दिवङ्गत छोराको सम्झनामा रायमाझी परिवारद्वारा विद्यालयमा अक्षयकोष स्थापना

भाद्र, १६ सोमवार

मुसिकोट गुल्मी

गुल्मीको मुसिकोट नगरपालिका वडानम्बर ८ दाल्का निवासी सुवेदार रण बहादुर रायमाझी र समस्त परिवारद्वारा दिवङ्गत निराजन रायमाझीको सम्झनामा अक्षयकोष स्थापना गरिएको छ ।

नगरपालिकाको वडानम्बर ७ मा अवस्थित महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको र विपन्न परिवारका  विद्यार्थीलाई अध्ययनमा केही हदसम्म सहयोग होस भन्ने उद्देश्यका साथ कोष स्थापना गरेको रायमाझी परिवारको भनाइ छ ।

स्वर्गीय निराजन(होमबहादुर) रायमाझीको वार्षिक पुण्य तिथीको दिन सङ्कल्प गरी आइतबार एक लाख एघार हजार एक सय एघार रुपैयाँ विद्यालयमा उपस्थित भई हस्तान्तरण गरेको विद्यालयका प्रधानाध्यापक देवीराम शर्माले जानकारी दिनुभयो ।

विद्यालयमा प्राप्त अक्षयकोष रकमको वार्षिक ब्याजबाट प्राप्त हुने रकमबाट विद्यालयमा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई छनोट गरी छात्रवृत्ति प्रदान गरिने प्रधानाध्यापक शर्माले बताउनुभयो ।

आफ्नो परिवारको सदस्यको सम्झनामा रायमाझी परिवारद्वारा गरिएको पुण्य कर्मको विद्यालयले सराहना गरेको छ ।

सुवेदार रणबहादुर रायमाझी विद्यालयको विद्यालय व्यवस्थापन समितिको पुर्व सदस्य र स्वर्गीय निराजन रायमाझी विद्यालयका पुर्व विद्यार्थी हुन ।

स्वर्गीय रायमाझीका बुवा सुवेदार रणबहादुर रायमाझी, आमा लक्ष्मी रायमाझी, दाजु सुमन रायमाझी र भाई सुदिप ( द्रोण ) रायमाझी रहेका छन । गत वर्ष निराजनको सडक दुर्घटनामा निधन भएको थियो ।

विद्यालयमा हालसम्म विभिन्न प्रकृतिका गरी २१ वटा अक्षयकोष न्युनतम ४० हजारदेखि १० लाखसम्मका रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय