी दुवैलाई पार्टी नेतृत्वमा पुग्न सक्ने नेताको रूपमा लिन्छन् ।

समन्वयकारी भूमिका र पार्टीभित्र पनि ‘सर्वमान्य’ छवि बनाएका पौडेल भावी नेतृत्वका लागि प्रमुख दाबेदार हुन् । अध्यक्ष ओलीको विश्वास र पार्टीका नेताहरू तथा संगठनभित्रको पकडका कारण ओलीको उत्तराधिकारी बन्न सबैभन्दा ठूलो दाबेदारी पौडेलको छ ।

एमालेको भावी नेतृत्वका रूपमा हेरिएका अर्का नेता हुन्, शंकर पोखरेल । पोखरेल ओलीका अनन्य सहयोगी पनि हुन् । पोखरेलको सम्बन्ध ओलीसँग त प्रगाढ छ नै एमालेको आन्तरिक राजनीतिमा बलियो फ्याक्टर बनेकी राष्ट्रपति विद्यादेवी भण्डारीको पनि साथ छ ।

तर, संगठनमा भने पोखरेलको पक्कड पौडेलसरह छैन । आफ्नै जिल्लामा समेत पोखरेल पार्टीभित्र सर्वमान्य बन्न सकेका छैनन् ।

एमालेमा ओलीको उत्तराधिकारीका रूपमा अहिले सीमित अनुहार मात्र प्रस्टसँग अगाडि आएका छन् । आगामी महाधिवेशनमा ओलीले कसलाई अघि बढाउँछन्, भन्ने कुराले को हाइ–कमाण्डको बाटोमा अघि बढ्छ भन्ने निर्धारण हुन्छ ।

यसबारे कुनै निष्कर्षमा पुग्नुअघि केही सन्दर्भहरू हेरौं :

एमालेको विधानअनुसार ७० वर्ष उमेर पूरा भएपछि पदाधिकारी तहमा उम्मेदवारी दिन पाइँदैन । एमालेको विधानले हरेक पाँच वर्षमा महाधिवेशन आयोजना गर्ने व्यवस्था गरेको छ ।

एमालेको ११ औं महाधिवेशन २०८३ मंसिरमा हुनुपर्छ । त्यसबेलासम्म एमालेका नेताहरू ईश्वर पोखरेल (६८) र सुवास नेम्वाङ (६९)ले उमेर हदका कारण उम्मेदवार समेत बन्न पाउँदैनन् । ओलीसँग संघर्ष गरिरहेका नेता भीम रावल (६५) २०८३ असारमा नै ७० वर्ष पुगिसक्छन् । त्यसो हुँदा उनी पनि अध्यक्षको उम्मेदवार बन्नबाट बञ्चित हुन्छन् ।

भलै, रावलले दशौं महाधिवेशनमा नै अध्यक्षको उम्मेदवारी दिने घोषणा गरेका छन् । संस्थापनसँग संघर्ष गरिरहेका रावललाई ओलीसँग निर्वाचनमा भिडेर जीत निकाल्नु फलामको च्युरा चपाउनु बराबर हुने अवस्था छ ।

एमालेकी उपाध्यक्ष रहेकी अष्टलक्ष्मी शाक्य (६८) एमाले विभाजन हुनुअघि ओलीको तीव्र आलोचक थिइन्, पछि एमाले संस्थापनले उनलाई बागमती प्रदेशको मुख्यमन्त्री बनायो । उमेर हदका कारण अर्को महाधिवेशनमा शाक्य नेतृत्वको दाबीबाट बाहिरिने छिन् ।

एमालेमा अहिले उपाध्यक्ष रहेका नेता युवराज ज्ञवाली पनि पार्टीको नेतृत्वमा उदाउने गरी राष्ट्रिय राजनीतिको सीनमा छैनन् ।

एमालेका उपमहासचिव घनश्याम भुसाल (६०) र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे (६३) ओली क्याम्पमा थिएनन् । त्यसो हुँदा अहिले ओलीले उनीहरूलाई नेतृत्व दिने गरी अगाडि नबढाउने निश्चितप्रायः छ । उनीहरू एमालेको १२ औं महाधिवेशनमा नेतृत्वको दाबेदार बन्न सक्छन् ।

नवौं महाधिवेशनबाट सचिव बनेका पृथ्वी सुब्बा गुरूङ (६४) ले एमाले माओवादी एकता नहुँदासम्म संगठन विभाग प्रमुख भएर काम गरेका थिए । गण्डकी प्रदेशका मुख्यमन्त्री भएका उनी ओलीका भरपर्दा सहयोगी हुन् । तर, ओलीले गुरुङलाई पार्टीको नेतृत्वदायी भूमिका दिने गरी अगाडि बढाउने सम्भावना देखिँदैन ।

एमालेका अर्का सचिव एवं पार्टीका प्रवक्ता रहेका नेता प्रदीप ज्ञवाली (५९) पनि ओलीका विश्वासिला सहयोगी हुन् । पार्टीमा उनीभन्दा सिनियर नेता ओली खेमामा भएका कारण तत्काल ज्ञवाली पनि नेतृत्वको दाबेदार छैनन् ।

एघारौं महाधिवेशनमा अध्यक्षका लागि विष्णु पौडेल र शंकर पोखरेल मुख्य दाबेदारका रूपमा रहने निश्चित छ । त्यतिबेला उनीहरूलाई उमेर पनि बाधक बन्ने छैन । घनश्याम भुसाल, सुरेन्द्र पाण्डे लगायतका नेता पनि त्यतिबेला अध्यक्षका लागि दाबेदारी गर्ने स्थितिमा रहनेछन् ।

एमालेमा सचिव रहेका गोकर्ण विष्ट (५६) युवाहरू र जनसंगठनमा लोकप्रिय छन् । लामो समय ओलीविरोधी खेमामा रहेर काम गरेका विष्टलाई तत्कालै नेतृत्वदायी भूमिकामा अघि बढाउने सम्भावना देखिँदैन ।

एमालेको पदाधिकारी तहमा कान्छो उमेरका नेता हुन्, योगेश भट्टराई (५५) । नवौं महाधिवेशनबाट सचिव बनेका उनले प्रचार विभाग प्रमुख भएर काम गरेका छन् ।

उनले पनि लामो समय पार्टीमा संस्थापनभन्दा भिन्न खेमामा रहेर काम गरे । शुरूमा वामदेव गौतम र पछि माधव नेपालसँग निकट भएर काम गरेका भट्टराईलाई भविष्यमा एमालेको नेतृत्वको रूपमा कार्यकर्ताले हेरेको भए पनि तत्काल नेतृत्वको दौडमा छैनन् ।

एमालेका अर्का सचिव भीम आचार्य (६४) नेतृत्वको सीनमा देखिँदैनन् । विगतमा झलनाथ खनाल–माधव नेपालसँग निकट रहेर काम गरेका आचार्यको आफ्नै भूमिकाका कारण संगठनात्मक पकड कमजोर हुँदै गएको विश्लेषण एमालेभित्र हुने गरेको छ ।

ओलीका विश्वासपात्र नेताहरू विष्णु पौडल (६२) र शंकर पोखरेल (५९) मात्रै ओलीपछिको अध्यक्षका लागि दाबेदारका रूपमा सीनमा छन् ।

एमाले र माओवादी केन्द्र एकता गरेर नेकपा बनाउने बेलामा ओलीको सबैभन्दा निकट रहेर काम गरेका थिए, विष्णु पौडेलले । एमाले र माओवादी केन्द्रलाई मिलाउने मुख्य भूमिका निर्वाह गर्नेमा ओली र प्रचण्डपछि विष्णु पौडेल र जनार्दन शर्मा थिए ।

त्यसबेला, ओली र प्रचण्ड दुवैको विश्वास जितेका पौडेल दुई पार्टी मिलेर बनेको विशाल पार्टी नेकपाको महासचिव भए । एमालेको महाधिवेशनबाट निर्वाचित महासचिव ईश्वर पोखरेल पछाडि परे । ओलीले विश्वास गरेको र पार्टी एकतामा योगदान पुर्‍याएका कारण उनी महासचिव बन्न सकेका थिए ।

विष्णु पौडेलको अर्को क्षमता छ, नेता कार्यकर्तासँग चाँडो घुलमिल हुन सक्ने र समन्वयकारी भूमिका निर्वाह गर्ने । त्यही समन्वयकारी भूमिकाकै कारण एमाले र माओवादी मिलाउने काममा उनी सफल भएका थिए ।

नेकपाकालीन समयमा र अहिले एमालेमा पनि संगठन विभाग प्रमुख भएर काम गरेका कारण पौडेलले देशभरका नेता कार्यकर्तामाझ सम्बन्ध बनाएका छन् ।

एमाले अध्यक्ष ओलीले एमालेलाई नेकपाको निरन्तरता पनि भन्दै आएका छन् । अहिलेको एमालेलाई नेकपाको निरन्तरताको रूपमा मान्दा विष्णु पौडेलको दाबेदारी स्वतः मजबुत बन्न पुग्छ ।

त्यसबोहक, राजकीय जिम्मेवारीका हिसाबले पौडेल रक्षा र अर्थसहित उपप्रधानमन्त्री भइसकेका छन् । उनी दुईपटक अर्थमन्त्री हुँदा ल्याएको बजेट लोकप्रिय बन्यो । राजकीय जिम्मेवारीमा पनि उनले आफूलाई अब्बल साबित गर्न सकेका छन् ।

ओलीका अर्का विश्वासपात्र शंकर पोखरेल एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज)को बलिया समर्थक हुन् । ओली खेमामा सबैभन्दा तार्किक र वैचारिक नेताको रूपमा पोखरेललाई लिइन्छ ।

पोखरेलसँग २०६६ मा माधव नेपाल प्रधानमन्त्री हुँदा सूचना तथा सञ्चार मन्त्री र २०७४ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्री भएर राजकीय जिम्मेवारी निर्वाह गरेको अनुभव छ ।

एमालेको नवौं महाधिवेशनमा पोखरेलले घनश्याम भुसालसँग उपमहासचिवमा हारेका थिए । त्यसयता उनी एमालेको स्थायी समिति सदस्य छन् ।

तत्कालीन नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डबीच खटपट हुँदा दुई नेतालाई मिलाउन पोखरेलले भरमग्दुर प्रयास गरेका थिए । त्यसबेला दुई नेताको विवाद समाधान गराउन उनी हरेक साता लुम्बिनीबाट काठमाडौं धाइरहेका हुन्थे । उनले ओली र प्रचण्डसँग पटक–पटक एक्लाएक्लै भेटवार्ता गरेर विवाद मिलाउने प्रयास गरेका थिए ।

पौडेल र पोखरेल दुवैको राजनीतिक भूगोल भने लुम्बिनी प्रदेश हो । पौडेल बुटवल र पोखरेल दाङबाट निर्वाचन जितेका हुन् । लुम्बिनी प्रदेशको राजधानी तोक्ने सन्दर्भमा भने यी दुवै नेता आमनेसामने भएका थिए ।

पौडेल बुटवलमा राजधानी राख्न चाहन्थे भने पोखरेल दाङ लैजान चाहन्थे । अन्ततः राजधानी तोक्ने विषयमा पोखेरल नै सफल भए । त्यसबेला, पौडेलले राजधानी छाडिदिएबापत उनलाई संघीय सरकारमा अर्थमन्त्री बनाइएको चर्चा चल्ने गरेको थियो ।

पोखेरलभन्दा पौडेल सिनियर नेता हुन् । एमालेभित्र अध्यक्ष ओली र माधव नेपाल खेमा बीचको विवाद समाधान गर्न पनि पौडेलले महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

एमालेको विवाद समाधान लागि भएको १० बुँदे सहमतिको खाका विष्णु पौडेल अर्थमन्त्री हुँदा उनकै कार्यकक्षमा कार्यदलको बैठक बसेर टुंग्याइएको थियो । त्यसबाहेक, माधव नेपाल खेमाले एमाले छाडेर नयाँ पाटी बनाउँदा धेरैजसो नेता कार्यकर्तालाई माधव नेपाल पक्षमा नजान पौडेलले नै रोकेका थिए ।

एमाले विभाजनको अन्तिम समयसम्म पनि पौडेल माधव नेपालको निवासमा गएर पटक–पटक छलफल गरेर विवाद समाधानका लागि पहल गरेका थिए । भलै, यसमा भने उनी सफल हुन सकेनन् ।

पार्टीको संगठन विस्तार र आवश्यक पर्दा आर्थिक व्यवस्थापनमा समेत पौडेलले सक्षमता देखाएका कारण ओली पौडेलसँग अनुगृहीत रहेको ओलीनिकट नेताहरू नै बताउँछन् । पौडेलले पनि भविष्यमा एमालेको हाइ–कमाण्ड सम्हाल्ने योजनासहित रणनीतिक हिसाबले काम गरिरहेका छन् ।

पछिल्ला दिनमा आगामी महाधिवेशनबाट बनाउने टीमको बारेमा पनि पौडेलले ओलीसँग परामर्श थालेका छन् । ओली निवासमा एमालेको आगामी टीमको बारेमा छलफल शुरू भइसकेको उनीहरू निकट नेताहरूले बताएका छन् । यी छलफलमा पौडेल नै हावी भइरहेका छन् । यसले पनि ओलीको आगामी उत्तराधिकारी पौडेल नै हुन भन्ने संकेत गर्छ ।

ओली र पौडेल दुवैको मनस्थिति बुझेका एमालेका एक नेता भन्छन्, ‘ओलीका लागि अहिले विष्णु पौडेल नै प्राथमिकतामा छन् । शंकर पोखरेल विकल्प हुन् ।’

ती नेताको विश्लेषण अनुसार, आगामी महाधिवेशनबाट पौडेल एमालेको महासचिव बन्नेछन् भने पोखरेल उपमहासचिव बन्ने सम्भावना छ । तर, राष्ट्रपति भण्डारीको साथ लिएर पोखरेलले दबाब बढाउँदा विष्णु पौडेललाई उपाध्यक्ष र शंकर पोखरेललाई महासचिव बनाउने सम्भावना पनि रहन्छ । लोकान्तरबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय