सरकारले उठायो हातः कोरोनाको दोस्रो डोजको खोप भगवान भरोसामा !

काठमाडौँ । सरकारले कोरोनाभाइरसविरुद्ध अहिले खोप लगाउने मानिसहरुलाई कोरोनाको दोस्रो डोज दिन नसक्ने बताएको छ ।

पहिलो डोज खोप लगाएका नागरिकलाई मात्र अहिले दोस्रो डोज खोप लगाउन आग्रह गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिले पहिलो डोज लगाउनेहरुलाई दोस्रो खोप दिन सक्ने अवस्था कम रहेको बताउनुभयो । कोरोनाविरुद्ध खोप अभियान चलिरहेका बेला सरकारले यसअघि पहिलो डोज लिएकालाई मात्र दोस्रो डोज लिन आग्रह गरेको हो ।

‘अहिले चलिरहेको खोप अभियान यसअघि पहिलो डोज लिएकाहरुका लागि मात्रै हो’ उहाँले भन्नुभयो, ‘अहिले कसैले पनि पहिलो डोज नलिनुहोला। स्वास्थ्यकर्मीहरुले पनि कसैलाई पहिलो डोज नदिनुहोला। सरकारले दोस्रो डोजको व्यवस्था नगर्न पनि सक्छ।’

अहिले कसैलाई पनि पहिलो डोज खोप नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मीहरुलाई निर्देशनसमेत दिएको उहाँले बताउनुभयो ।

नेपालले हालसम्म भारत सरकारले अनुदानमा दिएको १० लाख डोज, सिरमबाट खरिद गरेको १० लाख डोज, चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज र कोभ्याक्सबाट ३ लाख ४८ हजार गरी कुल ३१ लाख ४८ हजार डोज भ्याक्सिन प्राप्त गरेको छ।

हालसम्म २८ लाख ४० हजार डोज खोप लगाइएको छ। जसमा ७ लाख २८ हजारले दुबै डोज लगाएका छन्।

तर, नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन। नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सिरमले पुसअघि दिन नसक्ने जनाएको छ।

पुसभन्दा अघि सिरमले खोप दिन नसक्ने
यता भारतीय कम्पनी सिरम इन्स्टिच्युटले पनि पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप दिन नसक्ने बताएको छ ।

नेपालले सिरमबाट खरिद गरेको २० लाख मध्ये १० लाख डोज खोप अझै प्राप्त गर्न सकेको छैन। नेपालले भुक्तानीसमेत गरिसकेको कोरोनाविरुद्धको खोप सिरमले पुसअघि दिन नसक्ने जनाएको हो।

समाचार एजेन्सी रोयटर्सले सिरम इन्स्टिच्युटका अधिकारीहरुलाई उद्धत गर्दै सो समाचार दिएको छ। भारतमा कोरोना महामारीको नयाँ लहर शुरु भएपछि भारतीय सरकारले खोप निर्यातमाथि प्रतिबन्ध लगाएको छ। सिरमले कोभ्याक्स र अन्य देशहरुलाई २०२१ को अन्त्यतिरबाट मात्रै खोप निर्यात शुरु हुने अपेक्षा लिएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय