खोलामा पानी घट्दा जलविद्युत कम्पनी घाटामा

काठमाडौं । खोलामा पानी घट्दा सञ्चालनमा रहेको जलविद्युत कम्पनीको नाफा घटेको छ । कतिपय कम्पनी त नोक्सानमा समेत जान थालेका छन् ।

आज तीन वटा जलविद्युत कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् । कम्पनीको वित्तीय अवस्था अनुसार दुई वटा कम्पनीको नाफा घटेको छ भने एउटा कम्पनी नोक्सानमा गएको छ ।पाँचथर पावर कम्पनी र बरुण हाईड्रोपावरको नाफा घटेको छ भने दिव्यश्वरी हाइड्रोपावर त नोक्सानमा नै गएको छ । यसको कारण भनेको खोलामा पानी कम हुनु र विद्युत उत्पादन नहुनु नै हो ।

विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै कम्पनीको नाफा घटनुका साथै नोक्सानमा समेत जान थालेका छन् । प्रकाशित वित्तीय अवस्था अनुसार पाँचथर पावर कम्पनीले २ करोड ९५ लाख रुपैयाँ कमाएको छ । गत चैत मसान्तसम्ममा ६ करोड ६४ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो अवधिमा कम्पनीको नाफा साढे ५५ प्रतिशतले घटेको छ ।

कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफा पनि घटेको हो । विद्युत बिक्रीबाट गत आवको तेस्रो त्रैमासमा ३० करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले चालु आवको सोही अवधिमा २६ करोड ७१ लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ । जसको असर नाफामा परेको छ । ९६ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोष ११ करोड ५ लाख रुपैयाँले ऋणात्मक देखिएको छ ।

यस्तै बरुण हाइड्रोपावरको नाफा ५४.९५ प्रतिशतले घटेर ५२ लाख ७२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको नाफा १ करोड १७ लाख १ हजार रुपैयाँ रहेको थियो । बरुणको पनि विद्युत् बिक्रीबाट हुने आम्दानी घटेको छ ।

गत आवको तेस्रो त्रैमासमा विद्युत् बिक्रीबाट ६ करोड ५५ लाख ८६ हजार रुपैयाँ आर्जन गरेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ४ करोड ५८ लाख २२ हजार रुपैयाँ रहेको छ । जसको असर नाफामा परेको छ । कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । जगेडाकोषमा ८० लाख ६६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ १ पैसा रहेको वित्तीय विवरणमा उल्लेख छ ।

यस्तै दिव्यश्वरी हाइड्रोपावर भने नोक्सानमा नै गएको छ । चालु आवको तेस्रो त्रैमासमा आईपुग्दा दिव्यश्वरी हाइड्रोपावरको १ करोड ८० लाख रुपैयाँ नोक्सानिमा रहेको छ । गत आवको सोही अवधिमा ३ करोड १६ लाख रुपैयाँ नोक्सान रहेको थियो । यो अवधिमा कम्पनीले नोक्सानीको रकम घटाउँदै आएको छ ।

यो अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी पनि ५ करोड २८ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा विद्युत् बिक्रीबाट ५ करोड ७५ लाख आम्दानी भएको थियो । चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोष १९ करोड ३० लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी पनि ६ रुपैयाँ ८५ पैसाले नोक्सानीमा रहेको छ । प्रतिसेयर नेटवर्थ भने २६ रुपैयाँ ८६ पैसा रहेको छ । – अर्थतन्त्र डटकमबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय