एमालेबाट राष्ट्रपतिको उम्मेदवार को  ?

काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्न अब एक साता पनि बाँकी छैन । तर, अहिलेसम्म राजनीतिक दलहरुले उम्मेदवार छान्न सकेका छैनन् ।

भावी राष्ट्रपतिमा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र सत्तारुढ गठबन्धनको ठूलो दल नेकपा एमालेको दाबी छ । सम्भवतः यी दुई दलबीच नै प्रतिस्पर्धा हुने देखिन्छ । तर, राष्ट्रपति चुनावको ‘निर्णायक’ नेकपा माओवादी केन्द्रले आफ्नो पत्ता नखोल्दा दुवै दलले उम्मेदवार तय गर्न नसकेका हुन् ।

पुस १० गते प्रचण्ड नेतृत्वको सरकार गठनपूर्व सत्ता गठबन्धनमा राष्ट्रपति एमालेले पाउने सहमति बनेको थियो । त्यसअनुसार एमालेले राष्ट्रपतिमा आफ्नो उम्मेदवार उठाउने र उसलाई माओवादीले समर्थन गर्नुपर्ने एमालेको अडान छ । तर, कांग्रेसले सरकारलाई विश्वासको मत दिएसँगै प्रचण्डको भाका फेरिएको छ ।

एमालेलाई राष्ट्रपति दिने पूर्वसहमतिबाट पछि हट्दै उनले राष्ट्रिय सहमतिका आधारमा राष्ट्रपति चयन गर्नुपर्ने बताइरहेका छन् । उनको भनाइको भित्री अभिष्ट चाहिँ एमालेलाई नदिने भन्ने नै हो । कांग्रेस आफ्ना उम्मेदवारलाई माओवादीले सघाउनेमा ढुक्क भएर बसेको छ ।

फागुन २५ गते हुने निर्वाचनका लागि १३ गते मनोनयन हुँदैछ । प्रधानमन्त्री प्रचण्डले र एमाले अध्यक्ष ओली निरन्तर संवादमा छन् । तर, प्रधानमन्त्री प्रचण्ड र ओलीबीचको छलफल सकारात्मक बन्न नसक्दा गठबन्धनमा धाँजा फाटेको छ । प्रधानमन्त्री प्रचण्ड कांग्रेससँग समानान्तर संवादमा छन् ।

एमालेले साथ छाडे पाँचै वर्ष प्रधानमन्त्री दिने आश्वासनसहित कांग्रेसले प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउने प्रयास गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय