बैंक खाताबाटै धमाधम रकम चोरी,अपराधी पत्ता लगाउन प्रहरी पनि असफल

विराटनगर । विराटनगर महानगरपालिका–५ का प्रणयकुमार पोखरेलको विराटनगरस्थित एनआईसी एसिया बैंकको खातामा रहेको २९ हजार रुपैयाँ एकाएक गायब भयो । 

विद्युत प्राधिकरणका पूर्व कर्मचारी पोखरेलको खातामा डिसेम्बर १७ मा प्राधिकरणले अघिल्लो महिनाको पेन्सन २९ हजार ४५३ रुपैयाँ ९९ पैसा जम्मा गरिदिएको थियो । तर उनले आफ्नो बैक खातामा सञ्चित रकम चलाउन नपाउँदै अरुले नै खाताबाट सो रकम झिकेको म्यासेज उनको मोबाइलमा आएको थियो ।

डिसेम्बर १८ का दिन दिउँसो १२ः२२ मा पोखरेलको मोबाइलमा बैंकबाट २५ हजार रुपैयाँ डेबिट भएको (निकालेको) म्यासेज आयो । त्यसको केही बेरमै फेरि ४ हजार रुपैयाँ निकालेको म्यासेज आयो । ‘

म घरमै बसिरहेको थिएँ, अचानक दुई पटक रकम झिकेको म्यासेज आयो । मैले रकम झिकेको थिइनँ र कसैलाई चेक पनि दिएको थिइनँ । के भयो भनेर बैंकमा गएर बुझ्दा नविल बैंकमा रकम ट्रान्सफर भएको जानकारी पाएँ,’ पोखरेलले भने ।

उनी रकम खोजी गर्दै विराटनगरकै नविल बैंक पुगे । नविल बैंकले अरुको खाता हेर्न नपाइने बताएर उनलाई फिर्ता पठायो । पेन्सन बापतको रकम आफ्नै खाताबाट हराएपछि उनी एनआइसी एसिया बैंकमै गए । बैंकले खाताबाट रकम हराएको उनको गुनासोप्रति कुनै ध्यान दिएन, बरु प्रहरीमा उजुरी गर्न भन्यो ।

पोखरेलले भने, ‘हामी बैंकमा पैसा राखेपछि ढुक्क हुन्छौं, सुरक्षित छ भन्ने ठान्छौं तर मैले बैंकमा गएर मेरो पैसा बैंकबाटै हरायो खोजीदिनु पर्‍यो भन्दा प्रहरीमा उजुरी दिनु, यहाँबाट केही हुँदैन भन्ने जवाफ पाएँ ।’

त्यसपछि पोखरेल जिल्ला प्रहरी कार्यालय मोरङमा गए । उनले खातामा रकम जम्मा भएको र हराएको सबै विवरण उल्लेख गरी उजुरी दिए । प्रहरीले यस्ता धेरै घटना आएको र अहिलेसम्म यसरी हराएको रकम फिर्ता गर्न नसकेको जानकारी दिँदै तर पनि खोजी गरिदिने आश्वासन दिएर कारवाही प्रक्रिया अघि बढायो । 

प्रहरीले रकम ट्रान्सफर भएको नविल बैंकको उक्त खाता रोक्का गरिदिन पत्र लेखिदियो । पोखरेल सो पत्र बोकेर नविल बैंक गए । तर, नविल बैंकले एनआइसी एसिया बैंकले उपलब्ध गराएको विवरणमा उल्लेखित खाता नम्बर आफ्नो बैंकको नभई ‘फेक’ रहेको बतायो ।

पोखरेलको पैसा नविल बैंकबाट २५ हजार ई–सेवामा र चार हजार ‘खल्ती’ डिजिटल सेवामा गएको विवरण छ । खल्तीको केवाइसीमा उल्लेख भएको मोबाइल नम्बर पदम पौडेलको नाममा दर्ता भएको पाइएको छ । तर, प्रहरी भने पौडलले नै रकम लगेको भन्नेमा विश्वस्त छैन । पोखरेलको यो समस्या प्रहरीका लागि नौलो थिएन र यस्ता थुप्रै उजुरी प्रहरीसँग थियो । बैंकबाट पैसा हराएको र चोरी गर्ने व्यक्ति फेला नपरेको घटना प्रहरीका लागि तनाबको विषय थियो ।

गत मंसिर ७ गते विराटनगरका मनोजकुमार जैसवालको खाताबाट पनि यसैगरी रकम चोरिएको थियो । राष्ट्रिय वाणिज्य बैंकमा रहेको उनको खाताबाट १ लाख ५८ हजार रुपैयाँ हरायो । जैसवालको खाताबाट लक्ष्मी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक र खल्ती सेवामा उक्त रकम ट्रान्सफर भएको भेटियो तर रकम जैसवालले ट्रान्सफर गरेका थिएनन् ।

उनको उजुरीमाथि प्रहरीले एक महिनादेखि अनुसन्धान गरिरहे पनि रकम चोर्ने व्यक्तिको नजिकसम्म पुग्न सकेको छैन ।

त्यसैगरी मंसिर ९ गते विशाल राजवंशीको एनआइसी एसिया बैंकमा रहेको खाताबाट २ लाख ३० हजार रुपैयाँ हरायो । राजवंशीको खातामा भएको उक्त रकम अरु कसैले  झिकेको देखिएपछि प्रहरीमा राजवंशीले उजुरी दिएका छन् । तर, प्रहरी सो रकम झिक्ने व्यक्तिसम्म अहिलेसम्म पुग्न सकेको छैन ।

पछिल्ला समय बैंक खाताबाटै धमाधम रकम हराउन थालेपछि बैंकमा पैसा राखेर ढुक्कले बसेका सर्वसाधारणमा त्रास बढेको छ ।

विराटनगरस्थित एनआइसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकबाट समेत रकम हराइरहेको पाइएको छ । इ–सेवा, खल्ती, इमो र ह्वाट्सएपको प्रयोग गर्दै ह्याकरहरूले बैंकको पैसा आफ्नो खातामा रकमान्तर गर्ने क्रम बढेको हो ।

खातावालाले प्रहरीमा उजुरी दिए पनि प्रहरी त्यस्ता अपराधी पत्ता लगाउन असफल बन्दै आएको छ । बैक जस्तो संवेदनशील वित्तीय संस्थाबाट एकाएक सर्वसाधारणको पैसा हराइरहँदा सर्वसाधारणको निक्षेप सुरक्षाप्रति राष्ट्र बैंक र सरकारको ध्यान जान सकेको छैन ।

प्रविधिको प्रयोग गरी चोरी गर्नेले बैंक र यस्ता सेवा प्रदायक संस्थालाई माध्यम बनाउनुले ती संस्थाहरुको कमजोर सुरक्षा प्रणाली उजागार गरेको सरोकारवालाहरु बताउँछन् ।

प्रहरीमा उजुरीको चाङ

पछिल्लो दुई महिनाको अवधिमा मोरङ प्रहरीमा बैंकबाटै रकम चोरी हुने र बैंकका सेवाग्राही ठगिएको उजुरी बढेको छ । बैंकको खाताबाट रकम चोरी भएका प्रायः घटनामा खल्ती र इसेवा जस्ता सेवा प्रदायक संस्थाहरुको प्रयोग हुने गरेको पाइएको छ ।

पीडितले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाए पनि अपराधी पत्ता लाग्न सकेको छैन ।

‘पीडितको उजुरीका आधारमा अनुसन्धान गरिरहेका छौं,’ जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले भने, ‘प्रहरीको एकल प्रयासमा मात्र समस्या समाधान गर्न कठिन छ ।’ यस विषयमा नेपाल राष्ट्र बैंक पनि समवेदनशील हुनुपर्ने उनले बताए ।

प्रहरी नायव उपरीक्षक श्रेष्ठले पछिल्लो समयमा यस प्रकारको समस्यासहित सात वटा उजुरी परेको बताए । उनले बैंकमा जम्मा भएको रकम बैंकबाटै हराउँदा सम्बन्धित बैंक नै त्यसको पहिलो जिम्मेवार हुनुपर्ने भन्दै बैंकले प्रहरीतिर समस्या पन्छाउनुभन्दा समस्या समाधानका लागि संयुक्त पहल गर्नुपर्ने देखिएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय