ओली किन खनिँदैछन् पूर्वराजाविरुद्ध ?

काठमाडौं । कोशी प्रदेशमा पहिचान पक्षधर आन्दोलित भएकै बेलामा एमाले अध्यक्ष केपी ओली त्यहाँका चार जिल्ला पुगे ।

संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्बाङलाई लिएर, अनि कोटको देब्रे गोजीनेर किरात पहिचान बोक्ने सिलाम साक्मा लगाएर ओली झापा, इलाम, पाँचथर र तेह्रथुम पुगी काठमाडौं फर्केका छन् । आइतबार काठमाडौंका सभाहरुमा पनि उनी उही किरात पहिचान जनाउने सिलाम साक्मा लगाएरै प्रस्तुत भए ।

किरात मिथक अनुसार सिलाम साक्मा प्रतीकले मृत्युको बाटो छेक्छ । यही प्रतीक लगाएर एमालेका कार्यक्रमहरुमा ओली पुग्दा यसपालि पहिचान पक्षधरहरुले उनको बाटो छेके । पहिचानविरोधी ‘कोशी प्रदेश’ नाम प्रदेशसभाबाट पारित गराउन केन्द्रबाट निर्देशन दिएको आरोप ओलीमाथि लगाइएको छ ।

उनले विगतदेखि नै पहिचान राजनीतिबारे कडा अभिव्यक्ति दिँदै अबको राजनीतिक मार्गचित्र विकास र समृद्धिको हुनुपर्ने तर्क गर्दै आएका छन् ।

किरात लिम्बुवान राज्य पक्षधर आन्दोलनकारीहरुका प्रदर्शन तथा ठाउँ–ठाउँका अवरोध पन्छाउँदै जिल्लाहरु घुमेका ओलीले आफ्नो आक्रमणको मूल निशाना भने न त पहिचान आन्दोलनकारीलाई बनाए, न त अरु बेला जस्तो सत्तापक्षलाई नै आक्रमण तेज पारे । आफूले नभई प्रदेश सभाले कोशी नाम राखेको, नाम मन नपरे दुई तिहाई ल्याएर बदल्न आग्रहजन्य केही नरम वाक्य बोले । बरु उनले सिधा आक्रमण गरे– विगत भइसकेको राजसंस्थालाई ।

‘ममाथि ठाउँठाउँमा आक्रमण र अवरोध भयो, यसमा ज्ञानेन्द्र शाह र उनको परिवारकै सदस्यको संलग्नता छ,’ ओलीले आइतबार च्यासलमा अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा भने, ‘बाटामा गुण्डा प्रवृत्तिका मान्छेहरुले ढुंगामुढा गर्ने गरे । पूर्वदरबारियाहरुले छौंडा खेलाएर पनि यस्तो भएको छ । सत्तामा हुने पार्टीका कार्यकर्ता पनि अर्काको नाममा ढुंगा हान्न गएका छन् ।’

ओलीले स्वार्थी, अज्ञानी र मुर्खले मात्र राजसंस्थालाई मान्ने टिप्पणीसमेत गरे । शुक्रबार र शनिबार पूर्वका विभिन्न जिल्लामा ओलीले यस्तै किसिमका आक्रामक अभिव्यक्ति दिएका थिए, पूर्वराजपरिवारविरुद्ध । ओली र नेम्बाङमाथि झापा र पहाडी जिल्लामा कालो झण्डा, ढुंगा प्रहार आदि भए पनि सुरक्षा संयन्त्र मुकदर्शक बनेको भन्दै एमालेले कडा प्रतिवाद गरेको छ ।

एमाले उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराई लगायत नेताहरुले आफ्ना नेताहरुमाथिको आक्रमणलाई ठूलै षड्यन्त्रको आभास भन्दै विरोध गरेका छन् । सांसद गोकुल बाँस्कोटाले संसदमा बोल्दै ओलीमाथि ज्यान मार्ने षड्यन्त्र भइरहेको दाबी समेत गरे ।

संयोग हो या पूर्वयोजना, एमाले अध्यक्ष ओली काठमाडौं फर्किएको दिन पूर्वराजा ज्ञानेन्द्र भने लुम्बिनी, कर्णाली र सुदरपश्चिमको भ्रमणमा निस्केका छन् । यी तीन प्रदेशका विभिन्न जिल्लामा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गराइन लागेको हो । ज्ञानेन्द्रसहित पत्नी कोमल, पूर्वयुवराज्ञी हिमानी शाह, छोरीहरु प्रेरणा, शोभा, शिताष्मा आइतबार जुम्ला पुगेर अभिनन्दन ग्रहण गरे । राप्रपाका सहायक महामन्त्री ऋषिराज देवकोटाले यी नागरिक अभिनन्दनहरुको संयोजन गरिरहेका छन् ।

ज्ञानेन्द्रका लागि नेपालगञ्जको बागेश्वरी मन्दिर दर्शन तथा महाआरतीमा उपस्थिति तथा अभिनन्दन ग्रहण कार्यक्रम राखिएको छ । त्यहाँ राप्रपा सांसद धवलशमशेर राणा संयोजक रहेको समितिले २० वैशाखमा अभिनन्दन गर्दैछ ।

पछिल्ला दिनमा चाडपर्वका शुभकामनामा समेत ज्ञानेन्द्र शाहले देशमा विग्रहको संकेत आफूले पाएको दाबी गर्दै आफू र दलहरुबीच फेरि सहकार्य हुनुपर्ने आवश्यकता देख्न थालेका छन् । यसै क्रममा उनको देश दौडाहा चलिरहेको हो ।

राजनीतिक दलका नेताहरुले आफूहरुविरुद्ध चलिरहेका नागरिक असन्तोषलाई विषयान्तर गर्न कहिले राजसंस्था, कहिले भारत वा अर्को देशको विरोध गर्ने गरेको विगत छ । यसमा कम्युनिस्टहरु, अनि राप्रपालगायत कट्टरपन्थी शक्तिहरु अरुभन्दा अगाडि छन् । यद्यपि विगतमा कांग्रेस समेत यस्तो आरोप प्रत्यारोपमा सहभागी नभएको होइन ।

यति बेला एमाले अध्यक्ष ओलीमात्रै होइन, विगतमा माओवादी अध्यक्ष तथा हाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललगायतले पनि यस्ता टिप्पणी गर्ने गरेका छन् ।

यसपल्ट ओलीमाथि आक्रमण भएकै बेला पूर्वयुवराज्ञी हिमानी शाहको नाममा फेक ट्वीटर ह्यान्डलबाट समेत प्रोत्साहन पुग्ने खालको ट्वीट आएकामा ओलीले कडा टिप्पणी गरिसकेका छन् । फेक भनेर सार्वजनिक टिप्पणी भइसक्दा पनि हिमानीबाट खण्डन नआएको भन्दै एमाले नेतृत्वले अध्यक्षको टिप्पणीको बचाउ गर्न खोजेको छ ।

ओलीमाथि राप्रपा कार्यकर्ता लगायत राजावादी समूहले आक्रमण प्रयास गर्दा झापामा प्रहरी इन्स्पेक्टर अनिल माबोहाङ र सहायक हवल्दार सुवित राजवंशी सख्त घाइते भएका थिए । एमाले उपाध्यक्ष नेम्बाङले उनीहरुलाई आइतबार बीएन्डसी अस्पताल बिर्तामोडमा भेट्दै स्वास्थ्य स्थितिबारे जानकारी लिएका थिए । आक्रमणकारीमाथि मुकदर्शक बनेको भन्दै उनले सरकारको विरोध गरेका छन् ।

ओलीले विगतमा राजपरिवारले फेरि पुनर्स्थापित हुन गतिविधि गरिरहेको आरोप लगाउँदै गर्दा समानान्तर रुपमा पूर्वराजा समेत अभियान चल्न पुगेका छन् । परिवर्तनपछि जारी संविधानले पूर्वराजालाई नचिन्ने भए पनि आफ्नो पूरानै हैसियत फर्काउने उनको प्रयासबारे पार्टीहरुले राजनीतिक वाद प्रतिवाद गर्नु स्वभाविक हो । तर यसअघि प्रधानमन्त्री भइसकेका नेताको स्तरबाट प्रतिवाद हुनुको के अर्थ होला ? अनलाइनखबरले यो प्रश्न सोध्यो, विश्लेषक झलक सुवेदीलाई ।

‘पूर्वराजा कर्णालीतिर नागरिक अभिनन्दन थाप्दै हिँडेको कुरालाई नेताहरुले इस्यु बनाउनु अनौठो होइन, तर पार्टी अध्यक्षकै लेभलबाट प्रतिवाद अनावश्यक हो’, सुवेदीले भने, ‘उपचुनावमा एमालेले भोगेको क्षति आकलन गर्दै आफ्नो राजनीतिक स्पेस पुनस्र्थापित गर्ने चाहनाबाट समेत ओलीले उक्त वक्तव्य दिएका हुन सक्छन् ।’- अनलाईखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय