उच्च रक्तचाप नियन्त्रण गर्न औषधि खाने कि जीवनशैली परिबर्तन गर्ने  ?

तपाईंको रक्तचाप अस्वभाविक रुपमा बढेको छ भने त्यसका नियन्त्रण जरुरी छ ।

यस्तो अवस्थामा तपाईंसँग दुईवटा विकल्प रहन्छ, एक जीवनशैली र खानपान परिवर्तन । दुई, औषधि सेवन ।पहिलो विकल्प सहज र प्राकृतिक हो । यद्यपि उच्च रक्तचापको जोखिम बढेको अवस्थामा औषधि सेवन गर्नैपर्ने वाध्यता रहन्छ ।

कतिपयले के ठान्छन् भने, औषधि सेवन गरेपछि त्यो जीवनभर छुटाउन मिल्दैन । यद्यपी चिकित्सकहरुका अनुसार औषधि सेवनपछि जीवनशैली र

खानपानमा सर्तकता अपनाएर रक्तचाप सन्तुलित राख्न सकिएमा औषधि छाड्न सकिन्छ ।

यसका लागि चिकित्सकले केही समयको निगरानी गर्छन् । चिकित्सककै सल्लाह अनुसार औषधि छाड्न सकिन्छ । आफुखुसी भने औषधि सेवन गर्नु वा छाड्नु हुँदैन ।

पहिलो विकल्प, जीवनशैली परिवर्तन हो । उच्च रक्तचाप खराब जीवनशैली, जथाभावी खानपान र दुषित सोंच विचारबाटै पैदा हुने समस्या हो ।

यदि यी सबै किसिमका असावधानी र विकारलाई हटाउने हो भने रक्तचापको स्तर सन्तुलित राख्न सकिन्छ ।

औषधि सेवन गर्नैपर्ने भएपनि जीवनशैलीमा विशेष ध्यान दिनुपर्छ । अतः हामीले प्राकृतिक विधीबाट पनि उच्च रक्तचाप कम गर्न सक्छौं ।

साथै उच्च रक्तचापको जोखिमबाट आफुलाई मुक्त राख्न सक्छौं । यसका लागि केही यस्ता न्युनतम सर्त छ, जसलाई पालना गर्नैपर्छ ।

हाम्रो खानामा नुनको मात्रा बढी हुन्छ । तरकारी, अचार, दाल आदिको माध्यामबाट हामी नुन सेवन गरिरहेका हुन्छौं । यसको मात्रा घटाउनुपर्छ ।

नुनको मात्रा घटाउने एउटा गजब काइदा भनेको खानामा सलाद एवं उसिनेको सागसब्जी समावेश गर्नु हो । साथै अन्य नुनिलो अमिलो खानेकुरा, जंकफुड सेवन गर्नुभन्दा फलफूल सेवन गर्नु उपयुक्त हुन्छ ।

अहिले हामीसँग खानेकुराका अनेक विकल्प छन्, त्यसमा प्रशोधित खानेकुरा अत्याधिक छ । प्याकेटबन्द वा तयारी खानेकुरा पनि उच्च रक्तचाप बढाउने कारण हुन् ।

उच्च रक्तचाप नियन्त्रण गर्नका लागि खानपानमा सतर्कता अपनाउनै पर्छ । यस्तो अवस्थामा सन्तुलित खानेकुरा आवश्यक हुन्छ । साथै सुपाच्य पनि । दिनभर खाइने खानामा ति सबै पोषक तत्व सामेल भएको होस्, जो शरीरलाई आवश्यक छ ।

फलफूल र सागसब्जीलाई आफ्नो खानामा सामेल गर्नुपर्छ । मासु, दुधजन्य परिकार आदिको मात्रा कम गरौ । सलाद, हरियो सागपान, फलफूल, ड्राइ फ्रुट्स, ताजा सुप आदिलाई दिनभरको खानपानमा समावेश गरौं ।

चिनीजन्य, धेरै तेल भएको खानेकुरा सेवन नगरौं । रातो मासुको बदलामा कुखुरा वा माछा सेवन ठिक हुन्छ ।

खानामा फाइबरको मात्रा बढाउनुपर्छ । फाइबरले उच्च रक्तचाप नियन्त्रण गर्ने होइन । तर, यसले तपाईंको पाचन यन्त्रलाई चुस्त बनाउँछ । तपाईंलाई स्वास्थ्य राख्न मद्दत गर्छ । सागसब्जी खासगरी हरियो पत्तेदार सब्जीमा फाइबर हुन्छ । फलफूल, नट्स आदिमा पनि भरपुर फाइबर पाइन्छ ।

धेरैजसोको खानामा ओमेगा थ्रि फ्याटी एसिड (फिश आयल)को मात्रा कम हुन्छ । यसको आपूर्तिका लागि माछा सेवन गर्नुपर्छ । यद्यपी माछा तारेर होइन, उसिनेर सेवन गर्नु प्रभावकारी हुन्छ ।

त्यसो त ओमेगा थ्रि फ्याटी एसिडका लागि फिस आयल ट्याब्लेट पनि पाइन्छ । यद्यपी यस किसिमको ट्याब्लेट सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनुपर्छ ।

उच्च रक्तचाप नियन्त्रणका लागि खानामा पोटाशियमको मात्रा पनि बढाउनुपर्छ । धेरै मात्रामा पोटाशियम चाहि हानिकारक हुनसक्छ । त्यसैले सन्तुलित मात्रामा पोटाशियम लिनुपर्छ । गालभेडा, केरा, सिमी, प्याज, सुन्तला आदिमा पोटाशियम पाइन्छ ।

कतिपय घरेलु औषधी जो हाम्रो भान्सामा पाइन्छ, त्यसले पनि उच्च रक्तचाप नियन्त्रणमा सहयोग गर्छ । यदि त्यस्ता औषधीको सेवन गर्ने हो भने चिकित्सकको परामर्शमा कसरी र कति मात्रामा खाने भन्ने कुराको टुंगो गर्नुपर्छ । जस्तो लसुन, बेसार, अदुवा आदिमा म्याग्नेसियम र क्रोमियम हुन्छ । यदि यी तत्वको आवश्यक भए चिकित्सकको परामर्शमा सेवन गर्न सकिन्छ ।

तनाव कम गर्नु गाह्रो लाग्नसक्छ । किनभने तनाव लिन नचाहेर पनि हामीलाई तनाव भइरहेकै हुन्छ । तनाव नियन्त्रण गर्नु भनेको तनाव व्यवस्थापन गर्नु हो । तनाव हरेकलाई हुन्छ तर त्यसलाई कसरी लिने ? यो मूख्य कुरा हो ।

हामी दैनिक व्यवहारमा अनेक कारणले तनावमा पर्छौं, तर तनाव लिनु कुनै समस्याको समधान होइन । तनाव लिएर कुनै समस्या हल हुँदैन । त्यसो भए किन तनाव लिने ?

कुनैपनि कुरालाई अलि सहज र सरल ढंगले ग्रहण गर्दा पनि तनाव कम हुन्छ । काम गरेको बेला रमाइलो गरौं ।

शरीरलाई आनन्द हुने कतिपय प्राकृतिक विधी छन्, त्यसलाई अपनाएर पनि तनाव कम गर्न सकिन्छ ।

प्राणायम, ध्यान यस्तो विधी हो, जसले तनाव व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्छ । यस किसिमको अभ्यासले मनलाई शान्त तुल्याउँछ । प्रफुल्ल बनाउँछ ।

लामो सास लिने र छाड्ने प्रक्रिया पनि तनाव व्यवस्थापनको राम्रो उपाय हो । त्यस्तै नियमित रुपमा व्यायाम गर्ने गरौं । जथाभावी व्यायाम गर्नु चाहि ठिक हुन्न । बरु विहान एक घण्टा छिटो–छिटो पैदल हिँड्ने बानी गरौं ।

चुरोटको सेवनले उच्च रक्तचाप ह्वात्तै बढाउँछ । यसमा रहेको निकोटिनले उत्तेजक बनाउँछ ।

कफी, सोडा जस्ता पेय पनि उच्च रक्तचाप बढाउने कारण हुन् । किनभने यसमा क्याफिनको मात्रा बढी हुन्छ । क्याफिनले स्नायु प्रणालीलाई उत्तेजित बनाउँछ ।

चुरोट जस्तै मदिराजन्य पेयले पनि उच्च रक्तचाप बढाउँछ । उच्च रक्तचाप नियन्त्रणका लागि मदिरा छाड्नैपर्छ ।

शरीरको उचाई अनुसार तौल निर्धाण हुन्छ । यदि त्यस अनुरुप तौल बढी छ भने नियन्त्रण गर्नैपर्छ । अतिरिक्त तौलले पनि उच्च रक्तचाप बढाउन सघाउँछ ।

खानपानमा परिवर्तन गरेर वा शारीरिक श्रम गरेर तौल नियन्त्रण गर्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय