मुसिकोट, गुल्मी,
मुसिकोट नगरपालिका-३, तोलादी निवासी ग्राफिक डिजाइनर तथा सञ्चारकर्मी सालिक खत्रीलाई उहाँकै निवासमा पुगेर ह्विलचेयर तथा दशैँ कोशेली हस्तान्तरण गरिएको छ।
गुल्मी-मुसिकोट प्रवासी सेवा समाज भारतद्वारा आयोजित तीज विशेष कार्यक्रमका क्रममा गायक कमल बराल भारत पुग्दा खत्रीले आफूलाई ह्विलचेयरको आवश्यकता रहेको बताउनुभएको थियो। सोही क्रममा मुसिकोट नगरपालिका-३, मैदान निवासी फिजियो लाइफ केयरका सञ्चालक दीपक वर्मासँग भेटघाट भई खत्रीको आवश्यकताबारे जानकारी गराइएपछि वर्माले ह्विलचेयर उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।
आफ्नो प्रतिबद्धता बमोजिम वर्माले सहयोग गर्नुभएको सो ह्विलचेयर खत्रीकै निवासमा पुगेर हस्तान्तरण गरिएको हो। साथै, सोही क्रममा वामी विश्व सम्पर्क मञ्च नौमति साँस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझीले पठाउनुभएको दशैँ कोशेली समेत खत्रीलाई हस्तान्तरण गरिएको छ। ह्विलचेयर र दशैँ कोशेली प्राप्त गरेपछि सञ्चारकर्मी खत्रीको अनुहारमा विशेष खुसी छाएको थियो।
हस्तान्तरण कार्यक्रममा गुल्मी-मुसिकोट प्रवासी सेवा समाज भारतका सहसचिव बालकृष्ण बराल, विष्णु प्रसाद आचार्य ‘चकित’, अनुप पाण्डे, दिपेन्द्र खत्री लगायत खत्रीका परिवारजनको उपस्थिति रहेको थियो।
ह्विलचेयर सहयोग गर्नुहुने फिजियो लाइफ केयरका सञ्चालक दीपक वर्मा र दशैँ कोशेली पठाउनुहुने वामी विश्व सम्पर्क मञ्च नौमति साँस्कृतिक समितिका अध्यक्ष बैकुण्ठ रायमाझीप्रति सालिक खत्री तथा उपस्थित सम्पूर्णले हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नुभएको लोकगायक कमल बरालले जानकारी दिनुभयो।


