मधेसमा एमाले क्रेज कि एमालेमा मधेस क्रेज ?

कुनै बेला नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई मधेसविरोधी नेता भनेर चर्का भाषण गर्ने नेताहरु अहिले धमाधम एमालेमै प्रवेश गरिरहेका छन् र भनिरहेका छन्– अब देश बनाउने पार्टी नै एमाले हो ।

मधेसविरोधीको आरोप लागेका नेता ओलीले दुईपटक प्रधानमन्त्रीकालमा तराई क्षेत्रमा विकासका योजना र उनीहरुका अधिकारलाई विशेष ध्यान दिएर आफ्नो ध्यान मधेसमा केन्द्रित गराए । अहिले ओलीले दिनहुँजसो तराईका विभिन्न क्षेत्रमा पुगेर प्रभावशाली नेता कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराइरहेका छन् ।

मधेसको पूर्वमा राजकुमार लेखी, मध्यमा प्रभु शाह, पश्चिममा हृदयेश त्रिपाठीको साथ, लोसपाका उपेन्द्र यादव र महन्थले गरेको सहयोगले तराई मधेसमा केपी ओली र एमालेलाई आकर्षण बढाएको विश्लेषकहरुको तर्क छ । मधेसमा ज–जसले आफ्नो र एमालेको विरोध गर्थे उनीहरुका विषयमा ध्यान दिएर ओलीले सम्बोधन मात्र गरेनन् राम्रै स्पेस दिएर संरक्षण गरे पार्टीमा ।

एमालेका नेताहरुको मधेस दौडाहा र मधेसवादी पृष्ठभूमि भएका नेताहरु एमालेमा प्रवेश गर्नुलाई कतिपयले मधेस र एमालेबीचको सम्बन्ध सुध्रिएको अर्थमा व्याख्या गर्न थालेका छन् । विगतमा माओवादीका कारण मधेसमा आन्दोलन चर्केको थियो । केही समय माओवादीको विरोधमै मधेसको आन्दोलन अगाडि बढ्यो । पछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले मधेस आन्दोलनका बारेमा नकारात्मक टीकाटिप्पणी गरेपछि मधेस आन्दोलन ओलीविरुद्ध केन्द्रित भयो । सोही क्रममा आन्दोलनकारीले मधेसमा एमालेलाई निषेध गरे । एमालेले सप्तरीको मलेठमा कार्यक्रम गर्दा भएको झडपमा पाँचजना युवाको ज्यान गएको थियो ।

पुस ६ गते कपिलवस्तुका पुराना प्रभावशाली नेता मंगलप्रसाद गुप्तासहित ४ हजार ५ सय जनालाई एमाले प्रवेश गराएका एमाले अध्यक्ष ओली केही दिनपछि संघीय सांसद र प्रदेश सांसदसहित त्यतिकै संख्याका नेताकार्यकर्ता एमाले प्रवेश गराउन कपिलवस्तु आउन लागेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रका प्रभावशाली वहालवाला संघीय सांसद, प्रदेश सांसद र सत्ता गठबन्धनका जिल्ला एवम् माथिल्लो तहका नेता कार्यकर्ता कपिलवस्तुमा १४ चैतमा एमाले प्रवेश गर्ने निश्चित भएको छ ।

एमाले केन्द्रीय सदस्य बलाराम अधिकारीका अनुसार संघीय सांसद बृजेशकुमार गुप्ता, प्रदेश सांसद धर्मबहादुरलाल श्रीवास्तवसहित क्षेत्र नं २ र १ बाट ५ हजारभन्दा बढी अगुवा कार्यकर्ता एमालेमा प्रवेश गर्नेछन् । यस्तै कृष्णनगरवाट वरिष्ठ समाजसेवी डा. रुद्रप्रताप शाह, शाह परिवारकै प्रभावशाली युवा कुडालप्रताप शाहसहित नेता कार्यकर्ता एमालेमा प्रवेश हुन लागेपछि यहाँको राजनीति तातेको छ ।

एमाले कपिलवस्तु जिल्ला अध्यक्ष डम्मर शर्माले राजमार्गमा मात्र एमाले छ भन्नेहरुलाई एमाले अव सुठौली बैदौली चाकडचौडा र कृष्णनगरमा पनि बलियो छ भन्ने गरी सन्देश दिन १४ चैतको पार्टी प्रवेश र जनसभा आयोजना गरिएको बताए ।

मंसिर १ गते नेपालगञ्ज, पुस ६ गते कपिलवस्तु, र २३ गते रुपन्देहीमा हजारौको संख्यामा विभिन्न पार्टी परित्याग गरी विभिन्न नेता कार्यकर्ता र निर्वाचित जनप्रतिनिधि एमालेमा प्रवेश गरेर लुम्बिनीका तराईमा आफ्नो प्रभाव देखाएका ओलीले अझै अभियान जारी राखेका छन् । केही साताअघि रुपन्देहीको दुई पालिका ओमसतिया र रोहिणी गाउँपालिका अध्यक्षउपाध्यक्षसहित माओवादी र जसपाका सिंगो कमिटी एमाले प्रवेश गरेपछि रुपन्देहीमा पनि एमालेको प्रभाव बढ्दो छ ।

पूर्वमा राजकुमार लेखीदेखि बाँकेका पशुपतिदयाल मिश्रसम्मलाई पार्टी प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओलीले दिएको महत्वले एमालेमा आमआकर्षण बढ्दो छ । यसले यो पनि प्रष्ट पारेको छ कि, तराई–मधेसका नागरिकमा एमालेले जबर्जस्त स्थान ग्रहण गर्दैछ ।

केही दिनअघि मधेस प्रदेशमा जनता समाजवादी पार्टीबाट वीरगञ्ज महानगरपालिकाको मेयरमा निर्वाचित विजय सरावगी र बारा जिल्लाको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्ताफा अन्सारी एमाले प्रवेश गरे ।

निर्वाचनका नजिक केही दलका नेता–कार्यकर्ताले पार्टी फेर्ने पुरानै परम्परा हो तर तराईमा मधेसवादी पृष्ठभूमि बनाएका नेताहरु धमाधम आफैले मधेसविरोधी भनेको दलमा प्रवेश गर्नुलाई राजनीतिक क्षेत्रमा सबैले चासोको रुपमा लिएका छन् ।

संविधान जारी भएपछि मधेस र एमालेको सम्बन्ध दिनदिनै बिग्रिँदै गइरहेको थियो । यो क्रम २०७४–०७५ सम्म चल्यो । त्यतिबेलै पनि एमालेले मधेसमा आफ्नो स्पेस बनाउन नखोजेको होइन तर सफल हुन सकिरहेको थिएन ।

केही विश्लेषकका अनुसार मधेस र एमालेबीचको सम्बन्ध नसुध्रिए पनि एमाले मधेसमा आफ्नो स्पेस बनाउन सफल भने भइरहेको तर्क गरेका छन् । विश्लेषक चन्द्रकिशोरका अनुसार अधिकार र पहिचानका लागि लडाइँ अझै जारी रहेकै अवस्थामा मधेसवादी दलमा रहेका व्यक्तिहरु संरक्षक खोज्दै अन्य ठूला दलतिर आकर्षित हुन थालेका छन् ।

काँग्रेसमा नेता धेरै भएको र मधेसमा एमाले खाली भएका कारण संरक्षण खोज्दै नेताहरु सो पार्टीमा प्रवेश गर्न थालेको उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी पार्टी नेपाल र महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालले ओली नेतृत्वको सरकारलाई समर्थन गरेसँग बिस्तारै ओलीप्रति मधेसको आक्रोश कम हुँदै गएको उनको बुझाइ छ ।

एमाले अध्यक्ष ओलीले तराईमा सीके राउतसँग ११ बुँदे सम्झौता गरेर उनलाई मूलधारको राजनीतिमा ल्याएपछि त्यहाँका नागरिकको मन जित्न सकेका हुन् भने लुम्बिनी प्रदेशमा प्रभाव बनाएका हृदयेश त्रिपाठी यसअघि नै एमालेको चुनाव चिह्न लिएर नवलपरासीबाट प्रतिनिधिसभामा विजयी भए ।

उनको समूहका अन्य केही नेताले पनि सूर्य चुनाव चिह्नबाटै जित हासिल गरे । यसले पनि एमालेको प्रभाव बढाउन सहयोग पुर्यायो । कपिलवस्तुमा चैत १४ गते प्रवेश गर्ने संघीय तथा प्रदेश सांसद तथा अधिकांश नेता कार्यकर्ताहरु उनी निकटका छन् ।

विश्लेषक टेकराज पौडेलका अनुसार गएको संघीय र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेलाई तराई–मधेसविरोधी पार्टीको रूपमा व्याख्या गर्दै तात्कालीन सत्तापक्ष नेपाली कांग्रेस र तराई–मधेसका पार्टीहरूले प्रवेशमै रोक लगाउनेसम्म काम गरे । २०७३ सालमा एमालेले सञ्चालन गरेको तराई–मधेस जागरण अभियानमा प्रदेश नम्बर दुईको सप्तरीमा तत्कालीन गृहमन्त्री विमलेन्द्र निधिको षड्यन्त्रस्वरूप प्रहरीले गोली प्रहार गरेर चारजना सर्वसाधारण नागरिकहरूको हत्या भयो ।

त्यसपछि एमालेले दुई नम्बर प्रदेशका आठ जिल्लामा उक्त अभियान स्थगित गरेर बाँकी भागमा अभियान सम्पन्न गरेको थियो । सत्तापक्षको झमेलामा परेको एमालेले करिब तीन महिनापछि भएको स्थानीय निर्वाचनमा देशभरमा एक्लै ४२ प्रतिशत जित हाँसिल गर्दा दुई नम्बर प्रदेशमा बिउ जोगाउनेबाहेक केही गर्न सकेन । त्यसको नौ महिनापछि २०७४ मंसिरमा भएको संघीय र प्रदेशसभा निर्वाचनमा भोटको हिसाबले दुई नम्बर सबैभन्दा बढी तर निर्वाचित प्रतिनिधि कम भए ।

संविधान निर्माणको बेला एमालेलाई तराई–मधेसविरोधिको रूपमा निकै प्रचार गरियो । तराईमा भारतको उक्साहटमा ठूला आन्दोलन भए । आन्दोलनलाई राज्यबाट दमन गरेर नागरिकहरूलाई मारियो । यसरी मारिएका सहिदहरूलाई ओलीले रूखबाट आँप झरेजस्तै हो भनेको भनेर अपव्याख्या गरियो ।

जनताको साङ्लो जुलुसलाई ओलीले माखे साङ्लो भनी अपमान गरेको भनियो । ओलीले मधेसीलाई अपमान गरेको भनेर संविधान नै नपढी गालीयुद्ध छेडिएको थियो । २०७४ साल असोजमा नेकपा एमाले र माओवादीबीच चुनावका लागि कार्यगत एकता भयो । तत्पश्चात् दुई नम्बर प्रदेशमा नेकपा एमाले र माओवादी तेस्रो र चौथो दल भयो । २०७४ सालको निर्वाचनमा समग्र तराईमा एमाले पहिलो दल बन्यो ।

एकबेला एमालेलाई तराईविरोधी भनेर भ्रम फिँजाइयो । जब केपी शर्मा ओली सरकारको नेतृत्वमा पुगे तब तराईको समग्र विकासमा छलाङ ल्याउने काम गरे । २०४८ सालमा कांग्रेसका नेता तथा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पहिलोपटक भारतको राजकीय भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्रीसँग ११ अर्ब रुपियाँको सहयोगमा हुलाकी राजमार्ग बनाइदिने सम्झौता गरेर फर्किए । तर सम्झौताको २७ वर्षसम्म हुलाकी सडक बनाउने कामको २० प्रतिशत पनि प्रगति भएन ।

प्रधानमन्त्री केपी शर्माले पहिलो बजेट भाषणमै हुलाकी सडकलाई पूरा गर्न एक खर्ब बजेट छुट्याए । जसकारण तराई–मधेसमा हुलाकी सडकको काम करिब ८० प्रतिशत पूरा हुने स्थितिमा पुगेको छ । हुलाकी सडक अबको एक डेढ वर्षमा पूरा हुन लागेको देखेका जनताले आखिर मधेसी जनताको वास्तविक पार्टी नेकपा एमाले हो भन्ने बुझ्न थालेका छन् ।

२०७२–०७३ को बजेटमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले तराई–मधेसका २० जिल्लाको सदरमुकाम सुधारका लागि ५०–५० करोड रुपैयाँ छुट्याए । अव्यवस्थित, साँघुरा सडक, शौचालयको सुविधा नभएको, नाली ढल निकास नभएको, बिजुली, टेलिफोन र बगैंचाहरू नभएको कारण कुरूप र विस्थापनमा पर्ने अवस्थामा पुगेका सुन्दर हुन थालेका छन् । त्यसपछि यहाँका नागरिकले आफ्नो पार्टी एमाले नै भएको बुझ्न थालेका छन् ।

तराईका छ जिल्लाको करिब एक लाख ८० हजार हेक्टर खेतमा सिँचाइ र ७४ मेगावाट बिजुली निकाल्ने गरी प्रदेश नम्बर दुईको ६ जिल्लाका लागि पौने दुई खर्बको सुनकोशी–मरिन ड्राइभर्सन परियोजना शिलान्यास गरे, ओलीले । ०७८–०७९ को बजेटमा करिब ३० अर्ब बजेट छुट्याइएको कारण अबको पाँच वर्षपछि तराईका ६ जिल्लामा सिँचाईका कारण उत्पादन बढ्ने निश्चित छ ।

त्यस्तै बिजुली पनि थपिने छ । यसपछि यहाँका नागरिकको पहिलो रोजाइमा एमाले नै पर्न थालेको हो । भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपालको भू–भाग डुबानमा पार्ने र नेपालीहरूलाई बिल्लीबाठ बनाउने गरेको विगत प्रष्ट नै छ । नेपालका सरकारले भारत सरकारसमक्ष खुलेर आफ्ना समस्या राख्न सक्दैनथे । जब केपी ओलीले पहिलो र दोस्रो प्रधानमन्त्रीत्व कालमा समस्या हल गर्न जुन प्रयास गरे, त्यो सार्थक भएको छ । तीन वर्षयता डुवान समस्या कम भएको छ । जसकारण पनि मधेसका नागरिकको रोजाइमा एमाले पर्न थालेको छ ।

संविधान निर्माणका बेला एमाले अध्यक्ष ओलीमाथि अनेकखाले टिप्पणी भए । ओली संविधानमा अंगीकृत नेपालीलाई भन्दा रैथाने नेपाली मधेसी समुदायका लागि लडेका हुन् भन्ने कुरा सुरुमा बुझ्न दिइएन् । जब अंगीकृतहरूका लागि नेपाली कांग्रेस, माओवादी र मधेसवादी दलहरू लडेका हुन् भन्ने राम्रोसँग बुझेपछि तराई–मधेसका नागरिकमा विगतको आफ्नो रोजाइ अन्य पार्टी भएप्रति पछुताए । र, एमालेको पक्षमा लागे ।

मधेसमा महिलामाथि चर्को विभेद छ । जात, धर्म र संस्कृतिको नाममा गरिने विभेद अनि दहेज र अन्य कारणबाट महिला उत्पीडनमा परेका छन् । यहाँ सामाजिक कुरीति पनि धेरै थियो ।

बाहिरबाट मागी ल्याएको बुहारीलाई सकेसम्म विवाह दर्ता र नागरिकता नबनाइदिने र उस्तै परे लखेटेर छोड्ने नियति भोग्न बाध्य थिए यहाँका महिला । विवाह दर्ता नभएका बुहारीहरू घर न घाटका हुने गरेका थिए ।

गएको वर्षदेखि नेकपाको सरकारले जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकाका लागि मासिक ५ सय १६ रुपैयाँका दरले भत्ता दिन सुरु गर्यो । बुहारीको नागरिकता बनेपछि मात्र बच्चाको जन्मदर्ता हुने नियम भएकोले अब पैसाको लोभमा बुहारीको नागरिकता बन्न सुरु भएको छ । आजभोलि हरेक दिन करिब चार सयदेखि ६ सय बुहारीको नागरिकता बनिरहेको छ ।

एकातिर सत्ता गठबन्धनबाट चुनाव लड्दा टिकट पाइने संभावना कम देख्नु अर्कोतर्फ एमाले कमजोर रहेको ठाउँमा टिकट पाउने संभावना बढी भएकोले पनि जनाधार भएका नेताहरूको लागि एमाले रोजाइमा परेको प्रष्ट देख्न सकिन्छ । अहिलेको पार्टी फेरबदलले एमाले बलियो भएको हो वा तराईका नेताहरु टिकटमुखी भएका हुन् निर्वाचनको परिणामले पुष्टाउने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय