✍️समुन्द्र अर्याल
मीठो खाऊ ,राम्रो लाऊ ,उ जस्तै राम्रो बनु भन्ने सबैको धारणा हुन्छ ।त्यो स्वभाविक पनि हो ।तर सबैलाइ सबै कुराको परिपुर्ति हुदैन ।सबैले सबै चाहेका कुरा पूरा गर्न सक्दैनन् ।होलान् केही मात्रामा पूरा गर्ने पनि ।म को हो ?मेरो हैसियत के हो ?भन्ने कुरा विभिन्न समयमा परिने परिस्थितिले पनि झक्झकाउछ ।
बजारमा राखिने विभिन्न मुल्यका विभिन्न सामग्रीहरू छन् ।जस्ले वर्ग छुट्याउनमा मद्दत गर्छ ।बस्तु उहीँ किसिमको हो ,काम उही किसिमको गर्छ ।
तर मूल्य उहिँ किसिमको छैन ।समाजमा हुने एउटा धनाड्य वर्ग ,अर्को निम्न वर्ग लाई भनेर दुई थरिका सामग्री ल्याइएका हुन्छन् ।निम्न वर्गले नबुझ्ने हैन ,उसले बुझेको हुन्छ ।समान एउटै भएपनि यो भन्दा यो धेरै राम्रो छ ।तर उसको हैसियतले त्यो वस्तुको गुणस्तरलाई नजरअन्दाज गर्न बाध्य बनाउछ ।
जब केही बस्तु किन्न पसल छिरिन्छ ,पसलेले समान देखाउदै भन्छ “धेरै राम्रो अाएको छ अहिले यस्तो उस्तो भन्छ “अोल्ट्याइ पल्टाइ केही बेर हेरिसकेपछि राम्रो पनि लाग्छ तर मनमनै सोचिरा हुन्छु ,”पैसा कति भन्ने हो ,महङ्गो भन्छ कि ?समान त राम्रो रैछ “। यावत यावत कुराहरू मनमा खेलिरहेका हुन्छन् ।केही समय हेरिसकेपछि मूल्य सोधिन्छ,”साहुजी अनि यसको मूल्य कति होनी ?”
पसलेले भन्छ, “मूल्य त यति हो तपाईं लाई यतिमा मिलाउला नि ” उसले मिलाएको मूल्य र मेरो गोजिको मुल्य बिच धेरै अन्तर थियो । म पछि हट्छु ,”भो अरू छैनन् अलि मिलाएर दिन मिल्ने खाले ” मेरो अनुहारमा अाशा प्रष्टै झल्किन्थ्यो ।उसले फेरि अर्को निकाल्छ र देखाउछ ।
म हेर्छु तर त्यति मन पर्दैन ।फेरि निर्णय मुल्यमै अड्किन्छ ।मूल्य सोधिन्छ ,उसले फेरि भन्छ, “मूल्य त यति हो तपाईं लाई यतिमा मिलाउला नि ” उ सँग धेरै बेर अानाकानी गरिसकेपछि एउटा बिन्दुमा पुगेर समान खरिदिन्छ ।तर मनमनै सोचिरा हुन्छु ,”समान राम्रो थियो तर गोजी हलुका हुनाले पछि हट्नु पर्यो ।”
त्यो त एउटा उदाहरण थियो ।अरू विविध उदाहरणहरू पनि छन ।जब होटलमा पसिन्छ ,तब मेनुमा एकातिर खानाका परिकार र अर्को तिर मूल्य लेखिएको हुन्छ ।हाम्रो ध्यान खानाका परिकारमा नगएर मुल्यमा जान्छ ।
जहाँ सबै भन्दा कम मूल्य देखिन्छ अाँखा त्यही अडिक हुन्छन् ।जहाँ गुणस्तरीय वस्तुलाई मान्यता दिनुपर्ने कुराहरू यत्रतत्र गरिएका हुन्छन् ।त्यहाँ हामीले महत्व मुल्यलाई नै दिइरहेका थियौ ।त्यो हाम्रो रहर हैन, बाध्यता थियो ।हरेक कुरामा मुल्यांकन गरिन्छ ।हर क्षेत्रमा हैसियत हेरिन्छ ।पक्षपात गरिन्छ ,शिर निहुराइन्छ ।तर हरेक कुरालाई सहन सक्ने पत्थर मन बनाउनु बाहेक अर्को विकल्प रहन्न ।
मध्यम वर्गीय /निम्न वर्गीय परिवारमा जन्मिएको सन्तान जिन्दगीका हरेक पाइला पाइला मा सम्झौता गरेर हिडिरहेका हुन्छन् ।समाजमा व्याप्त वर्गिय दृष्टिकोणले उ बारम्बार सिकार भैरहेको हुन्छ ।हैसियत कै कारणले धेरै मान्छेसँग बिछोडिन पुग्छ ।
केही उदुम गर्न चाहान्छ ,अाफ्नो हैसियत बनाउन चाहान्छ ।ताकि अाफ्नो हैसियतले अाफुले चालेका पाइलाहरूलाई पछाडि सार्न नपरोस् ।यो यात्रामा कोही सफल रहन्छ, कोही उहीँ अवस्था मै ।