टिप्परको ठक्करबाट एक जनाको निधन
धनकुटाबाट झापा जाने क्रममा आईतबार साँझ ७ः४० बजेतिर मोरङको विराट चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा थापासहित २ जनाको निधन भएको हो ।
दुर्घटनामा धनकुटाको पाख्रिबासका ५० वर्षीय कृष्णबहादुर थापा र सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अन्दाजी ३५ वर्षीय दीपु शाहको मृत्यु भएको छ ।
थापा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव थिए भने शाह बेलबारीस्थित एनएमबी बैंक शाखा कार्यालयका कर्मचारी थिए ।
दुर्घटनामा परेका थापाका भाइ २७ वर्षीय भीमबहादुर थापा गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले विराटनगरको विराट नर्सिङ होममा पठाएको छ ।
दुर्घटनामा परेको को३६प ५९७९ नम्बरको मोटरसाइकलका कृष्णबहादुर आफैंले चलाएका प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय बेलबारीका अनुसार पूर्वपश्चिम राजमार्गमा पर्ने सुन्दरहरैंचा नगरपालिका–९ विराट चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको टिप्परले विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको हो ।
टिप्परको ठक्करबाट बेलबारीबाट इटहरीतर्फ आउँदै गरेको शाह सवार को२९प ९५५० नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटनामा परेको हो । थापा चढेको मोटरसाइकल समेत सँगै दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुवै जनाको उपचारका क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आईतवार राति ९ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला सचिव थापाको अन्त्येष्टि सोमबारै मुलघाटस्थित तमोर नदीमा गरिने नेपाली कांग्रेस धनकुटाले जानकारी दिएको छ ।
पार्टी सचिवको निधन भएको शोकमा नेपाली कांग्रेस धनकुटा र मातहतका सबै कार्यसमितिको पार्टी कार्यालयमा झण्डा झुकाएर ३ दिनसम्म कार्यालय बन्द रहने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले जानकारी दिए ।
मिडिया डबलीबाट