मुसिकोट, गुल्मी
गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ७ वामीटक्सारमा शनिबार मुसिकोट कला केन्द्रको उद्घाटन भएको छ । गत माघ ८ गते अनौपचारिक रुपमा स्थापना भएको कला केन्द्रको शनिबार विधिवत् रुपमा उद्घाटन गरिएको केन्द्रका सन्चालक लक्ष्मण भण्डारीले जानकारी दिनुभयो ।
शनिबार कला केन्द्रको उद्घाटन गर्दै कार्यक्रमको प्रमुख अतिथिसमेत रहनुभएका मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवलाल खरेल जीवनले शुभकामना व्यक्त गर्दै मुसिकोटमा नृत्य क्षेत्रमा सफलता मिलोस भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । सोही प्रसङ्गमा उहाँले मुसिकोट नगरपालिकामा आगामी आर्थिक वर्षदेखि थप एकजना नृत्य शिक्षक नियुक्ति गर्ने योजना बनाएको बताउनुभयो ।
उहाँले नृत्य क्षेत्रमा अब्बल भएका प्रख्यात व्याक्तिहरुको परिचय सुनाउँदै नाम र दाम दुबै कमाएका र यस कला केन्द्रले पनि त्यो स्थान प्राप्त गरोस भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । कला केन्द्रका सन्चालक लक्ष्मण भण्डारी मुसिकोट नगरपालिकाको नृत्य शिक्षक भएकोले कला केन्द्रलाई सङ्गित उद्योगको रुपमा विकास गर्ने गरी अगाडि बढ्न उहाँले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख गङ्गा श्रेष्ठ, नगर प्रवक्ता एवम वडानम्बर ७ का वडाध्यक्ष हरिहर सापकोटा, नेपाल शिक्षक महासङ्घ मुसिकोटका अध्यक्ष एवम महेन्द्र आदर्श नमुना माविका प्रधानाध्यापक देवीराम शर्मा, शिक्षक महासङ्घ गुल्मीका पुर्व सचिव एवम युनिक खबर डटकमका प्रधान सम्पादक रामकृष्ण कंडेल लगायतले कार्यक्रमको र कलाकेन्द्रको सफलताको लागि शुभकामना दिनुभएको थियो ।
रुद्रावती बहुमुखी क्याम्पसकी प्राध्यापक एवम महेन्द्र आदर्श नमुना माविकी शिक्षक समिक्षा आचार्य, होटल व्यवसायी मुसिकोटका सचिव अनुप पाण्डे, परोपकार बहुउद्देश्यीय शहकारी संस्थाका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद सापकोटा, हाम्रो पुस्तकालय मुसिकोटका संस्थापक रामचन्द्र श्रेष्ठ, समाजसेवी कर्ण बहादुर थापा, नगर खेलकुद विकास समिति मुसिकोटका अध्यक्ष सन्दिप खत्री, त्रिभुवन माविका प्रधानाध्यापक जीत बहादुर रायमाझी, सामुदायिक रेडियो पुष्पाञ्जलि एफएमका स्टेशन म्यानेजर प्रकाश घिमिरे, जिटिभि नेपालका अध्यक्ष दिपक नेपाली लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नृत्य सिकिरहेका शिक्षार्थीहरुले कार्यक्रममा फरक फरक नृत्यको स्वाद दिलाएका थिए । कलाकेन्द्रमा हाल ५५ देखि ६० जनाले दैनिकरुपमा नृत्य सिकिरहेका छन ।
गङ्गा प्राविका प्रधानाध्यापक कौरव खत्रीको स्वागत मन्तव्य रहेको कार्यक्रममा महेन्द्र आदर्श माविका शिक्षक विष्णुप्रसाद आचार्यको सन्चालन रहेको कार्यक्रमको अध्यक्षता कला केन्द्रका सन्चालक लक्ष्मण भन्डारीको रहेको थियो । कार्यक्रममा सिकारु र सिकारुका अभिभावकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।


