जीवलाल चालिसे,कावासोती १६ नवलपुर

अहिले कम्युनिस्टहरु सिसा फुटेजस्तै फुटेको अवस्था नेपाली कांग्रेसको लागि सरकारमा जाने अवसर बन्यो।

अधिवक्ता दिपक भट्टराइ दाइ भन्नु हुन्थयो एमाले हरु कि त काएमाले हुन्छन् कि त माएमाले अर्थात कि कङ्रेस निकट कि माओवादि निकट्।

सबैभन्दा ठुलो पार्टी र सङगठन हुदाहुदै पनि पार्टीभित्रै सत्तापक्ष र प्रतिपक्ष हुदा त्यसको सोझो फाइदा नेपाली काङ्रेसलाइ भयो र फलस्वरुप शेरबहादुर देउवालाइ प्रधानमन्त्री हुने अवसर जुट्यो। विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययनको क्रममा धेरैजना नेबिसंघ र अनेरासववियुका विद्यार्थी नेता साथीहरुसँग नजिकबाट संगत गर्ने अवसर मिल्यो।

तत्कालीन समयमै विद्यार्थी संगठनको नेतृत्व तहमै पुगेका साथीहरु अहिलेपनि अपवाद बाहेक तीनै पार्टीका वाड या त पालिका सदस्यहरु मै सीमित छन्। उमेरले ४० नाघ्दै गर्दा सम्मपनि उनीहरु रुचि विद्यार्थी संगठनमा देखिन्छ। नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै छ। वडादेखी केन्द्रसम्म चुनावी सरगर्मी बढ्दै छ। तर युवा भनिने (नेपाली कांग्रेसमा ६0 वर्षभन्दा कम उमेरकालाई युवा भन्ने प्रचलन छ) प्रौढहरूको प्रमुख उद्देश्य पार्टी सभापतिमा देउवालाई जिताउने की पौडेललाई भन्ने मै सीमित छ।

निकै अग्रगामी सोच भएका युवाहरु भए सिटौला या त पुन कोइराला परिवारको सदस्यलाई जिताउने भन्ने हो। गगन थापा, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, प्रदिप पौडेल यी केही कांग्रेसमा नाम चलेका र आश गरिएका ५० वर्ष आसपासका युवाहरु (युवा मान्दा) हुन्। तर उनीहरूसँग उमेरले ७० वर्ष पार नगर्दासम्म सभापतिमा उम्मेदवारी दिने आँट नै छैन।

अहिलेका युवा राजनीतिज्ञहरुले शेरबहादुर देउवाबाट सिक्न लायक एउटै काम हो ४९ वर्षमै ९ औं महधिवेशनमा गिरिजाप्रसाद कोइरालासँग सभापतिमा भिड्ने आँट र उनलाई त्यही आँटले हो नेता बनाएको तर बिडम्बना अहिलेका निकै क्रान्तिकारी र प्रगतिशील कुरा गर्नेमाथि उल्लेखित यी पाँच दशक नाघेका युवाहरूमा शेरबहादुर देउवा जत्तिको आँट देखिन्न।

अहिलेका कुनै नेतासँग न भिजन् छ न फरक सोच न फरक कार्यशैली छ त केवल उही आधा शताब्दीदेखिको बिपीको बासी समाजबाद। विद्यार्थी नेतादेखि वयोवृद्ध नेताहरुसम्म कसैलेपनि विपीको समाजवाद बाहेकको दोस्रो कुरा गर्न जानेकै छैनन् उही एकाहोरो समाजवादको रटान मात्रै छ। अनेकौं अवगुणका बाबजुद पनि केपी ओलीसँग नारा छ त्यो हो विकास र समृद्धि र त्यो कसरी गर्ने र अब के गर्ने भन्ने भिजन पनि देखिन्छ तर कांग्रेसीहरूसँग समयसापेक्ष नयाँ सोच विचार र कार्यदिशा देखिन्न।

सबैभन्दा उदेकलाग्दो कुरा त के भने यी ” पचासे” युवाहरुसँग पार्टीको नेतृत्वकोलागि अघि सर्ने आँट नै देखिदैन तसर्थ कांग्रेस के का लागि रोज्ने भन्ने गहन प्रश्न अहिलेका युवा जमातमा देखिन्छ। कम्युनिस्टहरु एक हुन सक्दैनन् त्यो उनीहरूको लागि बिडम्बना र कांग्रेसीका लागि वरदान हो। यदि अहिलेका युवाहरु नेतृत्वका लागि अघि नसर्ने हो भने देउवा र पौडेलहरुको नेतृत्वले अन्ततः पार्टीलाई तेस्रोबाट चौथो या पाँचौं तिरै पुराउने हो।

ओलीको पतन उनकै कार्यशैलीले भएको हो र बरु ओलीभन्दा देउवा नै सही भन्ने अवस्था बन्यो। नेता र नेतृत्वको कार्यशैली समयसापेक्ष र समावेशि बनेन भने कति छिटै पतन हुन्छ भन्ने उदाहरण हो ओलि को बहिर्गमन र देउवा को उदय । अहिलेको समय र राजनीतिक अवस्था अनुसार यदि युवावर्गले नयाँ सोच र समयानुकुल कार्यशैली अपनाउँदै नेतृत्व गर्ने आँट नगर्ने हो भने कांग्रेस युवा वर्गको रोजाइमा नपर्ने निश्चित छ।

सूचनाप्रविधिको २१औं शताब्दीमा समाजवादको एकोहोरो रटानले मात्रै युवावर्गको अपेक्षालाई किमार्थ सम्बोधन गर्न सक्दैन। तसर्थ समयसापेक्ष भिजन स्पष्ट कार्यशैली सहित युवाहरु नेतृत्वको लागि आँट देखाउनुपर्ने समय आएको छ।

सेयर गर्नुहोस्
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here