काठमाडौं । कोभिड–१९ को दोस्रो लहरको प्रभाव बढेसंगै पुनः लकडाउन तथा निषेधाज्ञाको मनोविज्ञान सर्वत्र छाएको छ ।
महामारीको अनुभव नभएका कारण यसअघि ठूलो क्षति व्यहोरोका उद्योगी/व्यवसायी दोस्रो लहरको प्रभावलाई लिएर थप चिन्तित छन् । कर्मचारीलाई सुरक्षित राख्दै उद्योग र व्यवसाय सञ्चालन कसरी गर्ने भन्नेबारे उनीहरूमा चिन्ता बढिरहेका बेला उत्पादन, आपूर्ति र वितरण प्रणालीमा महामारीको असर कम गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयारी थालेको छ ।

विभागले खाद्य उत्पादन तथा वितरणमा सहभागी हुने व्यवसायी र कर्मचारीको सुरक्षा उपायबारे छलफल शुरु गरेको जनाएको छ । गत वर्ष विभागले जारी गरेको मापदण्ड पूर्ण कार्यान्वयन गर्ने र आवश्यक परे उक्त मापदण्ड संशोधन गर्ने विभागका महानिर्देशक उपेन्द्र रायले अनलाइनखबरलाई बताए ।
‘आपतकालीन अवस्थाअनुसार केही फेरबदल गर्नु अलग कुरा भएपनि हाललाई पुरानै प्रोटोकललाई पूर्ण कार्यान्वयन गर्नेगरी छलफल अघि बढाएका छौं । केही दिनमा प्रोटोकल पालनाका लागि सरकारको आदेश हुनेछ’, महानिर्देशक रायले भने ।
स्वस्थ्याको न्युनतम् मापदण्ड पालना गर्दै उत्पादन, आपूर्ति र वितरण प्रणालीमा कसैगरी पनि प्रभाव पर्न नदिने सरकारको तयारी छ । त्यसका लागि खाद्य उत्पादन, भण्डारण, ढुवानी तथा वितरणमा सहभागी हुनेलाई सावधान रहन आग्रह गरिएको महानिर्देशक रायले बताए ।
विभागको प्रोटोकलअनुसार उत्पादनमा आधारित उद्योग, सम्पूर्ण वितरण प्रणाली र रेष्टुरेन्ट व्यवसाय पनि कोभिड महामारीमा सुरक्षाको उपाय अबलम्बन गरेर सञ्चालन गर्न सकिन्छ ।
विभागले उद्योग तथा व्यवसाय सञ्चालनका लागि कामदार र कर्मचारीहरूको स्वास्थ्य सुनिश्चिततालाई पहिलो प्राथमिकतामा राखेको छ ।
उनीहरूको सुरक्षाबिना उद्योग व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले महाहारीकै बीचमा पनि सेवा प्रवाह दुरुस्त बनाउन नौ बुँदामा कर्मचारीको स्वास्थ्य प्रोटोकल विभागले बनाएको छ ।- अनलाईनखबर