मुसिकोट नगरपालिकाको चाडपर्व लक्षित बजार अनुगमन : अधिकांश पसलमा म्याद गुज्रेका सामाग्री

गुल्मी । नेपालीहरुका महत्वपूर्ण चाडपर्वहरु नजिकिएसंगै गुल्मीको मुसिकोट नगरपालिकाले नगरपाालिका भित्र सञ्चालित विभिन्न व्यापार व्यवसायहरुको अनुगमन सुरु गरेको छ ।

चाडपर्वको समयमा उपभोक्ताहरुमाथि हुने ठगी नियन्त्रण गर्ने र सचेतना प्रदान गर्ने उद्धेश्यले मंगलबार वडा नं ५ को ईन्द्रेगौँणा र तल्लाफाँट तथा वडा नं २ को देउराली तथा वडा नं ३ को मैदान लगायतका मुख्य बजार क्षेत्रका पसल व्यवसायहरुको अनगुमन गरिएको हो ।

मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले चाडपर्व केन्द्रित गरेर खाद्यान्न पसलहरुको अनुगमन गरेको हो । दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाका प्रशासन सहायक सुमन खरेलले जानकारी दिनुभयो ।

कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्य सहित बजार अनुगमन गरिएको भन्दै खरेलले अनुगमनका क्रममा व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गर्नुभयो ।

३३ वटा पसलहरुमा गरिएको अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रेका सामाग्रीहरु फेला परेका छन् । विशेषगरी ईन्द्रेगौँणा बजारमा अत्यधिक मात्रामा म्याद गुज्रेका सामाग्रीहरु फेला परेको अनुगमन टोलीले जानकारी दिएको छ । त्यस्तै व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको, नविकरण नगरेको, होडिङ वोर्ड नराखिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था कमजोर रहेको र मूल्य सूची नराख्ने गरेको भेटिएको छ ।

अनुगमन टोलीले मापदण्ड पुरा नगरी व्यवसाय सञ्चालन गर्ने त्यस्ता व्यवसायीहरुबाट जरिवाना समेत असुल गरेको छ । अनुगमनको क्रममा मापदण्ड नपुगी सञ्चालन गर्ने विभिन्न व्यवसायीहरुबाट ७ हजार ५ सय रुपैयाँ जरिवाना असुल गरिएको नगरपालिकाका कृषि अधिकृत जनक पौड्यालले जानकारी दिनुभयो ।

जरिवाना पहिलो पटक भएकाले न्यूनतम तोकिएपनि आगामी दिनमा पुन ः गल्ती कमजोरी दोहोराउने व्यवसायीहरुलाई भने जरिवानाको दायरा समेत बढ्ने नगरपालिकाले जनाएको छ । अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई, म्याद गुज्रेका सामाग्रीहरुलाई छुट्टै भण्डारण गरी राख्न, दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल र खरिद बिल राख्न, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न, साईनबोर्ड राख्न निर्देशन समेत दिएको छ ।

चाडपर्व लक्षित अनुगमन भएकाले विशेषगरी ग्रामिण क्षेत्रका पसलहरुलाई बढी प्राथमिकता दिई अनुगमन गरिएको र अनुगमन निरन्तर रहने बताईएको छ ।

अनुगमनमा मुसिकोट नगरपालिकाका प्रशासन सहायक एवम् वडा नं ७ का वडासचिव सुमन खरेल, कृषि अधिकृत जनक पौड्याल, पशु चिकित्सक डा. अनिशा गौतम, नगरप्रमुखका स्वकीय सचिव सुरज भट्टराई, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका अध्यक्ष गोपिकृष्ण खरेल, सदस्य तोयनाथ खराल, होटल व्यवसायी मञ्च वामीका अध्यक्ष विवेक काफ्ले, पत्रकार सागर भण्डारी, भुवन काफ्ले लगायत नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय