छोरी मान्छेलाई किन यति गाह्रो ?’

हुन त सरलालाई उसको पतिको देहान्तलगत्तै समाजको हेर्ने दृष्टिकोण फरक भैसकेको थियो। उसको हरेक पाइलाहरू गन्थे मान्छेहरू। खास गरेर आफ्नै आफन्तहरू- कहाँ गई? के खाई? हरेक समय चियो चर्चा गर्ने त्यो समाजले अब उसको भविष्य के त भनेर सोच्दैनन्।

उमेर पनि नपुग्दै आमा-बाबाले राम्रो खानदानबाट आएको सम्बन्ध छोड्नै हुन्न भनेर गरेको विवाह ३ वर्ष पनि नपुग्दै सकियो। ऊ एक्लै भई। ऊ डढेँलो लागिसकेपछिको जंगलजस्ती उराठ र उजाड भएकी छे। ४/५ महिना त उसलाई घर बाहिर पनि देखिएन। हामी कसैले पनि उसको खुट्टामा ऊभिएर हेर्न सक्दैनौँ किनकि चोट लाग्नेलाई मात्र थाहा हुन्छ कति दुख्छ भनेर, अरुले बस् कल्पना गर्ने हो यस्तो होला भनेर।

यदि यही ठाउँमा ऊ नभएर उसको पति भएको भए त्यो समाज अनि घर-परिवारले अर्को बिहेको सुझाव दिइसक्थे। तर यही त उसको कसैलाई पर्वाह छैन। बस् कहाँ गएर यसले नराम्रो पाइला चाल्छे र फैलाउँदै हिडौँ भन्नेहरू मात्रै छन्।

भन्नेहरू त पोई खाई कस्ती अलच्छिनी पनि भन्दै हिँडेका छन्। तर कोही पनि उसलाई कस्तो छ? कसरी जीवन बिताइरहेकी छे? सोध्दैनन्। एउटा ढुंगामा अबिर छर्किदियो भने देउता सम्झेर पूज्ने हाम्रो समाज। त्यही समाजअगाडि घटिरहेका दर्दनाक दृष्यहरूलाई खुलेरै बेवास्ता गरिदिन्छन्। त्यही एउटा दर्दनाककी पात्र सरलालाई पनि समाजले उनीहरूको परिकल्पना भित्रकी पात्र बनाइरहेका छन्।

यी-यस्तै कारणले गर्दा पनि ऊ केही समय त डिप्रेसनको शिकार हुन पुगी। कोहीसँग बोल्दिन सरला। कहिले-कहिले म उसको घर जान्छु। भन्छे, ‘यदि तँ पनि नभएको भए म त मरिसक्थेँ होला। कस्ती अभागी रैछु म है? कति माया गर्ने श्रीमान पाएकी थिएँ। संसारकै खुसी पाएजस्तो लाग्थ्यो। बाटामा दुईजना हिँड्दा तिमीहरूको जोडी कति लोभ लाग्दो छ भन्नेहरूनै नदेखेझैँ गर्छन्। कोही जोडी हिँड्दा म त बाटैमा टोलाउँदी रहेछु।’

यस्तै यस्तै भनिरहन्छे ऊ, बस् सुनिरहन्छु म। खै! के भनेर सान्त्वना दिनु उसलाई। बस् भगवानसँग प्रार्थना गर्छु, सरलालाई जस्तो अरु कसैलाई नपोरोस्। अरु कुनै नारी यसरी रुनु नपरोस्। तर यो हाम्रो हातमा कहाँ छ र? हुने कुरा भएरै छोड्छ।

यो कठिन परिस्थितिमा झमेलिएको पनि लगभग तीन वर्ष भएछ सरलाको। पहिले ऊ १२ पढ्दा रमेश भन्ने हाम्रै कक्षाको केटाले खुबै मन पराउथ्यो तर सरलाको विवाह चाँडै भएको भएर उसले मनको कुरा भन्ने मौका समेत पाएन।

अस्ती चौतारीमा भेटेको बेला भन्दै थियो, ऊ त अझै सरलालाई उत्तिकै माया गर्छ, बिहे गर्न तयार छ। ‘सरलालाई भेटाइदेऊ न, उसको फोन देऊ न’ भनेको थियो। त्यही दिन मैले उसको फोन नम्बर त दिएँ, त्यसपछि के भयो मलाई थाहा थिएन।

करिब छ महिनापछि होला सायद, बेलुका सूर्य अस्ताउनुभन्दा अगाडि देखिने त्यो पहेलो टल्किएको घाम हेरेर, हातमा किताब लिएर घरको छतमा बसिरहेकी थिएँ। छेउमा भएको फोन बज्यो, फोन सरलाकै थियो।

भन्दै थिई ऊ पनि रमेशलाई माया गर्न थाली रे, ‘अब पुरानो कुरा बिर्सिन भए पनि म नयाँ संसार बसाउन चाहान्छु। ममीलाई त भनेकी छु, खुसी हुनुहुन्छ ममी तर यो समाजले के भन्ला? रमेश कुमार केटो, म विधवालाई भित्र्याउन देला त यो समाजले? अनि उसको घरले मलाई त एकदमै डर लागेको छ।’ म धरै खुसी भएको कुरा उसलाई सुनाएँ।

कति फरक पाएँ छ महिना अगाडिकी सरला र आज बोलिरहेकी सरलाबीच। साँच्चै खुसी थिई ऊ। हुन पनि होनि, परेपछि हामीजस्तो परिस्थितिसँग पनि जुधेर जीवन अगाडि त बढाउनै पर्यो। त्यही त हो नि जिन्दगी, हैन र? सुख-दुःखको संगालो।

यस्तै सामान्य कुरामै गफगाफ सक्कायौँ। करिब एक महिनापछि भेट्न गएँ सरलालाई। ऊ त फेरि त्यही दुखी सरला थिई। रमेशको घरबाट त धम्की पो आएछ उसलाई। भित्राउनु त परै जाओस्, रमेशलाई पनि ‘त्यो विधवा ल्याइस् भने तँ हाम्रो लागि मरिस्, तेरो किरिया गर्छौं, तँलाई जस्तो भन्यो त्यस्तै केटीका लाइन छन्। अरू कोही नपाएर त्यही भेटिस्’ भनेछन्।

रमेश भने सरलासँग मात्रै बिहे गर्ने भनेर ढिपी गरिरहेको रहेछ। डाँको छोडेर रोई मेरो काँधमा सरला। ममी पनि आउनु भयो। ‘कति पापी समाज छ नि आन्टी, सरलाको ठाउँमा अरु कोही केटा भएको भए रोजी रोजी कन्या केटी पन्चे बाजा बजाएर यो समाजले, यो दुनियाँले सहर्ष भित्र्याउथ्यो तर छोरी मान्छेलाई किन यति गाह्रो?’

पिलपिल गरेर रुनु हुँदै थियो। आफूले सानै उमेरमा राम्रो घर भनेर बिहे गरिदिएकोमा पछुताउँदै हुनुहुन्थ्यो आन्टी। तर त्यो गैसकेको र बितिसकेको कुरा कोट्याएर त काटेको घाउमा खुर्सानी छर्कनुजस्तो मात्रै थियो।

आज अर्को दुई वर्ष भएछ सरला र रमेश यो समाज र घरबाट पन्छिएर लुकीछिपी विवाह गरेको। सानी छोरी पनि छिन्। समीरा नाम राखेका छन्, दुवैको नाम मिलाएर राखेको रे। तर त्यो नातिनीले अहिलेसम्म घरका अरु सदस्य देखेकी छैन। रमेशको घरकाले त किरिया नै गरे अरे छोराको। तैपनि सरलाहरू असाध्यै खुसी छन्।

सरलाको त कुरै नगरौँ, यो समाज अनि घर-परिवारको बावजुत पनि उसलाई नयाँ जीवन दिने अनि असाध्यै माया गर्ने श्रीमान पाएकोमा रमेशप्रति गर्व लाग्छ भन्छे। समाजमा रमेशजस्तै अरु रमेशहरू भए यो समाजमा नारीलाई हेरिने दृष्टिकोण कति बदलिन्थ्यो होला है?

साँच्चै परिवर्तन हुने थियो। तर सबै कुरा सोचेजस्तो कहाँ हुन्छ र? जमाना बदलियो, मान्छेले लाउने पहिरन, रहनसहन हरेक कुरा बदलियो तर मान्छेले नारीलाई हेर्ने र गर्ने व्यवहारमा भने रति पनि फेरिएन। मुखले त बोल्छन् मान्छेहरू। विभिन्न संघ-संस्थाहरू पनि नारीहरूको हितको लागी नारा जुलुस लगाएको नदेखेको त हैन। तर घरभित्र तिनै कुराहरू दोहोरिरहेका छन् जुन हामीले सोचेभन्दा धेरै पर छन्। दुःखको कुरा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय