काठमाडौं । हिजो रातीको समयमा ललितपुरको सातदोबाटोबाट कलङ्की जाँदै गरेको स्कुटर एकान्तकुमा दुर्घटनामा परेको छ । स्कुटर अनियन्त्रित भई बिग्रिएर रोकिराखेको ट्रकसँग ठोक्किन पुग्दा २ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा एकजना पुरुष र एकजना महिला रहेका छन् ।
जानकारी अनुसार तीब्र गतिमा रहेको ब८७प२२८५ नम्बरको स्कुटर एकान्तकुनास्थित सडकको किनारामा रोकिराखेको ना८ख२८२६ नम्बरको ट्रकसँग ठक्कर खाएको थियो । महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख गौतम मिश्रका अनुसार स्कुटर चालक २४ वर्षीय पावल साउद हुन भने महिलाको परिचय खुल्न सकेको छैन ।

स्कुटरमा सवार उनीहरुको उपचारको क्रममा बीण्डबी अस्पतालमा मृत्यु भएको हो । प्रहरीले प्यूठान गौमुखी गाउँपालिका–२ घर भएका ४५ वर्षीय ट्रक चालक नरेन्द्र बुढालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताएको छ ।