सार्वजनिक हुँदै सरकारी चिट्ठाको नतिजा , १० लाख जित्न आजै बिल दर्ता गर्नुहोस्

सामान्य किनमेल गर्दा प्राप्त हुने बिलबाटै १० लाख रुपैयाँसम्म नगद पुरस्कार जित्ने अवसर छ। आन्तरिक राजस्व विभागले सञ्चालन गरिरहेको ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ अन्तर्गत मंसिर महिनाको पहिलो पाक्षिकको नतिजा १६ मंसिर २०८३, बुधबार सार्वजनिक हुने भएको छ।

मंसिर १ गतेदेखि १५ गतेसम्म सामान तथा सेवा खरिद गर्दा प्राप्त भएका बिलका आधारमा विजेता छनोट गरी नतिजा सार्वजनिक गरिनेछ। यस अवधिमा दर्ता भएका बिलमध्येबाट एक जना बम्पर विजेता र १५ जना पाक्षिक विजेता गरी कुल १६ जना छनोट हुनेछन्। बम्पर विजेताले १० लाख रुपैयाँको पुरस्कार जित्ने अवसर पाउनेछन्।

यस कार्यक्रममा सहभागी हुन चाहने उपभोक्ताका लागि आज बिल दर्ता गर्ने अन्तिम दिन हो। मंसिर १ देखि १५ गतेसम्म सामान वा सेवा खरिद गर्दा प्राप्त भएको योग्य बिल अझै दर्ता गर्नुभएको छैन भने आजै दर्ता गर्नुहोस्। सामान्य किनमेल गर्दा प्राप्त भएको बिलले समेत १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्ने अवसर दिन सक्छ।

सामान वा सेवा खरिद गर्दा व्यवसायीसँग स्थायी लेखा नम्बर (PAN) सहितको आधिकारिक बिल माग्नुपर्छ। त्यसपछि आन्तरिक राजस्व विभागको आधिकारिक पुरस्कार पोर्टलमा गएर बिलको विवरण दर्ता गर्न सकिन्छ। नगद भुक्तानी गरेर प्राप्त भएको बिल अनलाइन फाराममार्फत दर्ता गर्नुपर्ने हुन्छ भने QR वा कार्डमार्फत गरिएको भुक्तानीको बिल स्वतः दर्ता हुने व्यवस्था रहेको छ। बिल दर्ता भएपछि पुरस्कार कुपन नम्बर प्राप्त गर्न सकिन्छ।

यस कार्यक्रममार्फत सामान तथा सेवा खरिद गर्ने उपभोक्तासँगै बिल जारी गर्ने व्यवसायीले समेत पुरस्कार जित्ने अवसर पाउँछन्। सरकारले उपभोक्तामा बिल लिने बानीको विकास गराउने र व्यवसायीलाई प्रत्येक कारोबारको आधिकारिक बिल जारी गर्न प्रोत्साहित गर्ने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ।

यसअघि कात्तिक महिनाको पहिलो पाक्षिकमा जनकपुरका एक उपभोक्ताले बिग मार्टबाट ४१५ रुपैयाँको सामान खरिद गर्दा प्राप्त भएको बिलमार्फत १० लाख रुपैयाँको बम्पर पुरस्कार जितेका थिए। सामान्य किनमेलको बिलबाटै ठूलो रकम जित्न सकिने भएकाले यसपटक पनि विजेता को बन्ने हुन् भन्ने चासो बढेको छ।

आफ्नो योग्य बिल आजै दर्ता गरी कुपन नम्बर सुरक्षित राख्नुहोस्। १६ मंसिरमा नतिजा सार्वजनिक भएपछि सोही कुपन नम्बरका आधारमा आफ्नो नाम विजेता सूचीमा छ वा छैन जाँच गर्न सकिनेछ।

बिल दर्ता गर्न तथा नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय