भोलि काठमाण्डौका यी २२ ठाउँका मुख्य सडकमा सवारीसाधन चलाउन नपाउने !

काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत शनिबार बिहान उपत्यकाभित्र म्याराथन दौड हुने भएकाले अत्यावश्यकबाहेकका सवारी साधन नचलाई ट्राफिक व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको छ ।

शनिबार बिहान ७:०० देखि ११:०० बजेसम्म म्याराथन दौड हुने भएकाले उपत्यकाका मुख्य सडक क्षेत्रमा अत्यावश्यकबाहेकका सवारी नचलाउन महाशाखाले आज एक सूचना जारी गरी जनाएको छ ।

म्याराथन दौड शनिबार बिहान ७: ०० बजे दशरथ रङ्गशालाबाट शुरु भई टेकु, कालिमाटी, कलङ्की, बल्खु, सातदोबाटो, कोटेश्वर गठ्ठाघर, सल्लाघारी, सूर्यविनायक हुँदै पुनःफर्किएर सल्लाघारीबाट कोटेश्वर हुँदै नयाँबानेश्वर, माइतीघर, सिंहदरबार भद्रकाली वीरअस्पताल, जमल, लैनचौर, दरबारमार्ग, उत्तरढोका, नागपोखरी, दक्षिणढोका, घण्टाघर, भद्रकाली हुँदै दशरथ रङ्गशालामा पुगेर समापन हुनेछ ।

उक्त दौडको समयमा सडकमा अत्यावश्यकबाहेकका सवारी नचलाई वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

यस्तै महाशाखाले शनिबार बिहान ११:०० बजेदेखि अपराह्न ४:०० बजेसम्म कलङ्कीबाट कोटेश्वर हुँदै सूर्यविनायक जाने सडकखण्डमा साइकल दौड आयोजना हुने भएकाले कलङ्की कोटेश्वरमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वर सूर्यविनायक खण्डको वैकल्पिक मार्ग प्रयोग गर्न सडक प्रयोगकर्तालाई अनुरोध गरेको छ ।

महाशाखाका प्रमुख ढकालले कलङ्कीदेखि कोटेश्वरसम्मको सडकमा सर्भिस लेन प्रयोग गर्न र कोटेश्वरबाट गठ्ठाघर, सल्लाघारी हुँदै जगातीतर्फ जाने सडक प्रयोगकर्ताले जडीबुटी, पुरानोथिमि, व्यासी, कमलविनायक, च्यामासिंह हुँदै जगातीको सडक प्रयोग गर्न आग्रह गरे ।

स्वर्ण विजेता कमल कास्यमा सीमित

साग भारोत्तोलनमा अघिल्लो संस्करणसम्म एकमात्र स्वर्ण विजेता नेपालका कमलबहादुर अधिकारी जारी १३औँ संस्करणको भारोत्तोलन प्रतियोगितामा कास्यमा सीमित भएका छन् ।

पोखरामा आज भएको पुरुष ६७ केजी तौल समूहअन्तर्गत कमलले कूल २५२ केजी तौलमात्र उठाउन सके । उनले स्न्याचमा ११२ र क्लिन एन्ड जर्कतर्फ १४० तौल गरी कूल २५२ तौल भार बहन गरेका हुन् । पाकिस्तानी र श्रीलङ्काका खेलाडीको स्न्याचमै बढी लिफ्ट आएपछि कमल क्लिन एन्ड जर्कमा दबाबमा परेका थिए ।

प्रतियोगितामा पाकिस्तानका ताल्हा तालिवले स्न्याचमा १४० र क्लिन एन्ड जर्कमा १५२ गरी कूल २९२ तौल उठाउँदै स्वर्ण जिते । यस्तै श्रीलङ्काका जेएसी लाक्मलले स्न्याचमा ११९ र क्लिन एन्ड जर्कमा १४४ गरी कूल २६३ तौल उठाउँदै रजत जितेका छन् । प्रतियोगितामा पहिलो सहभागिता जनाएको भूटानका तर्फबाट वीरबहादुर लिम्बू चौथो भए ।

शुक्रबार नै पुरुष ७३ केजी तौल समूहमा नेपालले अर्को कास्य जित्न सफल भएको छ । नेपालका तर्फबाट प्रकाश केसी कास्य जित्न सफल भएका हुन् । प्रतियोगितामा भारतका अचिन्ता सेउलीले स्वर्ण र पाकिस्तानका अबु सुफयानले रजत पदक जितेका छन् । भारतीय खेलाडीले स्न्याचमा १३५ र क्लिन एन्ड जर्कमा १६५ गरी कूल ३०० केजी तौल उठाउँदै स्वर्ण जितेका हुन् ।

यस्तै पाकिस्तानी खेलाडीले स्न्याचमा १२८ र क्लिन एन्ड जर्कमा १५१ गरी कूल २७९ तौल उठाउँदै रजत र नेपालका प्रकाश केसीले स्न्याचतर्फ ११५ र क्लिन एन्ड जर्क विधामा १५० गरी कूल २६५ तौल उठाएका हुन् । यसअघि उद्घाटनको दिन नेपालले एक स्वर्ण र दुई कास्य पदक भित्र्याइसकेको छ ।

तेह्रौँ साग : महिला क्रिकेटमा नेपाल पराजित

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत पोखरामा जारी महिला क्रिकेटमा आयोजक नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

पोखरा रङ्गशालामा आज सम्पन्न लिग चरणको अन्तिम खेलमा श्रीलङ्कासँग ४१ रनले पराजित भएपछि नेपाल फाइनल प्रवेशमा असफल भएको छ । टस जितेर ब्याटिङ रोजेको श्रीलङ्काले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा ११८ रन जोडेका थियो । जीतका लागि ११९ रनको मध्यमस्तरको लक्ष्य पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै ७७ रन मात्र जोड्न सफल भयो ।

नेपालकी कप्तान रुविना क्षेत्रीले टोलीका लागि सर्वाधिक १९ रन जोडिन् भने कविता कुँवरले अविजित १३ रन जोडेकी थिइन् । सोनु खड्का र सरस्वती चौधरीले बङ्गलादेशका दुई÷दुई विकेट लिएका थिए भने अञ्जली चन्दले एक विकेट लिइन् ।

श्रीलङ्काकी अप्सरा लिचिनीले सर्वाधिक ३७ रन बनाइन् । सत्ताइस बल सामना गरेकी उनले चार चौका प्रहार गरेकी थिइन् । नेपालको महत्वपूर्ण चार विकेट लिएकी श्रीलङ्काकी सचिनी निशानसाला खेलको ‘प्लेयर अफ दी म्याच’ घोषित भइन् ।

श्रीलङ्कासँगको पराजयसँगै नेपालको महिला क्रिकेटको फाइनल खेल्ने सपना समाप्त भएको छ । नेपालले अब शनिबार माल्दिभ्ससँग कास्य पदकका लागि स्पर्धा गर्नेछ । नेपालसँग जीत हासिल गरेको श्रीलङ्काले यही मङ्सिर २३ गते बङ्गलादेशसँग स्वर्णका लागि स्पर्धा गर्नेछ ।

नेपाली टोलीकी कप्तान क्षेत्रीले फिल्डिङ र बलिङमा राम्रो गरे पनि ब्याटिङ राम्रो हुन नसक्दा पराजय बेर्होनु परेको बताउनुभयो । श्रीलङ्का टोलीकी कप्तान हर्सिताले फाइनलमा आफ्नो टोलीले स्वर्णका लागि कडा टक्कर दिने प्रतिक्रिया दिनुभयो ।

तेह्रौँ साग : गल्फमा नेपाललाई दुई स्वर्ण

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत गल्फ खेलमा नेपालले दुई स्वर्ण पदक हात पारेको छ । गोकर्ण फरेस्ट गल्फ कोर्समा आज भएको खेलमा नेपाली गल्फर सुवास तामाङले एकल विधामा र टिम इभेन्टमा नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । सत्र वर्षीय सुवासले कम उमेरमा दोहोरो स्वर्ण जित्ने इतिहास नै कायम गर्नुभएको छ ।

उहाँले बङ्गलादेशका खेलाडी मोहमद फरहादललाई पछि पार्दै स्वर्ण पदक जित्नुभएको हो । यस्तै नेपालले टिम इभेन्टतर्फ पनि स्वर्ण पदक पक्का गरेको छ । टिम इभेन्टमा नेपालबाट सुवाससँगै शुक्रबहादुर राई, टङ्कबहादुर कार्की र निरज तामाङ हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय