काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता भएको छ ।
बूढानीलकण्ठ स्रोतका अनुसार सोमबार साँझ काँग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच करिब २० मिनेट टेलिफोन संवाद भएको थियो ।सोमबार काँग्रेस पदाधिकारी बैठकपछि देउवा–प्रचण्डबीच भेटवार्ता हुने कार्यक्रम भए पनि काँग्रेस बैठक स्थगित भएपछि अपरान्ह टेलिफोनबाटै संवाद भएको हो ।
टेलिफोन संवादमा ओलीले विश्वासको मत लिनुको कारणबारे विश्लेषण गरिएको थियो ।सवांदको क्रममा दाहालले देउवालाई ओलीले विश्वासको मत लिने निर्णय गरेपछि अबको रणनीति के हुने भन्नेबारे सोध्नुभएको थियो । देउवाले भने पार्टीमा छलफल गरेर जानकारी दिने भन्नुभएको थियो ।
यसैबीच आजै पार्टी पदाधिकारी तथा संसदीय फाँटका पदाधिकारी र शीर्षस्थ नेतासँग देउवाले छलफल गर्दैहुनुहुन्छ ।
पदाधिकारी बैठकपछि देउवाले ओली इत्तर कित्तामा देखिएका राजनीतिक दलका नेताहरुसँग संवाद गर्ने बुझिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव पनि देउवासँग निरन्तर संवादमै रहेको पाइएको छ ।
जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा दुई मत देखिँदा यादव नयाँ सरकार निर्माणका लागि अग्रसर देखिएका छन् । यादवले अविश्वासको प्रस्तावका लागि देउवा अग्रसर भए तत्कालै १९ जना सांसद हस्ताक्षर गर्न तयार रहेको जनाकारी दिएको बुझिएको छ ।
यसैगरी माओवादी अध्यक्ष दाहालले पनि रणनीति तय गर्न पार्टीको बैठक बोलाउनुभएको छ ।- ज्योतिन्यूज