सुषमा मानन्धर – (लघु कथा)
लेखकहरुलाई आफूले केही लेख्न पाएको हुन्न अरुलाई सुनाउन हतार भैहाल्छ । उसले पनि हालै एउटा कथा लेख्न सकाएर साहित्यप्रति केही अभिरुचि राख्ने साथीलाई भेट्न गएको छ ।
‘ल भन्नुस् । धेरै समयदेखि भेट्न खोज्नु भएको थियो । के काम पर्यो त्यस्तो?’ साथीले उसलाई देखेर स्वागत गर्यो ।
‘एउटा ताजा रचना तयार छ । तपाईलाई सुनाउँ कि भनेर ।’ उसले ब्याग खोल्न पाएको थिएन उसको साथी आत्तिइहाल्यो । ‘ओहो अहिले नगरौं । म त भ्याउँदै भ्याउँदिन आज ।’
‘तपाईँले अहिले फुस्रद छ भनेर बोलाउनु भएको हैन र’ ऊ साथीको पारामा छक्कै पर्यो ।
‘हुन त हो तर झटटै दिमागमा अर्को कामको सम्झना आईहाल्यो ।’ साथी चैंले पन्छिन मजाले ढाँट्न खोज्यो ।
‘धेरैबेर लाग्दैन । सस्रती सुनाएर तपाईँको राय लिएर म हिँडि पनि हाल्छु ।’ उसले पनि आफ्नो अस्त्र छाड्न बाँकी राखेन ।
‘तपाईँले लेख्नु भएको नराम्रो कहाँ हुन्छ र तर यस्तो टाउको दुखेको बेला तपाईँले सुनाउन खोज्नु भए पनि दिमागभित्र केही छिर्ला जस्तो लागेन । पछि कुनै दिन बसौं हुन्न र?’
‘तपाईँले सुन्नुहुन्छ भनी कत्रो आश लिएर आएको थिएँ ।’ ऊ अलि निराश देखियो ।
‘कति पेजको छ मलाई त दश मिनेटमा एकठाउँमा नपुगी हुन्न ।’ साथीले अन्तसम्म पनि अझै पन्छिने बाटो खोज्दै थियो ।
‘जम्मा एक पेजको लघुकथा हो ।’
‘एअघि नै भन्नुपर्दैन त त्यसोभए ठीक छ । म त तपाईँले लामो कथा सुनाउँदा सुनाउँदै बुढो हुन्छु कि भनी डराएर पो । हाम्रो चिया आउन्जेलसम्ममा तपाईँको कथा वाचन सकिन्छ पनि होलालौ थाल्नुस् ।’ साथी अहिले आश्वस्त र सहज देखियो ।
समय अभावका कारण ब्यस्ततामा बाँचिरहेका मान्छेहरुवीच लघुकथाले समेत आफूलाई जीवित राख्न कति संघर्ष गर्नुपर्ने रैछ ।