मन्त्रिपरिषद विस्तारको तयारी अन्तिम चरणमाः को को बन्ने भए मन्त्री ?

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको दुई महिना नाघिसकेको छ। तर, सरकारमा अहिलेसम्म प्रधानमन्त्रीबाहेक चारजना मन्त्री र एकजना राज्यमन्त्री मात्र छन्।

सरकारले पूर्णता नपाउँदा सार्वजनिक रुपमा समेत प्रधानमन्त्री देउवा र गठबन्धनको आलोचना चुलिएको छ।तर, चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रधानमन्त्री देउवा र गठन्धनका नेताहरुको भाका कैयौं पटक सरेको सर्‍यै छ। त्यसमा अनेक कारण अगाडि सारिएका छन्।

गठबन्धनका घटकहरुभित्र मन्त्री बन्ने आकांक्षीको ठूलो संख्या, मन्त्रालय भागवण्डालगायत कुरा छँदैछन्,

राजनीतिक दल सम्बन्धी अध्यादेशबाट खुकुलो पारिएको दल विभाजनसम्बन्धी व्यवस्था पनि यसमा जोडिएको छ। अहिले यो विषय सर्वोच्चमा विचाराधीन छ।

गठबन्धनमा सहभागी दलका नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्री देउवालाई दबाब दिइरहेका छन्। अध्यादेश संसद्‌मा टेबल भएपनि एमालेले निरन्तर संसद् अवरुद्ध गरेकाले यसको टुंगो लाग्नसकेको छैन।

अध्यादेश यथावत् रहेको अवस्थामा पार्टी फुट्ने जोखिम कायमै हुने भएकाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले पहिले अध्यादेश निष्क्रिय पार्न आग्रह गरिरहेका छन्। तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने अध्यादेश निष्क्रिय पार्न नहुने पक्षमा रहेको गठबन्धनका एक नेता बताउँछन्। यसले गर्दा मन्त्रीका आकांक्षीहरुको पर्खाइ झन् लम्बिएको छ।

केही समयअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीका सबै (४९) प्रतिनिधि सभा सदस्यहरु मन्त्रीका आकांक्षी बनेको भन्दै सार्वजनिक कार्यक्रममै कटाक्ष गरेका थिए। पछिल्लो समय गठबन्धनका सबै घटकभित्र मन्त्री बन्नेको नाम मोटामोटी टुंगो लागिसकेको नेताहरु बताउँछन्।

‘मन्त्री बन्नेको मोटामोटी टुंगो लागिसकेको छ, मन्त्रालय भागवण्डामा पनि कुनै समस्या छैन, त्यो केहीबेरमै मिल्छ। मुख्य कुरा मन्त्रिपरिषद् विस्तार कहिले गर्ने भन्ने मात्र समस्या हो’, जसपाका एक शीर्ष नेताले भने।

मन्त्रीका आकांक्षीका रुपमा चर्चामा आइरहेका कतिपयले त अग्रिम बधाई खाएको पनि लामो समय हुन लाग्यो। ‘नाम सार्वजनिक भइसक्यो, अब हामी मन्त्री नबन्दै चलखेल भएर अरु नै मन्त्री बनिदेलान् भन्ने तनाव छ’, मन्त्रीका रुपमा चर्चामा आएका एक सांसदले भने, ‘एक रातमै राजनीति उलटफेर हुन्छ, फेरि पनि चर्चा मात्र हुने हो कि भन्ने चिन्ता छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय