तुलसीपुर – दाङ जिल्लाको बबई गाउँपालिकाको सरकारी गाडी कम्युनिस्ट जनप्रतिनिधिहरूले पिकनिक खान जाँदा दुरुपयोग गरेको तथ्य सार्वजनिक भएको छ ।
जनताको खुनपसिनाबाट संकलित करबाट खरिद गरिएको सरकारी गाडी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सार्वजनिक विदाको दिनमा समेत दुरुपयोग गरेको हो ।
गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरूले पिकनिक खान जाने साधनको रुपमा दुरुपयोग गरेको प्रमाण फेला परेको छ ।
शनिबार गाउँपालिकाको वडा नम्बर ५ स्थित पुरन्धारा झरनामा वनभोज खान गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधि सरकारी गाडी लिएर गएका थिए ।
पिकनिक मदिरा पार्टीसहितको रहेको खुल्न आएको छ । वनभोज सकेर फर्किंदै गरेको गाउँपालिकाका अध्यक्ष सवार गाडीले पैदल हिँडिरहेकी बबई गाउँपालिका वडा नम्बर ५ जलुेकी निवासी देवीकला भण्डारीलाई ठक्कर दिएर घाइते समेत बनाएको छ । भण्डारीको दाहिने खुट्टामा गाडीको टायरले किचिदिएको छ ।
वनभोजपछि फर्किदै गर्दा रेडियो हापुरेका स्टेसन म्यानेजर अर्जुन परियाले चलाएको गाडीले आफूलाई ठक्कर दिएको भण्डारीले निवेदनमा उल्लेख गरेकी छन् ।
भण्डारीले प्रहरीलाई दिएको निवेदनमा पनि गाडी चालकले अत्यधिक मदिरा सेवन गरेको हुँदा उनले गाडी चलाउन नसकेपछि सञ्चारकर्मी परियारले गाडी चलाएको कुरा उल्लेख गरिएको छ ।
भण्डारी घाइते भएपछि उनीसंगै वनभोजमा गएकाहरूले गाउँपालिकाको रा१झ १५० नम्वरको सरकारी गाडी तोडफोड गरिदिएका छन् ।
शनिवार बेलुका ४ बजेतिर पैदल हिडिरहेकी भण्डारीलाई गाडीले किचेपछि नजिकै पिकनिकमा खान गएकाहरूले गाडी तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
शनिबार नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ता समेत छुट्टै पिकनिक खान गएको घटनाका एक प्रत्यक्षदर्शीले बताए ।
भण्डारी घाइते भएपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता विरोधमा उत्रिएको तथा केहीले गाडीमा ढुङ्गा समेत हानेको उनले बताए ।
नेपाली कांग्रेसका नेताहरूले भने आक्रोशित स्थानीयले मात्रै गाडी तोडफोड गरेको दाबी गरेका छन् । त्यही क्रममा मातेका चालकले जसोतसो गाडी भगाउन खोज्दा गाडी फेरि अनियन्त्रित भएर अर्कौ कल्भर्टमा ठो*क्काएको छ ।
गाडीको अगाडि भागमा केही क्षति पुगेको अर्का एक प्रत्यक्षदर्शीले बताएका छन् । त्यसपछि लगत्तै त्यहाँ दुई गाडी सुरक्षाकर्मी पुगेर गाउँपालिकाको सरकारी गाडीलाई नियन्त्रणमा लिएका थिए ।
मदिरा सेवन गरेका भनिएका चालक भने फरार भएको र खोजी भइरहेको प्रहरीले बताएको छ । ईलाका प्रहरी कार्यालय पञ्चकुलेवाट प्रहरी पुगेर गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी विनोदविक्रम शाहले जानकारी दिए ।
उनले कोही कसैलाई नियन्त्रणमा राखेकोबारे केही जानकारी दिएनन् । घटनाबारे आइतवार छलफल गरेर दोषीलाई कारवाही गर्ने डीएसपी शाहले व्यक्त गरेका छन् ।
घटनाबारे बुझ्न खोज्दा गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल भने सम्पर्कमा आउन चाहेनन् । घाइते महिला देवीकला भण्डारीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।