पल शाहको जेल सजाय कहिलेबाट हुन्छ गणना ?

काठमाडौं । अभिनेता पल शाहलाई बालयौन दुरुपयोगमा जिल्ला अदालत नवलपरासीले अढाई वर्षको जेल सजाय सुनायो । एक किशोरीले दिएको जाहेरीका आधारमा उनी गत १५ फागुनमा पक्राउ परेका थिए ।

शाहले पक्राउ परेयता कारागारभित्र ६ महिना बिताइसकेका छन् । पक्राउ परेकै दिनदेखि गणना हुने भएकाले उनको जेल सजाय अब २ वर्षमात्रै बाँकी छ । त्यस हिसाबले २०८१ साल भदौमा उनी जेलबाट रिहा हुनेछन् ।

यद्यपि, पलमाथि तनहुँ जिल्ला अदालतमा दायर भएको अर्को मुद्दाको फैसला भएको छैन । यदि सो अदालतले नवपरासीको भन्दा फरक फैसला सुनायो भने उनी जेल बस्ने अवधि तलमाथि हुनसक्छ । उस्तै प्रकृतिको मुद्दा र प्रमाणहरु भएकाले फरक फैसला नआउन सक्ने कानूनविद्हरु बताउँछन् ।

कतिपयलाई जेल सजायमा रात र दिन बेग्लाबेग्लै गणना हुने तथा तोकिएको अवधिको आधामात्रै जेल बस्नुपर्ने चर्चासमेत गरेका छन् । तर, यस्तो प्रकृतिको अपराधमा रात र दिनको गणना बेग्लाबेग्लै नहुने जानकार बताउँछन् । महिला हिंसासँग सम्बन्धित मुद्दामा सजाय कटौतीको व्यवस्था छैन ।

पल शाहले नवलपरासी जिल्ला अदालतले गरेको फैसलामा चित्त बुझाएका छैनन् । फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन गर्ने उनको तयारी छ । साथै तनहुँ जिल्ला अदालतले पनि यस्तै फैसला गरेमा त्यसमाथि पनि उनले पुनरावेदन गर्नेछन् । त्यस अवस्थामा उच्च अदालतले उनलाई सफाइ दिनसक्ने सम्भावना पनि बाँकी छ ।

वरिष्ठ अधिवक्ता लभ मैनाली पललाई उच्च अदालतले सफाइ दिए आश्चर्य नहुने बताउँछन् ।

उनले भने, ‘जिल्ला अदालतले बलात्कार भएको भनेर पेश गरिएका प्रमाणहरु स्वीकार गरेन । बालयौन दुरुपयोग ठहर हुने पनि पर्याप्त प्रमाण पेश भएको देखिँदैन । त्यसैले उच्चले सफाइ दिने प्रबल सम्भावना देखेको छु ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय