अस्पतालले भर्ना लिएनन्, घर फर्केपछि लडेर मृत्यु

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–४ का लोकबहादुर परियारलाई पछिल्लो पाँच दिन यता रुघाखोकीले सताएको थियो ।स्थानीय बजारमा होटल सञ्चालन गर्दै आएका उनले पसलबाट औषधि किनेर खाँदै आएका थिए । सोमबार साँझ असहज भएपछि केही साथीको सहयोगमा एम्बुलेन्स बोलाएर उनी जनकपुरधाम पुगे ।

प्रादेशिक अस्पतालसहित केही निजी अस्पतालमा उपचारका लागि कोशिस गरे । तर भर्ना भने कसैले लिएनन् ।सोमबारै राति नै घर फर्केका उनलाई मंगलबार बिहान ५ बजेतिर सास फेर्न असहज भयो । नजिकैको आरपी मेडिकल जान लाग्दा एक्कासी लडेर मृत्यु भएको वडा सदस्य रामबाबु रविदासले बताए ।उहाँको श्रीमती र छोराछोरी ५ महिना अगाडि नै निजी कामका लागि भारतको दिल्ली गएपछि उहाँ एक्लै होटेल सञ्चालन गर्दै आउनुभएको थियो,’ वडा सदस्य रविदासले भने, ‘सोमबार स्वास्थ्यमा समस्या आएपछि एम्बुलेन्स बोलाएर जनकपुरधाम जानुभयो । तर, रकम अभावमा भर्ना हुन नपाउँदा फर्केर आएको सूचना पाएको छु ।’

परियारमा कोरोनाको जस्तै लक्षण रुघाखोकी लागेको थियो । रुघाखोकीले सास लिन नै कठिनाइ भएपछि उनी उपचारका लागि जनकपुरधाम गएका थिए ।‘उहाँलाई अक्सिजनको कमी देखिएको थियो,’ परियारलाई लिएर जनकपुरधाम गएका एम्बुलेन्सका चालक रामबाबु महतोले भने, ‘अक्सिजन हालेरै जनकपुरधामको जानकी हेल्थ केयर र रामजानकी अस्पताल लग्यौं । तर, ती दुवै अस्पतालमा रकम डिपोजिट गर्न भनेपछि परिवारले नै जम्मा गरेनन् ।’

यसपछि उनलाई प्रादेशिक अस्पताल जनकपुरधाम पनि लगिएको महतोले बताए । ‘त्यहाँ उनलाई भर्ना नै गरेनन,’ एम्बुलेन्स चालक महतोले भने, ‘भर्ना लिन नपाएपछि उहाँले घर छाडिदिन भन्नुभयो । र, मैले घर छाडिदिएँ ।’

कोरोनाको जस्तै लक्षण देखापरेका परियारको मृत्यु भएपछि उनको स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली बोलाइएको वडाध्यक्ष दीपरमण दाहालले बताए । ‘स्वाब संकलनपछि अन्य काम अगाडि बढाउँछौं,’ उनले भने ।

निजी अस्पतालले रकम जम्मा गर्न भनेपनि प्रदेश सरकारअन्तर्गत रहेको प्रादेशिक अस्पतालले समेत उनलाई भर्ना नगरेको विषयमा बुझ्ने काम भइरहेको वडा सदस्य रवीदासले बताए । यस सम्बन्धमा बुझ्न खोज्दा प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. प्रमोद यादवको फोन नम्बर उठेन ।- अनलाइनखबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय