काठमाडौं । संसद पुनःस्थापना पछि बुधबार खुलेको सेयर कारोबारमा प्राविधिक समस्या देखिएको छ ।
कारोबार खुलेसँगै बढ्न शुरु भएको बजारमा कारोबार गर्न समेत नसकिएको लगानीकर्ताहरुले गुनासो गरेका छन् ।कारोबार खुलेको पहिलो मिनेटमा नै नेप्से परिसूचक बढेर १७ अंकले बढेको देखाएको थियो । त्यसपछि परिसूचक घटेको देखियो ।

११ बजेर १९ मिनेटसम्म २.३६ अंकले बढेको देखाएको नेप्से इन्डेक्स ११ बजेर २१ मिनेटमा रिफ्रेस गर्दा ८२ अंकले घटेको देखायो ।
संसद पुनःस्थापना भएसँगै सेयर बजारमा उत्साह देखिने लगानीकर्ताहरुको अनुमान थियो ।
मंगलबार तीव्र उतारचढावपछि २१ अंकले घटेको बजारलाई लगानीकर्ताहरुले राजनीतिक कारणले मनोवल घटेको प्रतिक्रिया दिएका थिए ।
तर, अनपेक्षित तरिकाले नेप्सेको वेवसाइटमै समस्या देखाएर बजार घटाउन थालिएको लगानीकर्ताहरुको आशंका छ ।
एक/दुई मिनेटकै फरकमा यस्तो घट्नु शंकास्पद भएको सेयर बजारका सक्रिय लगानीकर्ता प्रविण श्रेष्ठ बताउछन् । यहाँ चलखेल भएका हुनसक्ने उनको आशंका छ ।
अर्को तर्फ नेफा इन्फ्रास्ट्रक्चर बैंकको सेयर मूल्य एक सय प्रतिशतले घटाएको टिएमएसमा देखाएको छ । जबकी एकैदिन कुनै पनि कम्पनीको सेयर मूल्य एकैदिन १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन ।
अर्को चन्द्रागिरी हिल्सको सेयर मूल्य पनि शंकास्पद तरिकाले घटेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारले बताए ।
किन्नेहरुको ठूलो भीड देखिया पनि चन्द्रागिरीको मूल्य १५ रुपैयाँले घटेको देखिएको भन्दै शंका गर्ने ठाउँ प्रसस्तै रहेको उनले बताए ।
अन्य समस्याहरु पनि धेरै देखिएको भन्दै उनले यस विषयमा नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग आफूले तत्कालै गुनासो राख्ने बताए । सेयर कारोबारमा समस्या देखिएकाले आफूले किनबेच नै गर्न नपाएको उनको भनाइ छ ।
नेप्सेका सीईओ भन्छन्- बुझ्दैछु
नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले भने समसइाबारे अहिले आफूले जानकारी पाइनसकेको बताए । प्राविधिक समस्या आएको हुनसक्ने भन्दै उनले यस विषयमा तत्कालै एक्सन लिने बताएका छन् ।
‘के कसो भएको हो यसबारे म बुझ्दैछु, केही बेरमा थाहा होला’ अनलाइनखबरसँग सीईओ साउदले भने ।-अनलइनखबरबाट