गुल्मीमा न्यूनतम मापदण्डबिनै एम्बुलेन्स सञ्चालन

सागर भण्डारी . गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–७ वामीका खडक बहादुर सापकोटा पहिलेदेखि दमको रोगी थिए । चैत्र १६ गते एक्कासी उनको श्वासप्रश्वासमा समस्या देखियो । स्थानीय लुम्बिनी वामी हस्पिटल प्रा.लि.मा उपचारका लागि लगियो । शरिरमा अक्सिजनको मात्रा एकदमै घटेपछि अक्सिजन दिनुपर्ने भयो ।

अक्सिजन कन्सन्ट्रेटर मेसिनको सहायताले अस्पतालमा त उनलाई अक्सिजन दिईयो । तर तत्कालै उक्त अस्पतालले पाल्पा पठायो । सापकोटालाई अक्सिजनकै सहायतमा पाल्पा लैजानुपर्ने थियो । त्यसकारण परिवारले अक्सिजन सिलिण्डर सहितको एम्बुलेन्सको खोजीमा लागे ।

तर मुसिकोट नगरपालिकामा सञ्चालित विभिन्न स्थानका एम्बुलेन्सलाई सम्पर्क गर्दा कतै पनि अक्सिजन सिलिण्डर सहितको एम्बुलेन्स पाइएन् । “वामी हेल्थ पोष्टमा पनि सम्पर्क गर्यौँ, स्वास्थ्य शाखामा पनि बुझ्यौँ । तर दुई घण्टा लगाएर खोज्दा पनि एम्बुलेन्स पाइएन्” छोरा गणेश सापकोटाले भने ।

अन्तत तम्घासबाटै एम्बुलेन्स बोलाएर उनलाई पाल्पा लगियो । आपतकालिन अवस्थामा स्थानीय मेडिकलले बाहिर पठाएको (रिफर गरेको) बिरामीलाई ठुला अस्पतालमा पु¥याउन एउटा एम्बुलेन्स र अक्सिजन सिलिण्डर समेत नपाईनु दुःखद भएको स्थानीय लोकनाथ काफ्लेले बताए । सामान्य सेवा सुविधा पनि नहुँदा रेफर गनुपर्ने बिरामीको अकालमै ज्यान जान सक्ने भएकाले सरोकारवाला गम्भीर हुनुपर्ने उनको भनाई छ ।

वडागाउँ स्वास्थ्य चौकीका एम्बुलेन्स चालक शंकर बगाले एम्बुलेन्समा हुनुपर्ने सामाग्री नहुँदा कहिलेकाही गम्भीर विरामीहरुलाई उपचारका लागि लैजादाँ बाटोमा समस्या हुने गरेको बताउँछन् । प्राथमिक उपचार तालिम पनि नलिएका उनले बिरामीहरुलाई बाटोमा समस्या हुँदा सामान्य ज्ञान हुनका लागि तालिमको व्यवस्था गरिनुपर्ने बताए ।

न्यूनतम मापदण्ड पनि छैन् – सयुंक्त एम्बुलेन्स चालक सघं गुल्मीका अनुसार जिल्लामा ४३ वटा एम्बुलेन्स सञ्चालनमा छन् । विभिन्न सघं–संस्था र सरकारी गरी १२ वटा पालिकामा सञ्चालित सबै एम्बुलेन्स ‘ग’ वर्गका एम्बुलेन्स हुन् । ती एम्बुलेन्स मध्ये २० वटा सरकारी एम्बुलेन्स छन् । एम्बुलेन्स चालक संघमा दर्ता भएका कतिपय एम्बुलेन्स भने नियमित रुपमा सञ्चालनमा छैनन् ।

राष्ट्रिय एम्बुलेन्स सञ्चालन निर्देशिका, २०७३ अनुसार ‘ग’ वर्गको एम्बुलेन्समा प्राथमिक उपचारका औषधि साथै सामानहरू, अक्सिजन सिलिन्डर, आईभी इन्जेक्सन दिन सक्ने व्यवस्था, स्ट्रेचर, बिरामी बस्न मिल्ने बेड, रक्तचाप चेक गर्ने मेसिन, टर्चलाइट, स्वास्थ्य सम्बन्धी साधारण तालिम लिएको चालक र आकस्मिक कक्षको जस्तै औषधीको पनि व्यवस्था हुनुपर्छ भनिएको छ ।

त्यस्तै ती एम्बुलेन्सहरु प्रत्येक २ वर्षमा स्तरोन्नती गर्नुपर्ने प्रावधान छ । तर जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्समा यी मापदण्ड पुरा हुनु त परको कुरा न्यूनतम सेवा सुविधा समेत छैन् । एम्बुलेन्स लामो समयसम्म स्तरोन्नती भएका छैनन् । 

संघका सचिव युवराज बस्नेतले जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्समा अक्सिजन सिलिण्डर समेत नभएको बताए । “निर्देशिकामा भए बमोजिम कुनै पनि एम्बुलेन्समा सामग्रीहरु छैनन्” उनले भने, “कतिपय एम्बुलेन्समा कुनै कुनै सामाग्री छन् भने अक्सिजन सिलिण्डर पनि ज्यादै कम एम्बुलेन्समा छन् ।”

आफुखुसी सञ्चालन गर्दा समस्या – बस्नेतले एम्बुलेन्स चालक संघमा दर्ता भएका सम्पूर्ण एम्बुलेन्सहरुलाई व्यवस्थित गराउन छलफल भईरहेको बताए । “कतिपय एम्बुलेन्सहरु आफ्नो किसिमले सञ्चालन भईरहेका छन् बस्नेतले भने, “न्यूनतम मापदण्ड पालना गराई व्यवस्थित रुपमा सञ्चालन गर्न लागिरहेका छौँ ।” यस अगाडी एम्बुलेन्सहरुलाई एकताबद्ध गरेर लैजाने कोसिस गरेपनि आफुखुसी सञ्चालन गर्दा समस्या भएको उनको भनाई छ । 

मुसिकोट नगरपालिका स्वास्थ्य सहसंयोजक पुष्कर गौतमले स्थानीय तहले भन्दा पनि नीजि क्षेत्रबाट सञ्चालित एम्बुलेन्सहरुले मापदण्ड पुरा नगर्ने गरेको बताउँछन् । नीजि क्षेत्र र विभिन्न सघं–संस्थाबाट उपभोक्ता समितिले एम्बुलेन्स सञ्चालन गर्ने र आफुखुसी सञ्चालन गर्दा यस्तो समस्या हुने उनको भनाई छ । नयाँ एम्बुलेन्स दिँदा नै कम्तिमा एम्बुलेन्स सँगै स्वास्थ्य सामाग्रीहरु पनि दिने व्यवस्था गरेमा यो स्वतः कार्यान्वयन हुने गौतमले बताए ।

अव्यवहारिक निर्देशिका – धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले सरकारी निर्देशिका पहाडी र ग्रामीण क्षेत्रका लागि व्यवहारिक नभएको बताए । सरकारले सामथ्र्य, जनशक्ति तथा बजेटको व्यवस्था नगर्ने र केबल स्थानीय तहलाई सञ्चालन गर्न मात्रै भन्ने गरेकाले ग्रामीण क्षेत्रका एम्बुलेन्सहरु सञ्चालन गर्न नै समस्या रहेको उनको भनाई छ । 

एम्बुलेन्स व्यवस्थित गर्ने कुरामा आफुहरु सकारात्मक रहेपनि पहाडी क्षेत्रका लागि छुट्टै निर्देशिका बनाउनुपर्ने पोखरेलको माग छ । उनले बिरामी नै नपाईने भएकाले एम्बुलेन्स सञ्चालन गर्ने समस्या रहेको बताए ।

अनुगमन फितलो – जिल्लामा सञ्चालित एम्बुलेन्स नियमन गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति बनेको छ । तर एम्बुलेन्स सञ्चालनको नियमनका विषयमा भने खासै अनुगमन भएको पाईँदैन् । 

प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले जिल्लामा सञ्चालित सबै एम्बुलेन्समा स्वास्थ्य सामाग्री नभएकै कारण समस्या परेको भनेर उजुरी नआएपनि आफ्नो जिम्मेवारी रहेकाले आफुले राम्रोसँग बुझ्ने र अनुगमन गरिने बताए । पौडेलले निर्देशिकामा भएबमोजिम सामाग्रीहरु एम्बुलेन्समा हुनुपर्ने बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय