गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाका सर्वप्रिय शैक्षिक व्यक्तित्व बुद्धि प्रसाद शर्माको निधन भएको छ ।
तीन दशक भन्दा धेरै शिक्षण पेशामा आवद्ध रहनुभएका वाककलाका धनी शर्मा अर्लाङ्कोट घर भई हाल परिवारसँगै वामीटक्सारमा बस्दै आउनुभएको थियो । महेन्द्र आदर्श नमुना मावि वामीका निवर्तमान प्रधानाध्यापक समेत रहनुभएका उहाँले संस्कृतमा स्नातक र नेपाली विषयमा स्नातकोत्तर गर्नुभएको थियो ।
२०४५ सालदेखि औपचारिक रुपमा शिक्षण आबद्ध हुनुभएका उहाँ भारतको हरिद्वारबाट शिक्षा लिनुभयो ।
आत्मबोध माबि खज्र्याङ मानकोटबाट योजनाबद्ध रुपले शिक्षण पेशा अंगाल्नुभएका उहाँले आँपचौरस्थित दुर्गाभवन माबि हुँदै वामीको महेन्द्र आदर्श मावि वामीटक्सारमा २०६० सालदेखि अध्यापन शुरू गर्नुभएको सोही विद्यालयका शिक्षक सरोजराज बौद्धाचार्यले जानकारी दिनुभयो ।
४ बर्ष विद्यालयको प्रधानाध्यापकको रुपमा जिम्मेवारी सम्हाल्नुभएका उहाँले विद्यालयलाई दिएको योगदानलाई सबैले साधुवाद व्यक्त गर्दछन् ।
विद्यालयमा सफलताको ‘ह्याट्रिक’
शर्मालाई विद्यालयका शिक्षकले सफताको ह्याट्रिक गर्ने प्रधानाध्यापकको रुपमा चिन्छन् । उहाँकै कार्यकाल र नेतृत्वमा आयोजित धनधान्याञ्चल महायज्ञमा अपेक्षा गरिएको भन्दा १ करोड बढी अर्थात ६ करोड रुपैया संकलन भएको थियो ।
उहाँकै कार्यकालमा विद्यालय नमुना विद्यालयको रुपमा सम्मानित भयो । त्यस्तै विद्यालयले सरकारबाट प्राविधिक धार सञ्चालनको स्वीकृति पाएर प्राविधिक धारको सुरुवात पनि भयो । यसरी उहाँले नेतृत्व गरी पाएका तीन ठूला मुख्य उपलब्धि अर्थात ‘ह्याट्रिक’लाई विरलै नेतृत्वकर्ताहरुले गर्ने शिक्षक बौद्धाचार्यले बताउनुभयो ।
उहाँकै समयमा विद्यालयले आर्थिक समृद्धि हासिल गर्याे । विशेष गरी स्थानीय स्रोत मार्फत नियुक्त गरिएका शिक्षकलाई तलव खुवाउन पर्ने समस्या उहाँले नेतृत्व गरेको कार्यकालमा समाधान भएको बौद्धाचार्यको भनाई छ ।
५७ बर्षीय शर्माको स्वास्थ्य एकदम राम्रो थियो । दुई हप्ता अघि कोरोना संक्रमण देखिनुभएका उहाँ एक हप्ता अघि चितवनको भरतपुर मेडिकल कलेज अस्पतालमा उपचार गराउनुभएको थियो । अवस्था सुधार आइरहेको भनिएपनि मंगलवार साँझ उहाँले देहत्याग गर्नुभएको चिकित्सकहरुले बताए ।
महेन्द्र आदर्श मावि मात्र नभएर उहाँले वामीको रुद्रावती बहुमुखी क्याम्पसमा पनि अध्यापन गर्नुभएको थियो । उहाँले मिजासिलो, वाककलामा निपूर्ण र सक्षम गुरूको रुपमा यस क्षेत्रका मानिसहरुले सम्मान गर्ने गरेका छन् ।
परिवारको एक्लो छोरा शर्माका बाबुआमा, श्रीमती र ३ जना छोराछोरी हुनुहन्छ । जेठी छोरी क्यानडा र छोरा र कान्छी छोरी अष्ट्रेलियामा हुनुहुन्छ । वामीका शैक्षिक अग्रजको निधन हुँदा वामी, अर्लाङ्कोटसँगै मुसिकोट नगरबासी शोकाकूल भएका छन् ।