घर भाडामा खोज्दैछु, त्यसैले नयाँ मन्त्रीलाई स्वागत गर्न जान सकिनँ : लालबाबु
५ मंसिर, काठमाडौं ।प्रधानमन्त्री केपी ओलीले बुधवार पण्डितको साटो सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा हृदयेश त्रिपाठीलाई नियुक्त गरेका थिए। मन्त्रिपरिषद पुनर्गठनसँगै बहिर्गमनमा परेका धेरै मन्त्रीहरु नवनियुक्त मन्त्रीहरुलाई स्वागत गर्न आफैं मन्त्रालयमै पुगे ।
असल राजनीतिक संस्कार देखाउँदै उनीहरुले एकअर्कालाई अंकमाल गरे र सफल कार्यकालको शुभकामना दिए । निवर्तमान मन्त्रीहरु गोकर्ण विष्ट, चक्रपाणि खनाल, रघुवीर महासेठ र थममाया थापाले आआफूले सम्हालेका मन्त्रालयका नवनियुक्त मन्त्रीहरुलाई स्वागत गरे । आगामी कार्यकालको शुभकामना दिए ।
नयाँ मन्त्रीको स्वागतमा देखिनु भएन नि भन्ने अनलाइखबरको प्रश्नमा निवर्तमान सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले डेरा खोज्न व्यस्त भएकाले शुभकामना दिन जान नपाएको बताए । उनले भने, ‘अरुको त आफ्नै घर होला, मैले त डेरा खोज्नुपर्यो । क्वार्टरको सामान पनि प्याक गर्दैछु । त्यही भएर जान सकिनँ ।’
मन्त्री पद गुम्दा असन्तुष्ट हुनु भएको हो कि भन्ने प्रश्नमा उनले भने, ‘असन्तुष्ट हुनुको के अर्थ छ र ?’
उनले नवनियुक्त सामान्य प्रशासनमन्त्री हृदयश त्रिपाठीलाई राम्रोसँग काम गर्न र सफल हुन शुभकामना दिए ।