देब्रे आँखा नि फर्फरायो मनै आत्तियो किन हो कुन्नि ?

श्यामलाल गौतम
(प्रधानाध्यापक- श्री उदय माध्यमिक विद्यालय,शान्तिपुर गुल्मी)

मायाको उमर्को
मौसम मृत्युको
कहर कोरोनाको
आँशु डिलैमा
भिभिर्को दिलैमा
खबर राम्रो सुन्नु छैन
हजुरलाई कस्तो छ?
सन्चै त हुनुन्छ नि?
भन्दै,

सुँक्कसुँक्क
पिलिस्स गर्छेउ
ढिर्लिक्क आँशुका ढिका
मायाको उमर्को लाग्ने।

न्यास्रो पनि कति मानेकी
पर बाटोमा
लुरुङ लुरुङ
हल्का फुलेको कपाल
अरु कोही पो रहेछ
भन्दै पिलिस्स
म आउन नपाएकोमा
आत्म ग्लानी हुन्छ
गला अवरुध्द हुन्छ
माया लागेर आउने।

फोनै लागेन
यतिका दिन भए
सपना नराम्रा देखें
देब्रे आँखा नि फर्फरायो
मनै आत्तियो
किन हो कुन्नि
भन्दै पिलिस्स
मनै भित्र चिमोटे झैं लाग्छ
माया उर्लेर आउने।

छ्या कति साह्रो गरेकी
हजुरलाई मन पर्ने तरकारी
गुलियो फर्सी पकाएकी
घाँटीबाट तल झरेन
फोन गरें बिजी रैछ
अमिलो मन भयो
फोन उठेको भए नि खानु त मैले नै थियो
भन्दै पिलिस्स
गास अड्किएको कुरा
सुन्दै मन आधा हुने
माया झन् गाढा हुने।

यस पाली त झन् उकुसमुकुस छ
चाडवाड नि यत्तिकै जालान् जस्तो छ
सास फेर्न गाह्रो भयो
रात भरि सुतिन
विहान पोजेटिभ रिपोर्ट आयो

आइसोलेसनमा छु
भन्दै पिलिस्स
ढिर्लिक्क आँशु
महामारीको समय
मनमा नेगेटिभ कुरा मात्र
भेट पनि गर्न निषेध
माया भने अझ लागेर आाउने
त्यही मायाको बलले
बाँच्ने आशा जागेर आउने।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय