चौँथो राष्ट्रिय महिला अधिकार दिवस बडिगाडमा मनाईयो

सागर भण्डारी,बागलुङ । चौँथो राष्ट्रिय महिला अधिकार दिवस बडिगाडमा विविध कार्यक्रम सहित मनाईएको छ । बडिगाड गाउँपालिकाको आयोजनामा महिला सम्मान सभ्य समाजको पहिचान भन्ने नारा सहित अन्तरक्रियात्मक कार्यक्रमका साथ दिवस मनाईएको हो ।

कार्यक्रमका अवसरमा बोल्दै प्रमुख अतिथि एवम् गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारीले दिवसकै लागि मात्र नभएर सिकाई प्रदान गर्ने गरी कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले नेपाली समाज अझै पनि महिलाको नेतृत्व स्वीकार गर्न तैयार नरहेकाले महिलाहरुप्रति विश्वास बढाउन यस्तो परिवेशलाई चिर्दै अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले सविंधानले व्यवस्था गरेको अधिकारलाई सदुपयोग गर्दै गाउँपालिकाका साना ठुला आयोजनामा महिलाहरुलाई नेतृत्व तहमा रहेर काम गर्न सुझाव दिनुभयो । थापाले महिलाहरुले आफ्नो स्वनिणर्य आफै गर्न नसक्ने अवस्था रहेकाले घर परिवार,समाज सबैको बोझ बोकेर हिँड्नुपर्दा काम गर्न अफ्ठ्यारो भएपनि ईच्छाशक्ति भए अवश्य सफल भईने र सामाजिक नेतृत्वमा आउने बताउनुभयो । उहाँले महिलाहरुलाई परिवारको परिचयबाट नभएर आफ्नो छुट्टै पहिचान बनाउनुपर्ने समेत बताउनुभयो ।

अध्यक्ष थापाले बडिगाड गाउँपालिकालाई महिलामैत्री पालिका बनाउँदै १ वर्षमा कम्तिमा पनि १० जना महिला उद्यमी तैयार गर्ने गरी आफुहरुले कार्यक्रम बनाएको जानकारी समेत गराउनुभयो । त्यस्तै प्राणघातक रोगहरुको निराकरणका लागि वर्षको एकपटक निशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने,सुत्केरी महिलालाई ५ हजार रुपैयाँ भत्ता उपलब्ध गराउने र स्वास्थ्य संस्थासम्म सुत्केरी हुन जाने गर्भवती आमाहरुलाई यातायात खर्च निशुल्क पाउने लगायतका कार्यक्रमहरु गाउँपालिकाले सञ्चालन गर्ने बताउनुभयो । ५ वर्षको अवधीमा महिलाले नेतृत्व गरेको नमुना बडिगाड भन्ने गरी आफुले काम गर्ने बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भिमसेन वनले बडिगाड गाउँपालिकामा वडादेखि गाउँपालिकासम्म मेलमिलाप केन्द्रको स्थापना गरी ससाना घटनाहरुको सहजीकरण गरिने बताउनुभयो । विगतमा गाउँपालिकामा मेलमिलाप केन्द्र नहुँदा विभिन्न अन्यायमा परेका पीडितहरुले बागलुङसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य गर्दै आफुहरु निर्वाचित भएपश्चात नै मेलमिलाप केन्द्रको गठन गर्ने पहिलो निणर्य गरेको समेत स्पष्ट पार्नुभयो ।

उहाँले कानुनका विषय र कार्यान्वयनका सवाल निकै जटिल रहेपनि स्थानीय सरकारले सम्बोधन गर्न सक्ने विषयहरुलाई प्रमुख प्राथमिकतामा राखेर अगाडी बढ्ने समेत बताउनुभयो । उहाँले महिला हिसां न्यूनिकरण र महिलाहरुको उत्थानका लागि नेतृत्व विकासका कार्यक्रमहरु, अन्य व्यवसायिक सीपमूलक तालिमहरु लगायतका महत्वपूणर् कार्यक्रमहरु सञ्चालन गरिने समेत बताउनुभयो ।

कार्यक्रमकी विशेष अतिथि अधिवक्ता लक्ष्मी बास्कोटाले दिवसको महत्वका बारेमा जानकारी गराउँदै २०६३ सालमा १६ गतेकै दिन तत्कालीन पुनस्थापित संसदका सदस्य, एमाले नेता तथा वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तावक र कांग्रेसका कमला पन्त र एनपी साउँद तथा जनमोर्चाका सांसद नवराज सुवेदी समर्थक रहेर संसदमा पेश गरिएको महिलाका महत्वपूणर् ४ वटा अधिकार समेटिएको ’सार्वजनिक महत्वको विशेष प्रस्ताव’ पारित भएको दिनलाई दिवसको रुपमा मनाउन थालिएको जानकारी दिनुभयो ।

उहाँले उक्त प्रस्तावमा भएका हरेक सन्तानले आमा वा बाबुको नामबाट नागरिकता लिन पाउने अधिकार, छोरासरह छोरीको पनि पैतृक सम्पत्तिमा समान अधिकार, राज्यको सबै तह र संरचनामा एक तिहाई महिलाको अनिवार्य सुनिश्चितता गराउने र महिलामाथि हुने सबै किसिमका हिंसा अन्त्यका लागि कानूनी व्यवस्था गर्ने विषयहरु समेत जानकारी गराउँदै अन्य कानुनी तथा सविंधानमा महिला अधिकारका विषयमा समेटिएका कुराहरुलाई प्रष्ट्याउनुभएको थियो ।

कार्यक्रममा बडिगाड गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख प्रकाश पौड्यालले राज्यले तोके बमोजिम महिला तथा लक्षित वर्गको क्षेत्रमा बजेट विनियोजन गरिएको बताउनभुयो । उहाँले प्रत्येक आर्थिक वर्षमा महिला बालबालिका तथा अपाङ्गता भएकाहरुको उत्थानका लागि १५ २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभयो । त्यस्तै उहाँले गरिवि निवारणका लागि लघुउद्यम कार्यक्रम सञ्चालन गरि महिलाहरुलाई विभिन्न सीपमूलक तालिमहरु तथा उद्यमी निर्माणका कार्यक्रमहरु सञ्चालन भईरहेको समेत स्पष्ट पार्नुभयो ।

महिला अधिकारकर्मी सरस्वती आचार्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा वडाध्यक्षहरु, वडासदस्य विभिन्न सघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय