बैकुण्ठबहादुर चन्दको यात्रा बैकुण्ठ धाम

छन्दबहादुर पहराई मगर

मृत्यु एक मात्र सत्य नभएर अन्तिम अधिकार पनि हो । जन्म मानिसको संयोग हो किनकी कुनै पनि मानिस चाहेर जन्म लिन सक्दैन तर कसै–कसैको लागि मरणमा इच्छा मरण पनि हुन सक्छ जीवनको निश्चित दुरी पार गरे पछि मानिस यो संसार वा भवसागरबाट अनिवार्य विदा लिएर जान्छ । हाम्रो आध्यात्मिक दर्शन अनुसार पाप र धर्म सबैले साथमा लिएर यस धर्तीबाट अर्को संसारमा विलय हुन्छन् । अठार पुराणको सार भनेको ‘परोपकार पुण्डाय पापाय परपीडनम’ हो । धर्म गर्ने स्वर्ग जान्छ पाप गर्ने नरक जान्छ भन्ने पुराणको मान्यता छ । अचम्म के हो भन्ने बारेमा महाभारतमा वर्णन गरिए अनुसार हरेक मान्छेले आफु जस्तै मान्छे आफ्नो अगाडि मृत्युवरण गरेको देखेर पनि आफु एक दिन यसैगरी मर्ने कुरा भुसुक्कै बिर्से जस्तो गरी पिर, चिन्ता र तनाव लिने गर्छन् । सायद यस्तै भएर होला मलाई पनि अचम्मले छोडन सकिरहेको छैन् ।

मानिसहरु मरेको सुन्दा कता कता नमिठो महसुस हुन्छ । सायद राजनैतिक कर्मी भएको नाताले होला राजनैतिक कर्मीहरुको मरणले अझ बढी मन दुखदायी स्पर्श हुन्छ । लामो समयसम्म विद्यार्थी कालदेखि नै गुल्मी जिल्लामा राजनीति गरेको भएर पनि होला विशेषगरी जिल्लावासी राजनीतिक कर्मीहरु मरेको सुन्दा कता–कता दुख लागेर आए जस्तो वा केही गुमाए जस्तो केही कुराको अभाव खड्के जस्तो महशुस भैरहन्छ । राजनीति भनेको समाजसेवा हो । राजनीति गर्नेहरुको जीवन पनि निकै जोखिम र अपुरो हुन्छ किनकी सबै राजनीति गर्नेहरुले कमाएका हुन्छन् भन्ने निश्चित हुँदैन । आफ्नो पुरा जीवन समाजलाई अर्पण गरेर लागेकाहरुको मरण हुँदा अलि धेरै मलामीहरु बाहेक अरु थोक केही नहुदो रहेछ ।

२०७७ सालको तिहारको सेरोफेरोमा मैले नजिकबाट चिनेका केही राजनैतिककर्मीहरुको मृत्यु हुन गयो । करिब एक हप्ताको सेरोफेरोमा नेपाली काँग्रेसको सहयोध्दा साथी मदाने गाउँपालिका निवासी सिर्सेनिका सभापति डिलहरी सेन,धुर्कोट गाउँपालिका नयाँ गाउँ निवासी नेकपाका कुशल नेता बोमबहादुर खड्का र मदाने गाउँपालिका अग्लुङ निवासी बैकुण्ठबहादुर चन्दहरुको मृत्य भयो । उहाँहरुको मृत्युले पुनः एकपटक यसभन्दा अगाडि मृत्यवरण गरिसक्नु भएकाहरुलाई सम्झन बाध्य गरायो ।

नेपाली काँग्रेसबाट २०४८ सालमा निर्वाचित पूर्व सांसद रुद्रमणि भण्डारी, तत्कालीन नेकपा एमालेका गुल्मीका अध्यक्ष टोमलाल पाण्डे, वरिष्ठ राजनीतिज्ञ प्रेमनाथ अर्याल, नेपाली काँग्रेसका नेता पदमपाणी पन्थी, २०४८ सालमा निर्वाचित पुर्व सांसद भागवत ज्ञवाली, नेकपा एमालेबाट निर्वाचित पूर्वजिल्ला विकास समितिका सभापति कौशल पोखरेल,नेपाली काँग्रेसका नेता फणिन्द्र भण्डारी र हरि न्यौपाने लगायतहरुलाई फरक–फरक तरिकाले मनमा स्मरण गर्दै उहाँहरु प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दछु ।

गुल्मी जिल्ला मदाने गाउँपालिका अग्लुङ निवासी पुर्व जिल्ला पञ्चायतका सभापति तथा राष्ट्रिय पञ्चायतका पुर्व माननीय बैकुण्ठबहादुर चन्दको मृत्यु एक कदम अन्य नेताहरुको भन्दा फरक रहन गएको महशुस गरेको छु । फरक यस मानेमा रहन गयो कि जीवित रहुन्जेल बैकुण्ठबहादुर चन्दलाई कसैले खोजेनन् तर उहाँको मृत्युको खबरले एकाएक सामाजिक सञ्जाल चारैतिर ततायो र छायो पनि । सबै राजनैतिक दलका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा एकै चोटी हार्दिक श्रद्धाञ्जली प्रकट मात्र गरेनन् हार्दिक श्रद्धा सुमन र उच्च सम्मान पनि प्रकट समेत गरे । आम गुल्मेली जनताले उहाँको बैकुण्ठ बाँसको कामना गरे । प्राय सबैको सामाजिक सञ्जालमा दुखेसो यो रहन गयो कि जीवित रहुञ्जेल बैकुण्ठ बहादुर चन्दलाई कसैले पनि वा राज्य पक्षले उचित मूल्यांकन गरेन । सवाल यो पनि हो कि बैकुण्ठ बहादुर चन्द जीवित रहुञ्जेल उहाँको मूल्यांकन हुन पर्छ भनेर सामाजिक सञ्जालमा कसैले पनि भनेन् । तर मृत्य पछि भने सबैले एकसाथ दुखेसो कहे ।


बैकुण्ठबहादुर चन्द

भानुभक्तले रामायण लेख्ने प्रेरणा घाँसीबाट पाएको हुनाले घाँसीको सम्झनामा उनले कविता लेखे । जन्म भर घाँस तिर मन दिई धन कमायो, नाम केहि पछि रहोस् भनेर कुवा खनायो । मान्छे मरेर गए पनि उसलाई जनताको मनमा जीवित राख्ने स्वयंले गरेको कृति हो । म धरानबाट धनकुटा तिर जाँदा पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाको बाटो भनी स्मरण गरेको सुने र दाङबाट सल्यान रुकुमतिर जाँदा पुर्व प्रधानमन्त्री मरिचमान श्रेष्ठको बाटो भनेर गाडीमा यात्रुहरुले स्मरण गरेको सुनेको छु । हामी गुल्मेलीहरुले पनि जब पाल्पाबाट रिडी तम्घासतिर लागिन्छ तब बैकुण्ठको बाटो भन्न थाल्छम् ।

गुल्मी जिल्लाको सबै भन्दा टाढा दुर्गम अग्लुङमा जन्मेर पनि राजनीति तथा समाजसेवा गरेर २०२६ सालमा आफुलाई गुल्मीमा जिल्ला पञ्चायतको सभापति तथा पटकपटक राष्ट्रिय पञ्चायतको माननीय जस्तो गरिमामय पदमा पुगेर गुल्मीको राजनीतिक केन्द्र बिन्दुमा बैकुण्ठबहादुर चन्दले आफुलाई उभियाउन सफल भए । जिल्ला पञ्चायतको सभापतिमा विजय भई सके पछि तम्घास महेन्द्र उच्चमाविको प्रांगणमा भाषण गर्दा पाल्पाबाट तम्घास मोटरबाटो लिएर गुल्मेली जनतालाई नुनको भारी बोक्न नपर्ने गराउने छु भनेर घोषणा गरेको सुन्ने रेसुंगा बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शशी पन्थी ज्यूले बताउनुहुन्छ । गुल्मीबाट बुटवलदेखि नुन बोकेर घरमा आइपुग्न दश बाह्र दिनको समय लाने अवस्थामा गुल्मीको सदरमुकाम तम्घासमा मोटरबाटो ल्याउने प्रतिवद्धता जनताको सामु वैकुण्ठबहादुर चन्दले २०२६ सालमा गर्नु कम चुनौतीपूर्ण थिएन । हुनत २०११ सालदेखि नै अर्घाखाँचीको पत्थरकोटबाट तम्घासमा गाडीको बाटो खन्ने प्रयास चले पनि त्यो अपुरो नै रहन गयो ।

स्वर्गीय वैकुण्ठबहादुर चन्दको निरन्तर प्रयासले गुल्मीका आम जनतालाई साथमा लिएर पाल्पाबाट रिडी हुँदै तम्घास मोटरबाटो खन्ने काम निरन्तर रहन गयो । पाल्पाबाट गुल्मीको लागि मोटरबाटो अगाडि बढाउने क्रममा तत्कालीन अवस्थामा थुप्रै चुनौती नआएका होइनन तर एउटा साहसी, विकास प्रेमी नेताको प्रयासले नेतृत्व गरेको कारण २०३८ सालमा रिडीमा ट्याक्टर उद्घाटन भयो भने उनै गुल्मेलीका ढुकढुकी स्वर्गीय वैकुण्ठबहादुर चन्दको अगुवाइमा २०३९ साल वैशाख महिनातिर गुल्मीको सदरमुकाम तम्घासमा पहिलो पटक ट्याक्टर उद्घाटन भएरै छोड्यो ।

बैकुण्ठबहादुरको यात्रा वैकुण्ठ बाँसमा स् गुल्मी जिल्लाको दुर्गम अग्लुङमा जन्मेका बैकुण्ठबहादुर चन्द पञ्चायती व्यवस्थाका असल हिमायती हुनुहुन्थ्यो । ३० वर्षे पञ्चायती व्यवस्थालाई फ्याकेर नेपाली जनताको जनान्दोलनबाट २०४६ सालमा बहुदलीय व्यवस्था आयो भने २०६२र६३ को अर्को जनान्दोलनको बलमा २५० वर्षे राजतन्त्र पनि समाप्त भयो । अहिले नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ । व्यवस्था जस्तोसुकै सुकै भए पनि व्यक्ति असल भयो भने जनताको मनमा जो कोही पनि सधैभरी अटाउन सक्छ भन्ने दरिलो प्रमाण हो स्वर्गीय बैकुण्ठबहादुर चन्द ।

गुल्मेली जनता निरंकुश पञ्चायती व्यवस्था विरोधी हुन तर विकास प्रेमी नेता वैकुण्ठबहादुर चन्द विरोधी होइनन् भन्ने प्रमाण अहिले उहाँको निधन पछि प्राप्त प्रमाण भएको छ । वैकुण्ठबहादुर चन्दको निधन पछि अहिले सामाजिक सञ्जालमा पाल्पाबाट रिडी तम्घास मोटरबाटोको नामकरण बैकुण्ठ मार्ग राख्नु पर्छ भन्ने आवाज पनि उठिरहेको छ । यो कुरा भविष्यले निर्धारण गर्ने नै छ तर बाटोको नाम बैकुण्ठ मार्ग होला वा नहोला तर आम गुल्मेली जनताको मनमा पाल्पा, रिडी –तम्घास मोटरबाटो बैकुण्ठ मार्ग रहिसकेको छ । जनता भनेका जनार्दन हुन भने जनार्दन भनेका भगवान हुन । भगवानको निवासलाई वैकुण्ठधाम भनिन्छ त्यसैले वैकुण्ठबहादुर चन्द जस्तो मृदुभाषी, स्मरण शक्ति भएको, सरल स्वभावको, सबैसँग हातेमालो गर्न रुचाउने नेताको निधन पश्चात उहाँको यात्रा नरक तिर होइन स्वर्गको पनि वैकुण्ठ बाँसतिर भएको छ । उहाँप्रति बैकुण्ठ बाँसको कामना सहित भावपूर्ण श्रद्धाञ्जली छ ।

लेखक नेपाली काँग्रेसका केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका सदस्य समेत हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर