गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन WHO को आग्रह

काठमाडौं । विश्व स्वास्थ्य संगठनले गरिब मुलुकलाई भ्याक्सिन उपलब्ध गराउन धनी देशहरुसँग आग्रह गरेका छन् ।

केही धनी मुलुकहरुले साना बच्चाको लागि समेत खोप अभियान सञ्चालन गरिरहेको बेला विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले सो योजनामा पुर्नविचार गर्न र गरिब मुलुकलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन् ।पछिल्लो समयमा फ्रान्स र स्वीडेनले कोभ्याक्सलाई खोप उपलब्ध गराएको बताउँदै अन्य धनी मुलुकले पनि त्यसै गर्ने अपेक्षा डब्लुएचओले गरेको हो ।

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधनोम धेब्रेयेसुसले जेनेभामा आयोजित एक कार्यक्रममा भने,‘केही धनी मुलुकले बच्चा र वयस्कहरुका लागि सञ्चालन गर्न लागेको खोप अभियान म बुझ्छु तर उनीहरुलाई म त्यो योजना पुर्नविचार गर्न र खोप कोभ्याक्सलाई दिन आग्रह गर्दछु ।’

कोभ्याक्स मार्फत निम्न आय भएका मुलुकहरुलाई खोप वितरण गर्ने गरिन्छ । अहिले ठूला मुलुकले कोभ्याक्सलाई खोप प्रदान नगर्दा साना र गरिब मुलुकमा कोरोनाको संख्या बढेको छ तर खोप छैन । कोभ्याक्सले अहिलेसम्म ६ करोड खोप मात्रै वितरण गरेको छ । भारतले कोभ्याक्सलाई दिनुपर्ने खोप नदिएको र अन्य मुलुकले पनि आवश्यक मात्रामा उपलब्ध नगराएको कोभ्याक्स प्रभावित भएको छ ।

विश्व स्वास्थ्य संगठनमा अहिलेसम्म निम्न आय भएका मुलुकमा कुल उत्पादन भएको खोपमध्ये ०.३ प्रतिशत मात्र पुगेको जनाएको छ । केही सीमित मुलुकहरुले अधिकांश खोप होल्ड गरिरहेका छन् ।

मध्यम र निम्न आय भएका धेरै मुलुकले भ्याक्सिनमा भारतबाट अपेक्षा गरिएको थियो । तर भारतले आफ्नो सम्पूर्ण उत्पादन आन्तरिक प्रयोगमा केन्द्रित गरेपछि धेरै मुलुकमा यतिबेला खोपको चरम अभाव छ । मूल्यको हिसाबले अमेरिका, युरोप र रसियाले उत्पादन गरेको खोपभन्दा भारतीय खोप सस्तो भएका कारण पनि धेरै मुलुकले भारतबाट खोप खरिदको प्रक्रिया अगाडि बढाएका थिए ।

पहिले धनी मुलुकहरु लाभान्वित हुने र त्यसपछि अन्य मुलुकले खोप पाउने अहिलेको प्रणालीले कोरोना महामारी नियन्त्रण नआउने विश्व स्वास्थ्य संगठनको बुझाइ छ ।
युनिसेफले बेलायतलाई कम्तीमा २० प्रतिशत खोप अन्य मुलुकलाई प्रदान गर्न सिफारिस गरेको छ । एकदमै आवश्यकतामा रहेका मुलुकहरुलाई जुन महिनासम्म खोप उपलब्ध गराउन युनिसेफले आग्रह गरेको छ । अन्य मुलुकलाई खोप लगाएपछि मात्रै कोरोनालाई रोक्न सकिने युनिसेफको भनाइ छ ।

दि न्युयोर्क टाइम्सले विश्वभर खोप अभियानको नेतृत्व लिन राष्ट्रपति जो वाइडनलाई आग्रह गदै एक सम्पादकीय नै प्रकाशित गरेको छ । अहिलेसम्म विश्वमा १.३ विलियन मानिसले खोप लगाइसकेका छन । तर २० देखि ३० गरिब मुलुकमा खोप लगाउनेको संख्या भने अझै पचास लाखभन्दा कम छ । त्यसैले खोपमा कुनै पनि खालको समानता पाइँदैन ।

अमेरिकाले विभिन्न मुलुकलाई ८ करोड खोप सहयोग गर्ने
यसैबीच अमेरिकी राष्ट्रपति जो वाइडले विभिन्न मुलुकलाई ८ करोड खोप वितरण गर्ने घोषणा गरेका छन् । यसअघि ६ करोड खोप बाँड्ने घोषणा गरेको अमेरिकाले थप दुई करोड खोप वितरण गर्ने घोषणा गरेको हो ।

ह्वाइटहाउसमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै वाइडनले आगामी जुन महिनाको अन्तिम सातादेखि विभिन्न मुलुकलाई खोप वितरण थाल्ने समेत बताएका छन् । अमेरिकाले घोषणा गरेको ८ करोडमध्ये ६ करोड एष्ट्राजिनिकाको खोप हो भने बाँकी २ करोड मोर्डना, पिफाइजर र जोन्सन एण्ड जोन्सन भ्याक्सिन हुन् ।

६ करोड खोप वितरणका लागि अमेरिकाको गुणस्तर विभागले अनुमोदन गर्नुपर्छ जुन अहिले प्रक्रियामा नै रहेको छ । अमेरिकाले वितरण गर्न खालेको खोप ल्याउनको लागि नेपाल सरकारले पनि पहल गरिरहेको छ । नेपाल अमेरिकी पक्षसँग कुराकानी गरिरहेको छ ।- अनलाईनखबरबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय