आधुनिक प्रविधिको प्रयोग गरि मुसिकोटमा पहिलो पटक मकै रोपियो

सागर भण्डारी,गुल्मी/नबखबर मुसिकोट नगरपालिकामा पहिलो पटक आधुनिक यान्त्रीकरणको उपयोग गरेर मकैको बीउ रोपिएको छ।

नगरपालिकाको वडा नं ७ स्थित सुदीको फाँटमा कर्न सीड्रील मेसिनको प्रयोग गरी मकैको विउ रोपिएको हो । लक्ष्मी नारायण कृषि सहकारीद्धारा गठित सुदी हातेमालो कृषि समुह मार्फत मकैमा चक्लाबन्दी गर्नका लागि उक्त मेसिनको परिक्षण समेत गरिएको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई गुल्मी, मुसिकोट नगरपालिका र लक्ष्मी नारायण कृषि सहकारीको सयुंक्त

साझेदारीमा ल्याईएको उक्त कर्न सिड्रील मेसिन मार्फत मकै छरेर सफल परिक्षण गरिएको छ ।

सुदी फाटमा २ सय २० रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरी गरा सुधार गरेर उत्पादकत्व बढाउन अहिले विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ ।

यसै सन्दर्भमा सोमबार मकैमा चक्लाबदी कार्यक्रमको प्रदर्शन गरिएको हो ।

उक्त कार्यक्रममा बोल्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई गुल्मीका कार्यलय प्रमुख नारायण काफ्लेले गुल्मीका १० स्थानमा यो कार्यक्रम सञ्चालन भएको जानकारी गराउँदै यस्ता मेसिनको प्रयोगले लागत कम लाग्ने,

उत्पादकत्व बृद्धि हुने तथा परम्परागत खेतीको अन्त्य गरी व्यवसायिक खेती गर्नेहरुका लागि फलदा यी रहने बताउनुभएको थियो ।

त्यस्तै उहाँले चक्लाबन्दीबाट उत्पादकत्व बढ्ने समेत बताउनुभयो । मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मुसिकोट नगरपालिकामा सुदी फाँट जस्तै रहेका अन्य १४ वटा फाँटमा पनि चक्लाबन्दी गरी उच्चतम प्रविधिको यान्त्रीकरण गर्न सके उत्पादकत्व बढाउन सकिने बताउनुभयो ।

उहाँले अन्य कृषि औजारहरु नगरपालिकाले वितरण गर्न थालेसगैं बाँझो जमिनको समेत उपयोग गर्न थालिएको दाबी गर्नुभयो ।

बिउ र प्रविधि सुधार गर्न सकेमात्रै कृषिमा उल्लेख्य प्रगती गर्न सकिने उहाँको भनाई थियो । लक्ष्मी नारायण कृषि सहकारी संस्थाकी अध्यक्ष यमुना घिमिरेले सुदीमा २ सय २० रोपनी क्षेत्रफलमा गरा सुधार गरेर चक्लाबन्दी गरिने बताउनुभयो ।

उहाँले मकैमा चक्ला बन्दी गर्नका लागि भित्रिएको उक्त यान्त्रीकरणले कृषकहरुलाई ठुलो सहयोग गर्ने बताउनुभयो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका कृषि प्राविधिकहरु टोप बहादुर ओली, विशाल शर्मा, सुदी हातेमालो कृषि समुहका अध्यक्ष अग्नीधर अर्याल, स्थानीय कृषक समुहमा आबद्ध सदस्य लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय