शान्तिको सन्देश : कविता

रामचन्द्र ढकाल, कविता : शान्तिको सन्देश
छन्द :अनुष्टुप्
बुद्ध मार्ग अहिंसा हो ,शान्ति सन्देश रामको
व्यवहार गरौँ आज ,जपेर हुन्न नामको !!

बुद्ध नेपालमा जन्मे , नारामा भन्न जान्दछौँ
शान्तिको लागि हामीले ,के हिंसा त्याग्न मान्दछौँ !!
हिंसा छ त्याग्न खोजौँ न ,मन वचन कर्मको
रक्षा हुनेछ मान्छेका ,ती मानवीय धर्मको !!
बुद्ध सन्देशको हुन्छ ,पालना देश देशमा
आचार नभए खोक्रो ,हो गेरू बस्त्र भेषमा !!

शाकाहारी बनौँ आज ,बुद्ध नाम लिनेहरू
आफूलाई सुधारौँ न , मिथ्या ज्ञान दिनेहरू !!

बदल्दै हिड्न खोजेमा ,उल्टो तनाव मिल्दछ
आफू बदलिए मात्र , खुशीले मन खिल्दछ !!
मुखमा राम अल्लाह ,बुद्ध जिसस नामको
व्यवहार गरे हुन्छ ,मान्छे असल कामको !!

प्राणी समान धर्तीका ,गरौँ मङ्गल कामना
पीडा दिई नमारौँ न , गर्दछन् बाँच्न सामना !!

संसार भरिमा बुद्ध ,प्रेमी राष्ट्र असीमित
काटमार नरोकेमा ,नारामा शान्ति सीमित !!
आज सानो कुरा चोर्ने ,झन् ठूलो भोलि चोर्दछ
हिंसा वृत्ति भए मान्छे , काटेर घर फोर्दछ !!…#ॐ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय