मुसिकोट नगरपालिकाको बजार अनुगमन : दोश्रो दिन १५ व्यवसायी जरिवानामा परे

सागर भण्डारी,गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले सुरु गरेको बजार अनुगमनको दोश्रो दिन शुक्रवार १५ व्यवसायी कारबाहीमा परेका छन् । नगर उप-प्रमुख गगां श्रेष्ठको नेतृत्वमा बिहिवारबाट सुरु भएको बजार अनुगमन दोश्रो दिन मुसिकोट नगरपालिका वडा नं १ पौँदी अमराईका विभिन्न विभिन्न पसल व्यवसायहरुको अनुगमन गरिएको हो ।

मुसिकोट नगरपालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम नगरपालिकाको अनुगमन समितिले प्रथम चरणमा खाद्यान्न पसलहरुको अनुगमन गरिरहेको छ । विभिन्न ७ वटा शीर्षकमा आधारित रहेर १५ वटा पसलमा गरिएको अनुगमनका क्रममा १५ वटै व्यवसायहरुले कुनै न कुनै मापदण्ड पुरा नगरेको पाईएपछि जरिवाना असुल गरिएको हो ।

दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्य, गुणस्तर, मापदण्ड लगायतका विषयमा केन्द्रित रही बजार अनुगमन तथा निरीक्षण गरिएको नगरपालिकाका सुचना अधिकारी प्रकाश घिमिरेले बताउनुभयो ।

अनुगमनका क्रममा म्याद गुज्रेका सामाग्रीहरु बिक्री वितरण गरेको, व्यवसाय दर्ता नै नगरी सञ्चालन गरेको, नविकरण नगरेको, होडिङ वोर्ड नराखिएको, होटल तथा नास्ता पसलहरुमा सरसफाईको अवस्था कमजोर रहेको मूल्य सूची नराख्ने गरेको भेटिएको छ । अनुगमन टोलीले म्याद गुज्रेका सामाग्र्रीहरु समेत जफत गरेको छ । नगरपालिकाले विभिन्न आधारमा बजार अनुगमनको क्रममा मापदण्ड नपुगी सञ्चालन गर्ने विभिन्न व्यवसायीहरुबाट ५ हजार ६ सय रुपैयाँ जरिवाना समेत असुल गरेको छ ।

अघिल्ला बजार अनुगमनहरुमा व्यवसायीहरुको कमीकमजोरी भेटिएमा सुझाव दिने र सचेत गराउने गरिएपनि यसपटक भने नगरपालिकाले जरिवाना नै लिएको प्रशाशन शाखा प्रमुख मुना ज्ञवालीले बताउनुभयो ।

जरिवाना पहिलो पटक भएकाले न्यूनतम तोकिएपनि आगामी दिनमा पुन : गल्ती कमजोरी दोहोराउने व्यवसायीहरुलाई भने जरिवानाको दायरा समेत बढ्ने नगरउप्रमुख गंगा श्रेष्ठको भनाई छ । बजार अनुगमन सबै वडामा रहेका पसल तथा व्यवसायहरुको क्रमिक रुपमा अनुगमन गरिँदै जाने उहाँले बताउनुभयो ।

अनुगमन टोलीले कारबाहीमा परेका फर्मलाई, म्याद गुज्रेका सामाग्री विक्री वितरण नगर्न, दर्ता कागजात अद्यावधिक राख्न, बिक्री बिल र खरिद बिल राख्न, मूल्यसूची र दर्ता प्रमाणपत्र उपभोक्ताले देख्ने ठाउँमा राख्न, साईनबोर्ड राख्न निर्देशन समेत दिएको छ ।

अनुगमनमा मुसिकोट नगरपालिकाका उपप्रमुख गंगा श्रेष्ठ सहित, सुचना अधिकारी एवम् योजना शाखा प्रमुख प्रकाश घिमिरे, वडा नं ७ का वडा सचिव सुमन खरेल, गुल्मी मुसिकोट उद्योग वाणिज्य सघंका सचिव सुन्दर प्रधान, होटल व्यवसायी मञ्च वामीका अध्यक्ष विवेक काफ्ले, पत्रकार सागर भण्डारी लगायत सुरक्षाकर्मीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय