निफ्राको लगानीकर्ताहरुका लागी खुसिको खबर !

काठमाडौं – सबै भन्दा ठूलो आइपीओ निष्कासन गरेको नेपाली पूर्वाधार विकास बैंकले फेरि नयाँ प्रोजेक्टमा लगानी गर्ने भएको छ ।

बैंकले पाँचखालमा स्मार्ट सिटी निर्माण गर्ने भएको छ । त्यसका लागि नगरसँग सम्झौता गरेको काठमाडौँस्थित इन्फ्रास्टक्चर बैंक लिमिटेड (निफ्रा)ले अमेरिकाको जेएलएल नामक संस्थालाई बजार अध्ययन गर्न लगाउने भएको हो । सार्वजनिक–निजी साझेदारीमा परियोजनामा लगानी, निर्माण एवं सञ्चालन गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर गरिएको थियो ।

नगरप्रमुख महेश खरेल र बैंकका कार्यकारी अधिकृत रामकृष्ण खतिवडाद्वारा हस्ताक्षरित सम्झौतामा स्मार्ट सिटीका लागि व्यवस्थित गर्नुपर्ने र पूर्वाधारलगायत निजी–साझेदारी माध्यमबाट नगरलाई स्मार्ट बनाउने विषयमा सात बुँदे सम्झौता गरिएको थियो ।

करिब चार हजार ५०० रोपनी क्षेत्रफलमा निर्माण गरिने स्मार्ट सिटीका लागि पूर्वाधार निर्माणार्थ करिब २ अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

बैंकका कार्यकारी अधिकृत खतिवडाका अनुसार निफ्राले आफ्नो सञ्चालक समितिको स्वीकृतिमा जेएलएल संस्थालाई बजार अध्ययनको जिम्मा दिने भएको छ । निफ्राले जेएलएलको प्रतिवेदनपछि स्मार्ट सिटीको थप विस्तृत अध्ययनको काम अघि बढाइने जनाएको छ ।

जेएलएलले करिब दुई महिना अध्ययन गर्नेछ । निफ्राले स्मार्ट सिटीको विकासका लागि स्थानीय जनप्रतिनिधि, राजनीतिक दल, स्थानीय जनता तथा सरोकारवालासँग छलफलसमेत गरेको जनाइएको छ‘ल्याण्ड पुलिङ मोडल’मा विकसित हुने स्मार्ट सिटीका लागि नगरले प्रशासनिक र जमिन व्यवस्थापनको काममा सघाउने तथा पूर्वाधार निर्माणको खर्च निफ्रा र उसका साझेदार संस्थाले गर्ने नगरप्रमुख महेश खरेलले बताए ।

उनका अनुसार निफ्राले त्यस कार्यका लागि विदेशी तथा स्वदेशी निर्माण कम्पनीसँग साझेदारी गर्दै प्रक्रियालाई निरन्तरता दिनेछ ।

विकसित मुलुकमा स्मार्ट सिटीलाई सूचना प्रविधिसँग जोडिएको हरित सहरका रूपमा बुझिन्छ । नेपालको हकमा भने एउटा सहरमा हुनुपर्ने आधारभूत सबै प्रकारका सुविधा भएको पूर्वाधारयुक्त सहरका रुपमा लिइन्छ । उद्यमशीलताको विकास एवं प्रबद्र्धन गर्न नगरपालिकाले अन्य वित्तीय संस्थासँग सम्झौता गरिरहेको छ ।

उद्यम गर्न चाहने स्थानीयवासीका लागि नगरको सिफारिसमा सहजरुपमा सरल कर्जा उपलब्ध गराउने उद्देश्यले गत भदौमा नवील बैंकसँग पनि सम्झौतापत्रमा दुई पक्षबीच हस्ताक्षर भएको थियो ।

नगरलाई ‘कृषि सहर’का रुपमा विकसित गर्न विभिन्न गतिविधि अघि पनि बढाइएको छ । यसका लागि नगरले विभिन्न शीर्षकमा अनुदान तथा औँजार प्रदान गर्दै आएको छ । विसं २०७१ मा साविक पाँच गाविस जोडेर पाँचखाल नगरपालिका बनाइएकामा तीन वर्षअघि पनि दुई गाविस थपेर अझ वृहत बनाइएको थियो ।

तेह्र वडामा विभाजित नगरपालिकाको कूल क्षेत्रफल १०३ वर्ग किलोमिटर रहेको र त्यसभित्र हाल ३५ हजार ९९२ नागरिकको बसोबास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय