काठमाडौं – अघिल्लो हप्ता नै बाँडफाँड हुने भनिएको नेष्डो समृद्ध लघुवित्तको आईपीओ मंगलबार मात्र बाँडफाँड हुने भएको छ ।
भोलि बिहान ११ बजे शेयर बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । कम्पनीको प्रि allotments को सम्पूर्ण काम सकिएको छ । पछिल्लो समय शेयर निष्काशन सकिएको तीन दिनभित्रै आईपीओ बाँडफाँट गर्ने गरेको थियो । तर यसबीचमा दुई दिन सार्वजनिक बिदा परेपछि शेयर बाँडफाँटमा ढिलाई भएको क्यापिटलले जनाएको छ ।

लघुवित्तले फागुन ११ गते देखि १५ गतेसम्म जारी पूँजी २५ करोड ५० लाख रुपैयाँको ३२.५० प्रतिशतले हुन आउने ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता शेयर निष्काशनमा ल्याएको थियो । पछिल्लो तथ्यांक अनुसार लघुवित्तको आईपीओमा २६ लाख आवेदकबाट ३ अर्ब १ करोड १३ लाख ७० हजार रुपैयाँ बराबरको ३ करोड १ लाख १३ हजार ७०० कित्ता शेयरको लागि आवेदन परेको छ ।
माग भन्दाबढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्यूनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार ७७ हजार ४५६ जनाले मात्रै शेयर पाउनेछन् ।
सर्वसाधारणलाई ८ करोड २८ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ वितरणपछि लघुवित्तको चुक्ता पूँजी २५ करोड ५० लाख रुपैयाँ पुग्नेछ ।