गुल्मी – इस्मा गाउँपालिकाले सञ्चालन गरेको ‘इस्मा प्रतिभा पहिचान–२०८२’ सीमा सुनार र सुस्मिता महत बनेका छन् ।वडा तहमा पहिलो चरण र सेमिफाइनल चरण हुँदै फाइनल चरणमा गरी २ सय ५० भन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै दुई जना ‘इस्मा प्रतिभा पहिचान–२०८२’ बनेका हुन् ।
सोमबार सम्पन्न प्रतिभा पहिचानको फाइनल चरणमा ‘इस्मा गायन प्रतिभा–२०८२’ वडा नम्बर २ की सीमा सुनार र ‘इस्मा नृत्य प्रतिभा–२०८२’ वडा नम्बर ३ की सुस्मिता महत बन्न सफल भएको निर्णायक समिति संयोजक राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला समिति गुल्मीका पूर्वअध्यक्ष खुम खत्रीले जानकारी दिए । फाइनल चरणमा १५ जनाले प्रस्तुति राखेका थिए । जसमध्ये ३ जना गायनतर्फ र १२ जना नृत्यतर्फ रहेका थिए । एक समूह सहित १३ वटा प्रस्तुति कार्यक्रममा प्रस्तुत गरिएको थियो ।
गायन र नृत्यतर्फ विजेता दुई जनाले जनही २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् । गाउँपालिकाले वैशाखदेखि वडा तह हुँदै जेठमा सेमिफाइनल र असारमा फाइनल चरणको कार्यक्रम गरेको हो । जसमध्ये वडा तहमा पहिलो चरणमा २ सय ५० जना भन्दा बढी सहभागी भएका थिए । जसमध्ये ७० जना सेमिफाइनलमा प्रवेश गरेका थिए । त्यसपछि १५ जनाको १३ प्रस्तुति फाइनल चरणमा प्रवेश गरेको थियो ।
गाउँमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउनका लागि गाउँपालिकाले यो कार्यक्रम अगाडि बढाएको हो । जसमा सबै प्रकारका विधाबाट सहभागिता जनाइएको थियो । प्राथमिकता भने लोक गायन र नृत्यलाई बढी दिइएको थियो ।
कला र संस्कृतिको जगेर्ना साथै इस्मा गाउँपालिका भित्र रहेका प्रतिभालाई बाहिर ल्याउनका लागि कार्यक्रम गरिएको प्रतिभा पहिचान कार्यक्रमका अध्यक्ष इस्मा गाउँपालिका उपाध्यक्ष अधिवक्ता पार्वती कुँवरले बताइन् । ‘प्रतिभा भएका व्यक्तिलाई उचित अवसर दिनु हाम्रो दायित्व हो,’ उनले भनिन्, ‘प्रतिभा पहिचान, प्रस्फुटन र प्रोत्साहन गर्नका लागि यो कार्यक्रम ल्याएका हौँ ।’ इस्मा गाउँपालिकाले गत वर्ष पनि इस्मा प्रतिभा पहिचान कार्यक्रम सञ्चालन गरेको थियो ।