काठमाडौं । गोरखा, डडेल्धुरा, झापापछि यो पटकको चुनावमा चासोको क्षेत्र गुल्मी क्षेत्र न. २ बन्न पुगेको छ । अधिकांशका लोकप्रिय नेता गोकर्ण बिष्टसँग अनेकौँ फण्डा गरेर चर्चामा आउनुभएकी नेतृ रामकुमारी झाँक्रीले चुनावी प्रतिस्पर्धा गर्नुहुने भएको छ ।
नेकपा एमालेले पार्टी सचिव समेत रहनुभएका पूर्व मन्त्री विष्टलाई गुल्मी क्षेत्र नं. २ को टिकट दिएको छ । यता सत्ताका लागि बनेको गठबन्धन चुनावसम्म नै जानेगरी भएको सहमति र भागबण्डामा पाएर रामकुमारी झाँक्रीले विष्टसँग प्रतिस्पर्धा गर्नेगरी निर्णय भएको छ ।

गठबन्धनको तर्फबाट गुल्मी क्षेत्र नं. २ नेकपा एकीकृत समाजवादीलाई भाग परेको छ । उक्त क्षेत्रमा रामकुमारी झाँक्रीलाई चुनाव लडाउने निर्णय नेकपा एसले गरिसकेको छ । संयोगपनि यस्तो छ की झाँक्री नेकपा एमालेलाई फुटाएर नेकपा एसमा जानुभएकी नेतृ हो ।
यसअघिको चुनावमा विष्टलाई जिताउँन उहाँले कडा मेहनत गर्नुभयो । आफू समानुपातिकबाट सांसद बनेर आउँनुभयो । तर अहिले पूर्व सहयोद्धा कमरेडसँग चुनाव लड्दै हुनुहुन्छ । यहाँ नेकपा एसलाई जित्न निक्कै कठिन छ । गठबन्धनमा रहेका ठूला दल नेपाली कांग्रेस र नेकपा माओवादीले इमान्दार बनेर मत दिए विष्टलाईपनि मुस्किल पर्न सक्छ ।
यता नेकपा (एमाले) ले लुम्बिनी प्रदेशका अधिकांश क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । मुख्य नेताहरूको क्षेत्रमा टिकट पक्का भइसकेको छ भने नवलपरासीसहित केही क्षेत्रमा छलफल भइरहेको छ ।
एमाले उपाध्यक्ष विष्णु पौडेल रुपन्देही २ बाटै उम्मेदवार बन्नेगरी टिकट पाउँनुभएको छ । महासचिव शंकर पोखरेल दाङ २ बाट उम्मेदवार बन्नुहुनेछ । यस्तै उपमहासचिव प्रदीप ज्ञवाली गुल्मी १ र सचिव गोकर्ण विष्ट गुल्मी २ बाट उम्मेदवारका रूपमा दोहोरिने पक्का छ । १० बुँदे सहमतिको पक्षधर भएकाले विष्टले टिकट नपाउन सक्ने चर्चा थियो ।